शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वदेशी तरकारी तथा फलफूलको बजार प्रबन्ध गर्न समितले दियो ३ मन्त्रालयलाई निर्देशन

बिहीबार, २२ जेठ २०७७, १८ : ०२
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । कोभिड–१९ का कारण लामो लकडाउनका बीच कृषकले उत्पादन गरेको फलफूल तथा तरकारीको संकलन, बजारीकरण र आपूर्तिमा समस्या देखिएको भन्दै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि, उद्योग र गृहमन्त्रालयको ध्यानाकर्षण गरेको छ । बिहिबार समितिले लकडाउनको अवधिमा स्वदेशी कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारीहरुले बजार नपाएको तर बाहिरबाट टनका टन आयात भइरहेको भन्दै के कारणले यस्तो भएको हो सोबारे समितिले जिम्मेवार तीनवटै मन्त्रालयको जवाफ मागेको हो । 

बैठकमा बोल्दै कृषि तथा पशुपंछी विकास मन्त्री घनश्याम भूसालले लकडाउनको अबधिमा बाहिरबाट फलफूल तथा तरकारी आयात भइरहेको स्वीकार्दै स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकता दिने आफ्नो प्रयास जारी रहेको बताए । लकडाउनको अबधिमा मात्र कुल ३० हजार मेट्रिकटन तरकारी आपूर्ति भएकोमा ६ हजारको हारहारीमा मात्र विदेशी तरकारी आयात भएको देखिएको र यसलाई समेत पछिल्ला दिनहरुमा घटाउँदै जाने पक्षमा आफु रहेको जानकारी दिए ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बैठकमा जवाफ दिँदै कोरोना पछिको लकडाउनको अबधिमा अन्य माल वस्तुको आयात घटेपनि दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न दाल चामसहित फलफूल तथा तरकारीको आयात बढेको बताए । लकडाउनको दशौं हप्तासम्ममा औसतमा खाद्यान्न ६.९ प्रतिशत, दलहन १४.७ प्रतिशत, तरकारी ४ प्रतिशतल र फलफूल ३८.१ प्रतिशले आयात बढेको मन्त्री भट्टले जानकारी दिए । 
सो अबधिमा २ लाख ४२ हजार ८ सय २० (२,४२,८२०) मेट्रिक टन खाद्यान्न, ६८ हजार एक सय ९३(६८,१९३) मेट्रिक टन दलहन, ८६ हजार २ सय ९४(८६,२९४)मेट्रिक टन तरकारी र ३४ हजार ६ सय ९५(३४,६९५) मेट्रिक टन फलफूल आयात भएको छ । 

उद्योग मन्त्रालयकाअनुसार गत बुधबार मात्र ६ हजार ४ सय २७ मेट्रिक टन खाद्यान्न, ७ सय २१ म्ेट्रिक टन दलहन, एक हजार ४१ मेट्रिक टन तरकारी र ४ सय ५२ मेट्रिक टन फलफूल आयात भएको छ । सोहि दिन मात्रै १४ मेट्रिक टन दुग्धजन्य पदार्थ समेत आयात भएको मन्त्री भट्टको भनाई छ ।  यता, लकडाउनको समयमा आपूर्ति व्यवस्था तथा ढुवानी व्यवस्थाको सम्बन्धमा गृह मन्त्रालयले खाद्यान्न, फलफूल, तरकारी लगायतका अत्यावश्यक ढुवानीका साधनहरुमा रोक नलगाएको तर केहि स्थानीय तहहरुले आफु खुशी रोक लगाउँदा समस्या आएको हुन सक्ने बताएको छ । 

बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा (बादल) ले आफुले कुनै पनि त्यस्ता दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, फलफूल लगायतका अत्यावश्यक वस्तुका ढुवानी साधनमा रोक लगाउन निर्देशन नदिएको तर केहि स्थानीय तहहरु एक पालिका देखि अर्को पालिकामा आवत जावतमा रोक लगाएका कारण समस्या आएको हुनसक्ने बताए । तर त्यस्तो कार्य गरेको थाहाँ पाए आफुले सहजीकरणका लागि सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिने गरेको बताए ।

यसै क्रममा पछिल्लो समय तरकारी तथा फलफूलबाट समेत कोरोना सर्छ भन्ने खल्ला चलाएर केहि स्थानीय तहहरुमा वा प्रशासनकै रोहवरमा तरकारी तथा फलफूल खाल्टोमा पुर्ने तथा नष्ट गर्ने कार्य भएको भन्ने समाचार आएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र प्रमाणित भए त्यस्तो कार्य गर्ने जो कोहिलाई पनि कानुन बमोजिम कडा कारबाही गरिने मन्त्री बादलले बताए । यसै अवसरमा कृषि उत्पादन, बजार र आपुर्तिको समस्यालाई लिएर बैठक बोलाएको समितिले वातावरण सहजीकरणका लागि तीनै मन्त्रालयलाई निर्देशन समेत दिएको छ । तीनवटै मन्त्रालयलाई छुट्टाछुट्टै निर्देशन दिएको समितिले कृषि तथा पशुपंछी मन्त्रालयलाई तीनवटा र उद्योग र गृह मन्त्रालयलाई एक–एक वटा निर्देशन दिएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन
कोभिड–१९ को विश्वव्यापी महामारी पछाडि नेपाल सरकारले कृषिको आधुनीकीकरण र व्यावसायीकरणको योजनासहित गरिबीको कारणले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारालाई सशक्त ढंगबाट कार्यान्वयनमा लैजान पर्ने आवश्यक्ता देखिन्छ । नेपालको सबै खाली जमिनलाई खेर जान नदिने र कृषि योग्य भूमिको पूर्ण उपयोग गरी सघन खेती प्रणालीका माध्यमबाट धान, गहुँ, मकै, तरकारी, आलुलगायतका कृषि उपजको उत्पादन बृद्वि गर्नु आवश्यक देखिन्छ । साथै खाद्य सुरक्षाको स्थितिमा सुधार गरी स्वदेशी वस्तुको उपभोग गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्दै आन्तरिक उत्पादनलाई बढावा दिई स्वदेशी उत्पादनले पुग्ने तरकारी एवम् खाद्य सामग्री आयात गर्न रोक्नुपर्ने देखिन्छ । जसका लागि राष्ट्रिय आवश्यक्ता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिबृद्वि गर्दै ठूलो परिमाणमा एक स्थानमा एउटा बालीको खेती गरी कृषि वस्तुको उत्पादन बृद्वि गरी कृषिलाई आयमूलक,आधुनिक र मर्यादित पेशा तथा उत्पादनशील व्यवसायको रुपमा विकास गर्ने ।

कोभिड १९ का कारण समस्यामा परेका किसानलाई आवश्यक रातह तथा क्षतिपूर्तीको व्यवस्था गरी वास्तविक कृषकलाई उत्पादनका आधारमा सरल ढंगले अनुदान उपलब्ध गराई कृषकहरुलाई बीऊ तथा मल र नवीनतम प्रविधि समयमै उपब्ध गराई कृषकको लागतको आधारमा उत्पादनको उचित मूल्य प्राप्त गर्ने गरी कृषि उपजको बजारीकरणको प्रबन्धगरी भूमि, पुँजी र प्रविधिको संयोजन मार्फत कृषि भूमिको सदुपयोग गरी कृषिको व्यावसायिक उत्पादन बढाउने ।

कोभिड–१९ को महामारीले थिचिएका पोल्ट्रि कृषकहरुलाई सामान अभाव लगायका बहानामा गुणस्तरहिन दाना तथा औषधीको बिक्री गरी किसानलाई थप मारमा पारी रहेको वर्तमान अवस्थामा खाद्य प्रविधि तथा गुणस्तर विभागको काम कारवाहीमा प्रश्न उठाउन थालिएको छ । तसर्थ कुखुरा पालक कृषकहरुलाई गुणस्तरीय दानामात्र उपलब्ध गराउन दाना उद्योगीहरुलाई अनुरोध गर्दै दानाको गुणस्तर नियमित चेकजाँच गरी कैफियत देखिएमा तूरुन्त कारवाही गर्ने ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशन 
सर्वसाधारण जनताको स्वास्थको ख्याल गर्दै खाद्य पदार्थमा कुनै अखाद्य पदार्थको मिसावट रोक्न नेपाललाई आवश्यक पर्ने खाद्यान्न संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिन आवश्यक कार्य गर्ने ।

गृह मन्त्रालयलाई दिएको निर्देशन
कोभिड १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिई अनधिकृत रुपमा तरकारी तथा फलफुल नष्ट गर्ने सम्वन्धित ब्यक्तिलाई कानून बमोजिम कारवाही गरी किसानका तरकारी निर्वाध रुपमा ओसार पसार गर्न सक्ने वातावरणको व्यवस्था गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप