बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्चमा थप ८ प्रकारका मुद्दामा सुनुवाइ हुने

बिहीबार, २२ जेठ २०७७, १९ : ३२
बिहीबार, २२ जेठ २०७७

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बुधबार बसेको सो बैठकले  थप आठ प्रकारका मुद्दा सुनुवाइ शुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले बन्दाबन्दी  जारी भएपछि शुरुमा बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र मुद्दाहरुको सुनुवाइ शुरु गरेको थियो । त्यसपछि सेवाग्राही उपस्थित नहुँदा हुने मुद्दा र सार्वजनिक सरोकारका रिट निवेदनमाथि सुनुवाइ शुरु गरी  अहिले थप आठ प्रकारका सुनुवाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बन्दाबन्दीको अवधिमा दर्ता हुन आएको रिट निवेदनको कारवाही र सुनुवाइ गर्ने, सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौज्दारी कार्यविधि संहिताअनुसारको निवेदनको कारवाही र सुनुवाइ गर्ने निर्णय गरेको छ ।  

पक्ष वा कानून व्यवसायी उपस्थित हुनसक्ने अवस्थाका दरपीठ आदेशविरुद्धका  निवेदन, बन्दाबन्दीअघि दर्ता भई कारवाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानून व्यवसायी उपस्थित हुनसक्ने मुद्दाको सुनुवाइ शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले कानून व्यवसायी नियुक्त नगरिएका थुनामा रहेका व्यक्ति पुनरावेदक भई वैतनिक वकिलमार्फत प्रतिनिधित्व हुने मुद्दाको सुनुवाइ, सरकार पुनरावेदक भएका मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भई प्रतिवादीले म्याद गुजारी चैत ९ गतेअघि म्याद थमाउने अवधि समाप्त भएका मुद्दाको सुनुवाइ थालनी गर्ने निर्णयमा उल्लेख छ ।

पक्ष तारिखमा नरहेको वा तारिख गुजारी थमाउने अवधि समाप्त भएका र कानून व्यवसायी उपस्थित हुन नसक्ने मुद्दाको सुनुवाइ हुने, मिलापत्र र मुद्दा फिर्तासम्बन्धी कारवाही आजदेखि नै शुरु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप