मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोङकी बहिनीको धम्कीपछि दक्षिण कोरियाले पर्चा फाल्न रोक लगाउने

बिहीबार, २२ जेठ २०७७, २१ : ३८
बिहीबार, २२ जेठ २०७७

दक्षिण कोरियाले सीमा क्षेत्रमा उत्तर कोरिया विरोधी पर्चा फाल्ने आन्दोलनकारीहरुलाई उनीहरुको अभियानमा रोक लगाउने योजना बनाएको छ ।

 उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनीले यस्ता गतिविधि जारी रहे सिओलसँगको दुईपक्षीय सैन्य सम्झौता रद्द गर्ने चेतावनी दिएको केही घण्टामा दक्षिण कोरियाली अधिकारीहरुले अभियानमा रोक लगाउने बताएका हुन् ।  

किम यो जोङ उत्तर कोरियाली नेताकी बहिनी र मुख्य सल्लाहकार हुन् ।  यसअघि ५ लाख बेलुनमा लुकाएर यसै साता उत्तर कोरियाका विद्रोहीहरुले सीमा क्षेत्रमा विभिन्न पर्चा फालेका थिए । योनहाप न्युज एन्जेसीका अनुसार यस पर्चामा उत्तरको आणविक खतराका विषयमा आलोचना गरिएको थियो । त्यसअघि किमको सत्ताले गरेका मानव अधिकार हननका घटना समावेश गरेर सन्देश पठाइएको थियो ।

जवाफमा किमकी बहिनीले २०१८ को अन्तर–कोरियाली सैन्य सम्झौतालाई च्यातेर फालिदिने धम्की दिएकी थिइन् । यस सम्झौतामा युद्धको व्यवहारिक जोखिम अन्त्य गर्ने प्रतिवद्धता जनाइएको छ । रोयटर्सका अनुसार उनले यो सम्झौता ‘मुस्किलले कुनै महत्त्वको रहेको’ बताएकी थिइन् । 

त्यस्तै उत्तर कोरियाले केइसङ औद्योगिक परियोजनाबाट हात झिक्ने र दक्षिणले यस्ता गतिविधिमा रोक नलगाए आफ्नो सीमा क्षेत्रको शहरमा रहेको संयुक्त सम्पर्क कार्यालय बन्द गर्ने धम्की दिएकी थिइन् । 

किम यो जोङले अनौपचारिक रुपमा आफ्ना दाजुको प्रमुख सल्लाहकारका रुपमा काम गर्दै आएकी छिन्, उनको औपचारिक पद सत्तारुढ वर्कस पार्टीको केन्द्रीय कमिटीको सह–निर्देशक हो । 

‘यदि व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रताका नाममा हाम्रो आँखा अगाडि यस्तो दानविय मनसायको काम हुन्छ भने दक्षिण कोरियाली अधिकारीहरुले छोटो समयमै खराब अवस्था सामना गर्नैपर्छ,’ उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनमार्फत सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

यस विज्ञप्तिको जवाफमा अन्तर कोरियाली मामिला हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले पर्चा फाल्ने काम बन्द गर्न भनेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप