शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको मौका छोपी अवैध उत्खनन् जारी

उत्खनन विरुद्ध बोल्ने स्थानीयको ज्यान जोखिममा
शुक्रबार, २३ जेठ २०७७, ०७ : ०५
शुक्रबार, २३ जेठ २०७७

जनकपुर । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण सम्पूर्ण विकास निर्माणका कार्य, कल कारखाना तथा बजार ठप्प छन् । तर नदीजन्य पदार्थको अवैध उत्खननलाई लकडाउनले पनि रोक्न सकेको छैन ।

प्रदेश २ को विभिन्न जिल्लामा खोला तथा नदी उत्खनन् गर्ने कार्य अवैधरुपमा जारी नै छ । बन्दाबन्दीको मौका छोपी कानून विपरित अवैध रुपमा उत्खनन कार्य वृद्धि भएको पाइएको छ । यतिमात्र नभई अवैध उत्खननविरुद्ध आवाज उठाउनेलाई ज्यान मार्नेसम्मको धम्की आईरहेको स्थानीयवासीको गुनासो छ ।

लकडाउनकै समयमा क्रसर डनहरुले अवैध उत्खनन गरेका कारण दुई महिनाको अवधिमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोलस्थित ऐलानी पर्ती जग्गामा ठूल्ठूला खाल्डा भईसकेका छन् । मालटोलको वनमा जगधर खोला नजिकै रहेको ऐलानी पर्ती जग्गामा क्रसर डनहरुले गरेको अवैध उत्खननका कारण ४०/४५ फिट गहिरोसम्म एक दर्जनभन्दा बढी खाल्डा छन् ।

अवैध उत्खनन विरुद्ध मालटोलवासीले कयौँ पटक आवाज उठाउँदै आए पनि उत्खनन् जारी छ ।

अवैध उत्खनन बिरुद्ध स्थानीयहरुले आवाज उठाउन थालेपछि केही दिन अगाडि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य तथा प्रकृति तथा स्रोत समितिका सभापति रामचन्द्र मण्डल लगायतका पदाधिकारीहरु पुगेर अवैध उत्खनन् नै बन्द गराए । तर अनुगमन गरेर फर्केको करिब आधा घण्टाभित्रै फेरि अवैध उत्खनन कार्य सुरु भएको स्थानीय सुरेश दासले बताए ।

उनले आफूहरु त्यसको प्रतिकार गर्नका लागि पुग्दा उल्टै आफूहरुलाई ठेकेदार पक्षले लखेट्दै भगाएको बताए ।

यता बिहीबार निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समेत उत्खनन भएको स्थलको अनुगमन गरेका छन् । स्थानीय प्रशासन तथा जनप्रतिनिधि लगायतको संलग्नता बिना उत्खनन कार्य सम्भव नरहेको उनले बताए ।

यस विषयमा चासो नहुनु दुःखद रहेको भन्दै उनले भने, ‘यी अवैध कार्य नरोकिए जनताको पक्षमा उभिने छु, त्यसपछिको परिणामको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने छ ।’

स्थानीयवासीको ज्यान जोखिममा  

केही महिना अघि धनुषामै अवैध उत्खनन विरुद्ध आवाज उठाउँदै आएका युवा दिलीप महतोको हत्या भएको थियो । अवैध उत्खनन विरुद्ध आवाज उठाएकै कारण क्रसर डनहरुले उनको हत्या गरेको स्पष्ट भईसकेको छ । उनको हत्यामा संलग्नहरु प्रहरीको फन्दामा समेत आईसकेका छन् ।

यता धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलको अवस्था पनि भयावह छ । त्यहाँ पनि अवैध उत्खननविरुद्ध आवाज उठाउने स्थानीयहरु भयभित छन् ।

‘हामीले शुरुमै यहाँ उत्खनन् गर्न दिनु हुँदैन भनेका थियौँ तर हाम्रो कुरो कसैले सुनेनन्,’ स्थानीय राधा लामाले बताइन् । शुरुमा कसैले नबोलेकै कारण क्रसर डनहरुको मनोबल बढेको उनको भनाइ छ ।

‘हामीहरुको ज्यान जोखिममा छ, जतिबेला पनि उनीहरु हामीमाथि जाईलाग्न सक्छन्,’ उनले भनिन्, ‘अवैध उत्खननविरुद्ध आवाज उठाउँदा ठेकेदार आनन्दकिशोर साहका लठैतहरु घर घेराउ गर्न पुगिहाल्छन् ।’

यता स्थानीय सुरेश दासले आफुहरुको जीउ ज्यानको रक्षा तथा शान्ति सुरक्षाका लागि ढल्केवर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिंदा समेत प्रहरीले जाहेरी लिन नमानेको गुनासो गरे । उनले भने, ‘हामी आफ्नो जीउ ज्यानको रक्षाका लागि प्रहरी समक्ष पनि पुग्यौँ, तर माथिदेखि तलसम्म सबै मिलेका छन् ।’

स्थानीय मीना मोक्तानले वडाध्यक्षविरुद्ध आक्रोश पोख्दै भनिन्, ‘यदि यो अवैध कार्य हो भने वडाध्यक्षले उत्खननका लागि किन सिफारिस ग¥यो ?’

वडाध्यक्ष बन्दे मोक्तानले भने उत्खननका लागि आफूले स्वीकृति नदिएपछि नगर प्रमुख बालेश्वर मण्डलको दवाबमा सिफारिस गर्नुपरेको बताए । उनले भने, ‘मेयर साबले पोखरी खन्नका लागि मात्रै उत्खनन गर्ने भनेपछि सिफारिश गरेको हुँ ।’

अवैध उत्खननबारे आफूहरुलाई जानकारी रहेको स्वीकार गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले स्थानीयको जीउ ज्यानमा क्षति पुग्न नदिने दावी गरे । उनले भने, ‘सम्पूर्ण जिल्लाको शान्ति सुरक्षाको जिम्मा हाम्रो नै हो, हामी शान्ति सुरक्षा दिन सदैव तत्पर छौँ ।’

प्रहरी–प्रशासन–सरकार बेपरवाह

धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलमा पोखरी उत्खननका लागि दुई वर्ष अघि २०७५ साल पुस ८ गते अनुमति दिएको पाइएको छ । सो पत्रमा जीवनराज श्रेष्ठको नाउँमा कित्ता नम्बर ३७मा रहेको निजी जग्गामा उत्खननका लागि अनुमति दिइएको छ । नगरपालिकाबाटै २०७६ फागुन ५ गते नियमभित्र रही सार्वजनिक जग्गामा क्षति नपुग्ने गरी पोखरी खन्नका लागि सिफारिश गरिएको छ । नगरपालिकाको पत्र अनुसार सो ठेक्का धनुष बाबा कन्सट्रक्सनलाई दिइएको छ । पोखरी खन्नका लागि २०७७ असार मसान्तसम्मको समय दिइएको छ ।

निजी जग्गामा पोखरी खन्नका लागि सिफारिश गरिएको भए पनि ठेकेदारहरुले जगधर खोलाको नजिकै रहेको ऐलानी जग्गाको १५ बिघाभन्दा बढी जग्गामा अवैध रुपमा उत्खनन गरेका छन् । स्थानीय तहको लापरवाहीकै कारण ठेकेदारहरुले सो जग्गामा अवैध उत्खनन् गरेको स्थानीयबासीको आरोप छ । तर जग्गावाल ठेकेदारले पोखरी खन्नका लागि वडा कार्यालयबाट लिएको स्वीकृती अनुसार सो ठाउँमा पोखरी नै नखनी अन्य स्थलमा पोखरीको नाममा ठुल्ठुला खाडल खनेको आरोप छ ।

स्थानीयहरुकै दवाबका कारण नगरपालिकाले २०७७ जेठ १३ गते तोकिएको जग्गामा उत्खनन नगरिएको तथा मापदण्डभित्र नरही उत्खनन गरिएकोले सो जग्गालाई अबिलम्ब पुर्न पत्र समेत काटेको थियो । यद्यपि अहिलेसम्म अवैध उत्खनन कार्य भने रोकिएको छैन ।

यस विषयमा अनभिज्ञयता प्रकट गर्दै धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले यदि त्यस्तो भएको पाइए कारबाही गरिने बताउँछन् ।

जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले स्थानीय तहका प्रतिनिधिहरुर जिम्मेबार हुन नसकेका कारण अवैध उत्खनन् रोक्न कठिनाई भईरहेको बताए । उनले जिससले नगरपालिकाको.प्रतिनिधिमात्रै राखेर उत्खनन् गर्न पत्र काटे पनि सो अनुरुप स्थानीय तहले कार्य गराउन नसकेकाले यस्तो स्थिति सिर्जना भएको बताए ।

अवैधरुपमा गरिएको उत्खनन कार्यले सो ठाउँमा १६ विघा जग्गा नष्ट गरिएको छ ।

धनुषाको बटेश्वर गाउँपालिका–१, बडहडी खोलामा मंगलबार राति अवैध उत्खनन् रोक्न गएका ४ जना युवक कुटिए । क्रसर माफियाको आक्रमणबाट बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित डालाखारीका २२ वर्षका संजयकुमार महतो सख्त घाइते भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

उत्खनन गर्ने पक्षले गरेको रड प्रहारबाट संजयको टाउको, कान र तिघ्रामा गम्भीर चोट लागेको उनका भाई शत्रुधन महतोले बताए । संजयको उपचार जनकपुरस्थित जानकी हेल्थकेयरमा भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप