बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन अवधिमा मात्र भित्रियो ५ अर्ब बराबरको औषधी : खाद्यान्न, फलफूल तथा तरकारी आयातमा उल्लेखनीय वृद्धि

स्वदेशी उत्पादन खेर जाँदा २ हजार प्रतिशतले दुग्धजन्य पदार्थको आयात बढ्यो
शुक्रबार, २३ जेठ २०७७, ११ : १९
शुक्रबार, २३ जेठ २०७७

कोभिड–१९ का कारण बजार आपूर्ति तथा मागमा उल्लेखनिय गिरावट आएको भनिएपनि वैदेशिक माल वस्तुको आयातमा भने कमी देखिएको छैन । तुलनात्मक रुपमा अन्य निमार्ण सामाग्री, मेसिनेरी औजार, औद्योगिक कच्चा पदार्थ लगायत फेन्सी सामाग्रीहरुको आयातमा कमी आएपनि अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, फलफूल तथा तरकारीको आयातमा भने उल्लेखनीय वृद्धि भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ७२ दिनको लकडाउनको अबधिमा मात्र झण्डै ५ अर्ब बराबरको औषधीजन्य वस्तु आयात भएको छ । लकडाउन शुरु भएयता गत चैत्र ११ गते देखि जेठ २१ गतेसम्ममा कुल ४ अर्ब ८७ करोड ९६ लाख ५६ हजार(रु.४,८७,९६,५६,०००)रुपैयाँको औषधीजन्य वस्तुको आयात भएको हो ।

यो औषधी उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ र तयारी औषधीको एकमुष्ट परिमाण हो । जसमा सो अवधिमा कुल १ अर्ब १ करोड २९ लाख ५५ हजार (रु.१,०१,२९,५५,०००)रुपैयाँ बराबरको औषधीको कच्चापदार्थ आयात भएको छ भने, ३ अर्ब ८६ करोड ६७ लाख १ हजार(रु.३,८६,६७,०१,०००) रुपैयाँ बराबरको तयारी औषधी आयात भएको उद्योग मन्त्रालयले जनाएको छ ।

यता, कोरोनाका कारण अन्य माल सामान तथा मेसिनेरी वस्तुहरुको आयातमा गिरावट आएपनि अत्यावश्यक दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल,चामल, नुन तेल लगायत औषधीजन्य वस्तु र फूलफूल, तरकारी र दुधजन्यपदार्थ आयातमा भने उल्लेखनिय वृद्धि भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए ।

‘कोरोनापछिको लकडाउनले अन्य विकास निर्माण, आयोजना परियोजना तथा व्यवसायीक क्षेत्रहरु बन्द हुँदा यस्ता क्षेत्रमा प्रयोग हुने वस्तुहरुको आयात घटेपनि दैनिक उपभोग्य वस्तुहरुको आयातमा भने कमि आएको छैन । लकडाउनमा पनि यी वस्तुहरु निर्वाध रुपमा आयात भइरहेका छन् । यो समयमा एउटा रसुवा(केरुङ्ग) नाका बाहेक अन्य सबै भन्सार नाकाहरुमा माला सामान आयात भइरहेका छन्,’ मन्त्री भट्टले भने, ‘बरु लकडाउनकै अबधिमा दैनिक उपभोग्य वस्तुको आयातमा सरदर अधिकतम ३८ प्रतिशतले सम्म वृद्धि भएको पाएका छौँ ।’

मन्त्री भट्टका अनुसार गत चैत्र ११ गते देखि जेठ २१ गतेसम्ममा कुल १० हप्तामा औसत खाद्यान्न ६.९ प्रतिशतले, दाल तथा गेडागुडी १४.७ प्रतिशतले, तरकारी ४.० प्रतिशतले, फलफूल ३८.१ प्रतिशतले, दुग्धजन्य पदार्थ २,६५८.४ प्रतिशतले र औषधी ४४.२ प्रतिशतले आयात वृद्धि भएको छ ।

लकडाउन अबधिमा कुन वस्तु कति आयात भए ?

खाद्यान्न

कोभिड–१९ को महामारीसँगै सरकारले घोषणा गरेको लकडाउन शुरु भएयता मात्रै कुल २ लाख ४२ हजार ८ सय २० मेट्रिकटन (२,४२,८२०मे.ट) खाद्यान्न आयात भएको उद्योग मन्त्रालयले बताएको छ । गत चैत ११ गतेदेखि जेठ २१ गतेसम्मको १० औँ हप्तामा सो परिमाणको खाद्यान्न आयात भएको हो । सोही अबधिमा कुल ६८ हजार १ सय ९३ मेट्रिकटन (६८,१९३ मे.ट) दलहन (दाल तथा गेडागुडी) समेत आयात भएका छन् । लकडाउनको पहिलो हप्ता (चैत ११ देखि १७) मा १३,३४३ मेट्रिकटन खाद्यान्न र ३,८५९ मेट्रिकटन दलहन आयात भएकोमा तथ्याङ्क तयार पार्दासम्मको दशौं हप्ता(जेठ १३ देखि १९) खाद्यान्न र दहन क्रमशः २१,७८८ र ७,५७० मेट्रिकटन आयात भएका छन् । लकडाउन अबधिको १० हप्तामा सरदर आयात वृद्धिदर हेर्दा औसत खाद्यान्न ६.९ प्रतिशत र दलहन १४.७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

यसको अलबा खाद्यान्न आयात तथा विक्री वितरणको समेत जिम्मेवारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्लो समय गहुँको समेत आयात गर्न थालेको छ । मन्त्रालयका अनुसार गत जेठ १८ गते मात्र कम्पनीले ५ सय ५९ दशमलव ५ मेट्रिकटन(५५९.५मे.ट) गहुँ आयात गरेको छ ।

फलफूल तथा तरकारी

मन्त्रालयका अनुसार लकडाउनको अबधिमा मात्र कुल ८६ हजार २ सय ९४ मेट्रिकटन(८६,२९४ मे.ट) तरकारी र ३४ हजार ६ सय ९५ मेट्रिकटन(३४,६९५ मे.ट) फलफूल आयात भएको छ । लकडाउन शुरु भएको पहिलो हप्ता ६ हजार २ सय ८९ मेट्रिकटन तरकारी र ८ सय ७३ मेट्रिकटन मात्र फलफल आयात भएकोमा १० हप्ता सम्ममा उक्त परिमाणमा फलफूल तथा तरकारी आयात भएको हो ।

फलफूल तथा तरकारीको आयात वृद्धिदरलाई हेर्दा लकडाउन अबधिमा सरदर तरकारी ४.० प्रतिशतले र फलफूल ३८.१ प्रतिशतले वृद्धि भएको देखिन्छ । फलफूलमा भने शुरुका दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा आयात बढ्दा वृद्धिदर उच्च देखिएको हो ।

यता, स्वदेशी उत्पादन हुँदाहुँदै बाहिरबाट उच्च दरमा फलफूल तथा तरकारी आयात भइरहेको भन्ने तिब्र जनगुनासाका बाबजुद कृषि मन्त्रालयले कुल आपूर्तिको २० प्रतिशत मात्र फलफूल तथा तरकारी बाहिरबाट आयात भइरहेको बताएको छ । रोतोपाटीसँग कुरा गर्दै कृषिमन्त्री घनश्याम भुसालले लकडाउनको अबधिमा कुल ३० हजार मेट्रिकटनको हारहारीमा तरकारी आयात भएकोमा करिब ६ हजार मेट्रिकटन तरकारी मात्र भारतबाट आयात भएको बताए । तर, फलफूलमा भने स्वदेशी उत्पादन अत्यन्त कम हुँदा पूर्णतः बाहिरकै भरपर्नु परेकोले आयातदर उच्च रहेको मन्त्री भूसालको भनाइ छ ।

दुग्धजन्य पदार्थ

लकडाउनको पूर्णतः १० औं हप्तासम्ममा बाहिरबाट कुल १२ हजार २ सय ५७ मेट्रिकटन(१२,२५७ मे.ट) दुग्धजन्य पदार्थ आयात भएको छ । उद्योग मन्त्रालयले तयार गरेको तथ्याङ्क अनुसार लकडाउनको पहिलो हप्ता करिब ७ मेट्रिकटन मात्र दुग्धजन्य पदार्थ आयात भएकोमा अन्तिम १०औं हप्तासम्ममा कुल १२ हजार मेट्रिनटन बराबरको दुग्धजन्य पदार्थ आयात भएको हो ।

चैत ११ गते देखि जेठ २१ गते सम्मको १० हप्ताको तथ्याङ्कमा सबैभन्दा बढि चौथो हप्तामा झण्डै ११ हजार मेट्रिकटन, १० हजार ९ सय १६ मेट्रिकटन दुग्धजन्य पदार्थको आयात भएको छ । सरदर लकडाउनको अबधिमा दुग्धजन्य पदार्थको आयात वृद्धिदर २ हजार ६ सय ५८ दशमलव ४ (२,६५८.४) प्रतिशत रहेको छ । यो खाद्यान्न, फलफूल, तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरुको आयातदरमा सबैभन्दा उच्च आयातवृद्धि हो ।

यति ठूलो परिमाणमा विदेशी दुग्धजन्य पदार्थ आयात भइरहदा, यता स्वदेशीतर्फ भने करिब  दुई, साढे दुई अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थको बजार अभावका कारण त्यसै थन्किएको कृषि मन्त्रालयको भनाई छ । कृषि मन्त्री भुसालका अनुसार दुधबाट बनेको बटर मात्र करिब एक हजार मेट्रिकटन बराबरको परिमाण त्यस्तै थुप्रिएको छ । त्यस्तै पाउडर(धुलो) दुधको समेत सोही परिमाणमा विक्री हुन नसकेर भण्डारण गरिराखिएको छ ।

अहिले मन्त्रालयले विभिन्न उपाय लगाएर दुग्धजन्य पदार्थ बेच्न खोजेपनि नसकिएको मन्त्री भूसालले भनाइ छ । आफुले ठूलो प्रयत्न गरेर दुग्धजन्य पदार्थ पाकिस्तान तथा अफगानिस्तान कहाँ बेच्न सकिन्छ भनेर प्रयत्न गरिएपनि नसकिएको र स्वदेशमै खपत गर्न सेना र प्रहरीलाई खुवाउन भन्दा समेत नसकिएको मन्त्री भुसालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप