शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हामीले प्रयोग गर्नका लागि २० लाख भ्याक्सिन तयार गरेका छौंः ट्रम्प

शनिबार, २४ जेठ २०७७, १० : ३४
शनिबार, २४ जेठ २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेको दाबी गरेका छन् । उनले यी भ्याक्सिन प्रयोगका लागि तयार भएको बताउँदै वैज्ञानिकले यसको सुरक्षा र प्रभावकारीताबारे विश्लेषण गर्न मात्रै बाँकी भएको बताएका छन् ।

ट्रम्पले यो दाबी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् ।

यद्यपि, ट्रम्पले कुन कम्पनी र कस्तो खालको भ्याक्सिनको कुरा गरेका हुन् भन्ने खासै जानकारी दिएनन् । उनले ती भ्याक्सिनको प्रयोग कहिलेदेखि सुरु हुन्छ भन्नेबारे निश्चित समयसीमा पनि तोकेका छैनन् ।

पत्रकार सम्मेलनमा उनको यस्तो बयानपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले आफूले यसबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।

यद्यपि, मंगलबार डाक्टर फाउचीले एक मेडिकल सेमिनारमा अर्को वर्षसम्म भ्याक्सिन तयार गर्ने आशा भने व्यक्त गरेका थिए ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकी प्रशासनले भ्याक्सिन बनाउनका लागि पाँच कम्पनीलाई काममा लगाएको छ । अमेरिकामा थुप्रै कम्पनी वैज्ञानिकको मञ्जुरी अघि नै ठूलो मात्रामा भ्याक्सिन बनाउने होडमा लागेका छन् । यीमध्ये मोडेर्ना, नोवाभ्याक्स र फाइजरजस्ता कम्पनी समावेश छन् ।

डाक्टर फाउचीले मंगलबार पत्रकारलाई यो रेसमा ‘मोडेर्ना’ सबैभन्दा अगाडि देखिएको बताएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप