शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सफाइको नयाँ स्वरुपमा वाग्मती

शनिबार, २४ जेठ २०७७, १९ : १८
शनिबार, २४ जेठ २०७७

–पूर्णप्रसाद मिश्र 
काठमाडौं । आठ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानलाई बन्दाबन्दीका बीच मनदेखि नै सफाइ गर्ने गरी नयाँ कार्यक्रम शुरु गरिएको छ । मुहानदेखिकै वाग्मती सफाइ अभियान चलाउँदै आएको वाग्मती सुन्दरता सरोकार मञ्चले आजदेखि मानिसको मनदेखि नै सफाइका लागि जागरण फैलाउन लागेको हो । मञ्चका अध्यक्ष उत्तम पुडासैनी वाग्मतीमा आउने कुहिने फोहरलाई घरघरमै जैविक मल बनाउने अभियानलाई तीव्ररूपमा अघि बढाउन लागिएको बताए ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा मञ्चले सुपथ मूल्यमा तीन हजार परिवारलाई कुहिने फोहर हालेर मल बनाउने बीन वितरण गरेको छ । बजारमा रु चार हजारभन्दा बढी पर्ने बीन अधिकार सम्पन्न वाग्मती समितिले खरिद गरेर दिएपछि रु एक हजार ३५० मा बिक्री भइरहेको अध्यक्ष पुडासैनीले बताए ।

सुन्दरीजलदेखि नयाँबानेश्वर सम्मको वाग्मती किनार दायाँबायाँका बासिन्दालाई सहुलियत दरको बीन वितरण गरी कौशी खेतीमा प्रोत्साहन गर्न लागिएको हो । नदी किनारका बस्तीबाट निस्कने कुहिने फोहर बीनमा राखी घरमै जैविक मल बनाएर कौशीखेतीलाई प्रोत्साहन गर्दा वाग्मतीमा कम फोहर आउने विश्वास गरिएको छ । 

यसबाट तरकारीमा वाग्मती किनारका बासिन्दा आत्मनिर्भरसमेत हुनेछन् । नदी किनारका बासिन्दा आत्मनिर्भर हुने यो अभियानमा सहभागी हुन यस क्षेत्रका स्थानीय तहसँग पनि सहकार्य गर्न लागिएको मञ्चले जनाएको छ । मानिसमा पनि जनचेतना फैलाउन तालिम, प्रशिक्षणलगायत कार्यक्रमलाई निरन्तरता दिइएको छ । यो अभियानसँगै वाग्मती सफाइमा मनदेखि नै काम गर्ने अभियान शुरु भएको मञ्चले जनाएको छ ।

यो अभियानमा तीव्रता दिएपछि नकुहिने प्लाष्टिकलगायत फोहरलाई मात्र स्थानीय तहले व्यवस्थापन गरे पुग्छ । अधिकार सम्पन्न वाग्मती र नदी किनार जोडिएका स्थानीय तहले सहकार्य गरी काम अघि बढाएमा प्रत्येक घरबाट कुहिने फोहर बाहिर निकाल्न नपाउने गरी व्यवस्था गर्न सकिन्छ । यसबाट घरमै केही न केही खेती गर्न पनि प्रोत्साहन हुने अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य माला खरेल बताउँछिन् ।

गुह्येश्वरीमाथिको नदी सफाइ गर्दै आएको मञ्चले आज ३२९औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित ढुङ्गे उद्यान क्षेत्रमा सफाइ गरिएको थियो । सामाजिक दूरी कायम गरी बन्दाबन्दीको पालना गर्दै सफाइ अभियानलाई निरन्तरता दिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए । 

यसैगरी सफाइ महाअभियानको ३६९औँ हप्तामा पशुपति क्षेत्र र शङ्खमूल क्षेत्रमा निरन्तरता दिइएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य खरेलले निरन्तरता दिए ।  यसैगरी शङ्खमूल उद्यानमा अभियानकर्मी डा.लक्ष्मी पौडेललगायतले निरन्तरता दिनुभयो । मनोहरा, तिलगङ्गा, ललितपुरको गोदावरी खोलालगायत नदीमा पनि सफाइ अभियान जारी रहेको जनाइएको छ । यी स्थानमा नदी किनार क्षेत्रमा घर हुने अभियानकर्मीले निरन्तरता दिएका हुन् । नदी किनारभन्दा टाढा घर हुने अभियानकर्मीले भने आआफ्नो टोल क्षेत्रमा सफाइ गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीकाबीच सामाजिक दूरी कायम गरेर सफाइ अभियान चलाइएको हो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियानले अपेक्षाकृत सफलता पाउन सकेको छैन । सफाइका नाममा स्रोतको अपारदर्शिता भएको, केही व्यक्तिको स्वार्थसिद्धिका लागि काम भएको लगायत गुनासा सुनिने गरेका छन् । महाअभियान शुरु भएपछि देशव्यापीरुपमा सफाइ जागरण फैलिएको छ । यो सकारात्मक पक्ष हो । 
अभियानकै प्रभावमा बन्दाबन्दीअघिसम्म देशभर १०६ भन्दाबढी स्थानमा सफाइ अभियान शुरु भएको जनाइएको छ । देशभरका सफाइ अभियानलाई स्थानीय तहले सहयोग नगर्दा भने काम गर्न असहज भइरहेको धेरै अभियानकर्मीको गुनासो छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप