शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नाम लुकाएर समाज सेवामा खटिए बेलायती नवयुवराज

शनिबार, २४ जेठ २०७७, २२ : ३५
शनिबार, २४ जेठ २०७७

एजेन्सी । बेलायती नवयुवराज विलियम विगतमा आफ्नो नाम गोप्य नै राखेर समाज सेवामा थिए । रोयल फाउन्डेशनले बनाएको साउट ८५२५८ नामक टेक्स्ट म्यासेजिङ हेल्पलाईनमार्फत सक्रिय २ हजार स्वयंसेवकमध्ये बिलियम एक हुन् । साउट ८५२५८ ले व्यक्तिगत समस्याका परेका मानिसलाई सहयोग उपलब्ध गराउँछ । 

आत्महत्याको सोच आएका, दुर्व्यवहारमा परेका, आफैेंले आफैंलाई हानी गर्ने अवस्थामा पुगेका, सामाजिक र पारिवारिक सम्बन्धमा समस्या देखिएका व्यक्तिहरुले यसमा सन्देश पठाउन सक्छन् । यसमा सन्देश पठाउने व्यक्तिहरुसँग विशेष तालिमप्राप्त स्वयमंसेवकले च्याटमार्फत कुराकानी गर्छन् ।

यी स्वयंम्सेवककोे काम पीडितका समस्या सुनेर उनीहरुलाई शान्त ठाउँमा लैजानु हो, जहाँबाट ती व्यक्तिहरुले समाधान खोज्न सकुन् । त्यस्तै, टेक्स्ट म्यासेजमार्फत पीडितहरुसँग सम्पर्क भइसकेपछि उनीहरुलाई सुधारका लागि विभिन्न किसिमबाट सहयोग गरिन्छ । सन्देश पठाउने पीडितहरुले आत्महत्या गर्न खोज्नु पनि अस्वभाविक होइन, यस्तो अवस्थामा साउट ८५२५८ ले तत्काल उनीहरुको उद्धार गर्ने गरेको छ । यस संस्थामा आबद्ध हुँदा नवयुवराजले युवाहरुका समस्या बुझ्ने मौका पनि पाएका छन् ।  

यसरी भयो खुलासा 
गत महिना अन्य स्वयंसेवकसँग विलियमले गरेको भिडियो कल शुक्रबार राति सामाजिक सञ्जालमा शेयर भयो । ‘म तपाईहरुसँग सानो सेक्रेट शेयर गर्न गइरहेको छु, तर म खासमा भोलुन्टरिङ प्लेमफर्ममा छु,’ उनले भनेका छन् । केन्सिङटन दरबारले पनि यस म्यासेज सेवाको पहिलो वर्षको ‘भोलुन्टर्स विक’का अवसरमा नवयुवराजको संलग्नता पुष्टी गरेको छ ।

त्यस्तै, आफ्ना छोरा र छोरीसँगै स्यान्डिङह्याम स्टेटमा काम गर्दै गरेको विलियमको फोटो, जसलाई नवयुवराज्ञी केट मिडिल्टनले खिचेकी थिइन्, त्यो पनि सार्वजनिक गरिएको छ । यसअघि यस प्लेमफर्ममा म्यासेज गर्नेहरुलाई नवयुवराजसँग कुराकानी गर्दैछु भन्ने थाहा थिएन । अन्य स्वयंसेवकजस्तै उनी पनि पहिचान लुकाएर यस प्लेटफर्ममा सक्रिय थिए । 

महारानी एलिजावेथले पनि महामारीको समय सेवामा खटिएकाहरुको प्रशंशा गरेकी छिन् । ‘म चासोका साथ नियालिरहेको छु कि मेरो परिवारसहित संसारभरका कति पूरुष र महिला सहयोगमा जुटिरहेका छन् र उनीहरुले स्वयंम्सेवकको महत्वपूर्ण भूमिका निभाइरहेका छन् । म ती सबैलाई शुभकामना दिन चाहन्छु, जो स्वार्थरहित रुपमा अरुको सेवामा खटिएका छन्,’ उनले जारी गरेको सन्देशमा उल्लेख छ । 

गत वर्ष शाही परिवारले साउट ८५२५८ सुरु गर्न रोयल फाउन्डेशनमार्फत ३० लाख पाउन्ड उपलब्ध गराएको थियो । बेलायती राजगद्दीको उत्तराधिकारीका रुपमा बाबु चाल्र्सपछि दोस्रो स्थानमा रहेका विलियन आबद्ध यस हेल्पलाईनमा एक वर्ष नपुग्दै झन्डै ३ लाखभन्दा बढी व्यक्ति र स्वयंसेवकबीच कुराकानी भएको थियो । यसमध्ये ६५ प्रतिशत म्यासेज २५ वर्षमुनिका युवाले गर्ने गरेका छन् । 

विलियमकी पत्नी नवयुवराज्ञी केट मिडिल्टन पनि सहयोगमा जुटेकी छिन् । उनी ‘चेक इन एन्ड च्याट’ सँग जोडिएकी छिन्, जहाँ सेल्फ आइशोलेसनमा बसेका वा महामारीका समय कमजोर अवस्थामा रहेका व्यक्तिसँग कुराकानी हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप