बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीमा अर्बपतिहरु झनै धनी बने

आइतबार, २५ जेठ २०७७, ०८ : ४७
आइतबार, २५ जेठ २०७७

पछिल्लो तीन महिना सामान्य अमेरिकी नागरिकका लागि कठिन रह्यो, तर अर्बपतिहरुका लागि होइन । गत मार्च १८ यता अमेरिकी अर्बपतिहरु ५.६५ खर्ब डलरले धनी भएको इन्सिटिच्युट फर पोलिसी स्टडिजले बिहीबार प्रकाशन गरेको एक रिपोर्टले देखाएको छ । यो रिपोर्ट फोर्ब्सको विश्वका अर्बपतिको सूचीको आधारमा तयार पारिएको हो ।

अहिले अर्बपतिको कूल सम्पत्ति ३५ खर्ब डलर पुगेको छ । महामारीको शुरुवात यता उनीहरुको सम्पत्ति १९ प्रतिशतले वृद्धि भएको रिपोर्टमा भनिएको छ । अमेजनका प्रमुख जेफ बेजोस एक्लैको सम्पत्ति ३६.२ अर्ब डलर रहेको छ । यो गत मार्च १८ भन्दा यो बढी नै हो ।  

सोही दिन यता ४.३ करोड अमेरिकीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । सेवा र पर्यटन क्षेत्रका कम आय भएका कामदारहरु महामारीबाट बढी प्रभावित बनेका छन् ।

यसले अमेरिकामा धनी र गरिबबीचको खाडल धेरै ठूलो रहेको देखाउने विज्ञहरु बताउँछन् । यही कारणले पनि अमेरिका भर अहिले प्रदर्शन फैलिरहेको उनीहरुको भनाइ छ ।

फेडरेल रिजर्भका कारण सेयर बजारमा सुधार भएसँगै धनीहरुको सम्पत्ति ह्वात्तै बढेको हो । महामारीकाबीच सडकमा संघर्ष चर्किरहँदा ठूला प्रविधि कम्पनीहरुको आम्दानी भने बढी रहेको छ । मार्च यता अमेजनको सेयर ४७ प्रतिशतले बढेको छ । फेसबुकले पनि यसबाट फाइदा आर्जन गरिरहेको छ । कम्पनीका सह संस्थापक मार्क जुकरबर्गको सम्पत्ति मार्च १८ यता ३०.१ अर्ब डलरसम्म बढेको छ ।

उता, टेस्लाका प्रमुख एलन मस्क, गुगलका संस्थापक सर्जे ब्रिन र ल्यारी पेज तथा माइक्रोसफ्टका पूर्व सिइओ ल्यारी पेज लगायत सबैको सम्पत्ति थप भएको छ ।

यता, देशमा रोजगारी गुमाउनेको संख्या बढ्दो छ । मे महिनामा अमेरिकाले थप ८० लाख रोजगारी गुमाएको तथ्यांकले देखाउँछ । अमेरिकामा चाँडै नै बेरोजगारको दर २० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप