शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘रक्षा मन्त्रालय असफल भयो, सेनालाई ब्यारेकबाट बंकरमा पठाऊ’

आइतबार, २५ जेठ २०७७, १३ : ०८
आइतबार, २५ जेठ २०७७

काठमाडौं । काँग्रेस सांसद तथा पूर्वरक्षामन्त्रीसमेत रहेका भिमसेनदास प्रधानले भारतले मिचेको नेपाली भूमि जोगाउन नेपाली सेनालाई व्यारेकबाट बंकरमा पठाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा खर्च कटौतीको प्रस्ताव राख्दै प्रधानले नेपाली विदेशीले नेपाली भूमि अतिक्रमण गरेका बेला सुरक्षा परिषदको बैठकसमेत नबसेको भन्दै राष्ट्रिय संकटका बेला सरकारले संविधानअनुसार सेना परिचालनको निर्णय गर्नसक्नुपर्ने बताए ।

उनले संविधानको धारा २६६ ले राष्टिय संबैधानिक परिषदको व्यवस्था गरेको र राष्टमा संकट पर्दा, विभिन्न युद्ध, विद्रोह हुँदा सेना परिचालन गर्ने ब्यवस्था रहेको स्मरण गराए । तर उनले नेपालको राष्ट्रिय अखण्डतामाथि हमला भइरहेका बेला, नेपालको सिमा मिचिएका बेला पनि राष्टिय सुरक्षा परिषदको बैठक बस्न नसकेको भन्दै प्रश्न गरे । ‘आज कालापानी, लिम्पियाधुरामा सीमा मिचिँदा किन सुरक्षा परिषदको बैठक बस्दैन ?’ प्रधानको भनाइ थियो ।

संविधानले सेना परिचालन गर्न स्पष्ट भूमिका दिएको भन्दै उनले अन्य हरेक विपद व्यवस्थापनमा सेना परिचालन गरेर कुशल भूमिका निर्वाह गरिरहेको व्यारेकमा मात्रै राख्ने कि संकटका बेला प्रयोग गर्ने भन्दै प्रश्न गरे । ‘सेनालाई खाली व्यारेकमा मात्रै राख्ने कि जिम्मेवारी पुरा गर्न बंकरमा पठाउने ? त्यसलाई किन पुरा गर्न सकेन रक्षा मन्त्रालयले ?’ उनले प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने कुरा गरिरहेको भन्दै त्यसमा प्रवुद्ध वर्गहरुको समेत सहभागिता जनाउनुपर्ने बताए । उनले भारतले सिमानामा भारतीय सेनाका ५२० वीओपी रहेको भन्दै हाम्रोमा भने ३९ वटा मात्रै रहेकाले सिमाना सुरक्षा हुन नसकेको बताए ।

प्रधानले कोभिड १९ विरुद्ध उच्चस्तरीय समितिको संयोजक नै हाल रक्षा तथा उपप्रधानमन्त्री संयोजक रहेपनि सिमालगायतका क्षेत्रमा समस्या भइरहेको तथा राहत नपाएको भन्दै रक्षा मन्त्रालय नै असफल भएको दावी गरे । उनले भने, ‘तीन महिना हुनलागिसक्यो, मानिसहरु भोकभोकै मर्न लागिसके तर न सरकारले डाक्टरहरुलाई मेडिकल किट दिन सक्यो न केही गर्न सक्यो । त्यसैले रक्षा मन्त्रालय नै पूर्ण रुपमा असफल भैसक्यो । त्यसकारण यसमा ध्यान दिइयोस्’, प्रधानको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप