बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावास युएईमा लफडा, दूतावासमा किन पुगे नेपालीहरु ?

सोमबार, २६ जेठ २०७७, ०० : १५
सोमबार, २६ जेठ २०७७

युएई । कोरोनाभाइरसका कारण भएको लकडाउनले लामो समयदेखि युएईमा अलपत्र परेका नेपालीहरुले आइतवार अबुधावीस्थित नेपाली दूतावासमा गइ आक्राेश पोखेका छन् । 

सरकारले आफूहरुको उद्धारमा ढिलाइ गरेकाे प्रति आक्राेश पोख्दै उनीहरुले‌ तत्काल स्वदेश फर्किने वातावरण मिलाउन दूतावासमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । 

स्थानीय समयअनुसार आइतबार बिहान ठूलो संख्यामा नेपालीहरु दूतावासको मुल गेटमा पुगेपछि स्थानीय प्रहरीले उनीहरुलाई तितरवितर बनाएको थियो।

अलपत्र नेपाली कामदारहरुले आफ्नो समस्या राख्न दूतावासमा गएका बेला उनीहरुमाथि राजदूतले स्थानीय प्रहरी लगाएर लखेटेको पीडितहरुको आरोप छ।

 बिहान अफिस खोल्ने समयमा ३०/४० जना पीडित नेपालीहरु दूतावासको गेटमा पुगेका थिए।तर दूतावासको गेट बन्द थियो। आफूहरुले राजदूत त परकाे कुरा दूतावासको कर्मचारीलाई पनि भेट्न नपाएको एक पीडितले बताए।

ती पीडितले रातोपाटीसँग भने-जागिर नभएको तीन महिना भैसक्यो। घर जान पाउँ भनेर दूतावासको फारम भरेँ, दूतावासमा फोन गर्दा फोन उठ्दैन,न त ईमेल,म्यासेजको रिप्लाई आउँछ। एक पटक दूतावास पुगेर जानकारी लिनुपर्यो भनेर गएको थिएँ।गएको ५ मिनेटमा पुलिस आईपुग्यो। उद्धार माग्न जाँदा पुलिस बोलाएर लखेटे । 

उनीहरुले दूतावास परिसरमा कुनै उशृखल व्यवहार नगरेको र संगठित रुपमा पनि नगएको बताए। बरु दूतावासबाटै प्रहरी बाेलाएर तनाव दिने काम भएको ती पीडितको आरोप छ । दूतावासले प्रहरी बाेलाएपनि स्थानीय प्रहरीले कुनै धरपकड भने गरेन । सर्लाहीका उपस्थित एक पीडितले भने,अस्ति फ्लाइट पनि भयो,को गए?  वास्तविक पीडित गए कि गएनन्, थाह भएन । गोलमाल भयो भन्ने सुनें।पटक पटक दूतावास गएर हामी घर जान पाउँ भनेर निवेदन गर्दा पनि सुनुवाइ भएन। 

यता दूतावासले पीडितहरुले लगाएको आरोप तथ्यहीन भएको जनाएको छ।आफ्नो समस्या राख्न दूतावास आएका नेपालीहरुलाई प्रहरी बोलाएर लखाटेको हल्ला मात्र भएको दूतावास श्रोतले जनाएको छ। दूतावासका एक अधिकारीले ठूलो सख्यामा नेपालीहरु दूतावास परिसरमा जम्मा भएको स्थानीय प्रहरीले देखेपछि हुलदंगा नगर्न र सामाजिक दूरी कायम गर्न मात्रै आएकाे बताए । 

कुटनैतिक नियोगका कर्मचारीहरुको सुरक्षा जिम्मेवारी सम्बन्धित देशको सुरक्षा निकायको लिने हुनाले नियमित अनुगमनको लागि प्रहरी आएको हो।तर उपस्थितहरुले गलत ब्याख्या गरेको दूतावासको भनाइ छ। दूतावासले युएईमा रहेका नेपालीहरुलाई नेपाल सरकारको प्राथमिकता अनुसार स्वदेश फर्काउने अन्तिम चरणमा पुगेकोले धैर्य रहन सबैमा अनुरोध  गरेको छ।

दूतावासले गैरआवासीय नेपाली संघ(एनआरएनए) र कोभिड-१९ सूचना संकलन तथा राहत व्यवस्थापन समिति युएईमार्फत खाद्यान्न वितरण कार्य सुरु भएकोले समस्या परेको नेपालीहरुलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप