केन्द्रीय संस्करण

पर्खाइमा

person explore access_timeजेठ २६, २०७७ chat_bubble_outline0

 

नगर महानगरका बदनाम गल्लीहरूमा
महामार्गका कुइनेटाहरूमा
झोपडपट्टीका अँध्यारा कुनाहरूमा
बास गर्छन् मेरा सहोदरहरू।
अलिकति खुला ढोकाहरूबाट
मैलो पर्दाको पछिल्तिरबाट
चिहाइरहेछन् मलिन आँखाहरू
प्रतीक्षा छ बेनाम प्रियहरूको
झीनो आशामा छन् रित्ता पेटहरू।
देश लकडाउनमा छ।

शरदचन्द्रकी चन्द्रमुखीझैं
भाग्यमानी छैनन्
बिन्दु, नीता, असिमा र लताहरू
कोही 'आशिक ' छैन देवदासझैं
एकलो देवदास उहिल्यै मरिसके
बस केही क्षणको भोक र भोग मात्र
केही क्षणको उद्वेग र उद्वेलन मात्र
धेरै भयो तर बाटाहरू सुनसान पस्रेका छन्
धेरै भयो पर्खाइहरू रित्ता फर्केका छन्
हाल देश लकडाउनमा छ।

सपनामा  हो कि लाग्दैछ उनीहरूलाई
हर साँझ सडकको ल्याम्प -पोस्टको दोछायाँमा
पर्खिरहनु कसैलाई,
लो-कट ब्लाउज र उत्ताउलो रातो लिपिस्टिक
बिजुलीको गुलुपमा पुतलीहरू झुम्मिनु...
रातभरिको जागरणपछि
दिनभरि सुत्नु
फेरि साँझ पर्खिनु......
हाल यो क्रम टुटेको छ
देश लकडाउनमा छ।

बेलाबेला आउँछ राहत
सरकारी - गैरसरकारी..
राहतभन्दा बढी भोका आँखाहरू आउँछन्
सहुलियतभन्दा बढी तिर्खाएका ओठहरू आउँछन्
एकलो कोठामा वस्त्रहरणभन्दा बीभत्स हुन्छ
दशौं आँखाहरू र ओठहरूबाट सार्वजनिक बलात्कार!
कर्मले ठगिएका यी अहल्याहरू
धर्मले ठगिएका यी द्रौपदीहरू
संघारमा उभिएर पर्खिरहेछन्
राहत होइन, सहुलियत होइन, दान होइन
रमाइलो एउटा सरकारी घोषणा-
" देशको लकडाउन भोलिदेखि हट्नेछ।"

कमला राई
मिरिक, दार्जिलिङ 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.