शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको ‘दिव्या’ मोह

६ वटा सरकारी संयन्त्रमा हुँदाहुँदै दिव्या सिंहलाई अब आइओएमको डिन बनाउने तयारी
मङ्गलबार, २७ जेठ २०७७, १३ : २८
मङ्गलबार, २७ जेठ २०७७

डाक्टर दिव्या सिंह यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक छिन् । त्यति मात्रै होइन, उनी स्वास्थ्यक्षेत्रको विभिन्न समितिहरुमा प्रमुख तथा सदस्य छिन् भने विभिन्न कार्यालयको समेत प्रमुख छिन् ।

प्रधानमन्त्रीको निजी चिकित्सक पद भनेको पनि राज्यमन्त्री सरहको पद हो । तर अब डाक्टर दिव्या सिंहलाई त्यो पदले मात्रै नपुगेर होला, चिकित्सा शिक्षा अध्ययन संस्थान अर्थात् आइओएमको डिन बनाउने तयारी भएको छ ।

जेठ २२ गते आइओएमका डीन डाक्टर जगदीश अग्रवालको अनिवार्य अवकाश भएपछि अहिले आइओएम डिनबिहीन बनेको छ । बिहीबारबाटै अग्रवालको समय सकिएपनि शुक्रबार मात्रै आइओएममा डिन सिफारिश गर्नका लागि तीन सदस्यीय सर्च कमिटी गठन गरियो ।

त्रिभुवन विश्वविद्यालयले शुक्रबार गठन गरेको तीन सदस्यीय समितिको संयोजक छन्, डाक्टर प्रेमराज ज्ञवाली जो अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्रको निर्देशक पनि हुन् । अर्का सदस्य रहेका प्रा.डा. सुवास आचार्य टिचिङ अस्पतालकै डाक्टर हुन् जो ग्रान्डी अस्पतालमा पनि काम गर्छन् । अर्का सदस्य प्रा.डा. जीवन शेरचन भने त्रिविकै अवकाश प्राप्त प्राध्यापक हुन् ।

त्रिविको कार्याविधि अनुसार चिकित्सा अध्ययन संस्थानमा डिन नियुक्तिका लागि छनोट समिति बनाउने र समितिले प्राध्यापकहरु मध्येबाट ३ जनालाई सिफारिश गर्ने उल्लेख छ । संस्थानमा डिन सिफारिश गर्दा वरिष्ठता, कार्यक्षमता र प्रशासनिक दक्षतालाई पनि हेर्ने गरिन्छ । समितिले सिफारिश गरेका व्यक्तिहरु मध्येबाट एकजनालाई त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले डिनमा नियुक्त गर्ने नियम छ । 

दिव्यालाई डिन बनाउने गरी कमिटी गठन

त्रिभुवन विश्वविद्यालयले हाल गठन गरेको कमिटिका सबै सदस्यसहरु डाक्टर दिव्या सिंह निकटका छन् । यसअघि उनीहरु सबै सँगै काम गरेका व्यक्तिहरु हुन् । यसअघि दिव्या सिंहकै जोडबलमा मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निर्देशकका रुपमा डा. प्रेम सिंह ज्ञवाली नियुक्त भएका थिए । ज्ञवाली ग्रान्डी अस्पतालका शेयर होल्डरसमेत हुन् । सिंहले नै ज्ञवालीलाई मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनाएपछि अहिले ज्ञवाली आँफै डीन सिफारिश समितिको संयोजक बनेका छन् । कमिटी गठन हुँदा पनि दिव्या निकटकै व्यक्तिहरु समावेश गरी बनाइएकाले दिव्यालाई नै डिन दिने तयारी गरिएको बुझिएको छ ।

स्वास्थ्य संयन्त्रमा दिव्याको हालीमुहाली, ६ वटा सरकारी निकायमा राज

अहिले सरकारको स्वास्थ्यसम्बन्धी संयन्त्रमा दिव्या सिंहकै हालीमुहाली भएको पाइन्छ । दिव्या यतिबेला ६ वटा सरकारी निकायमा प्रमुख तथा सदस्य रहेकी छिन् भने एकवटा निजी अस्पतालमा पनि अङ्ग प्रत्यारोपण विभागको प्रमुख छिन् ।

राज्यमन्त्री सरह प्रधानमन्त्रीको निजी चिकित्सक

डाक्टर दिव्या सिंह शाह अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनी अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहने गरेकी छिन् । उनको पद राज्यमन्त्री सरहको पद हो । तलब, भत्ता, प्रतिष्ठा र शक्तिका आधारमा उक्त पदलाई धेरै शक्तिशाली पद मानिन्छ ।

त्यसैगरी सिंह चिकित्सा शिक्षा आयोगको सदस्य पनि हुन् । त्रिवि शिक्षण अस्पतालका प्राध्यपक डाक्टर गोविन्द केसीको लामो अनसनपछि बनेको चिकित्सा शिक्षा आयोगमा सिंह सदस्य रहेकी छिन् । पहिले आफै आयोगको उपाध्यक्ष छनोट समितिमा रहेकी सिंह डाक्टर श्रीकृष्ण गिरीलाई उपाध्यक्ष बनाएपछि उनी आफै उक्त आयोगमा सदस्य बस्न गएकी हुन् । आफैले उपाध्यक्ष छनोट गरी त्यही आयोगमा सदस्य बस्नु जायज नभएपनि उनी भने समितिमै रहेकी छिन् । सिंहको यस्तो रवैयालाई धेरैले पदीय दुरुपयोग समेत भन्ने गरेका छन् ।

त्यसैगरी उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको मानव अङ्ग प्रत्यारोपण समन्वय समितिको संयोजक समेत रहेकी छिन् । मानव अङ्ग प्रत्यारोपणका सन्दर्भमा कानुन बनाउने देखि नियमन गर्ने निकाय स्वास्थ्य सेवा विभागको समन्वय प्रमुख भनेको पनि ज्यादै ठूलो पद हो । उनी उक्त पदमा संयोजक रहेकी छिन् ।

त्यसैगरी सिंह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको नेफ्रोलोजी तथा प्रत्यारोपण विभागकी प्रमुख हुन् । उनैको निर्देशनमा मानव अङ्गको प्रत्यारोपण हुने वा नहुने, कहिले हुने, कसरी हुने, को को सहभागी रहने भन्ने विषयको टुङ्गो लाग्छ । उनकै योजना र निर्देशनमा विभागको काम कारवाही अगाडि बढ्छ ।

सरकारी स्वास्थ्य संयन्त्रमा दिव्याको हालीमुहाली यतिमा मात्रै सिमित छैन । उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पनि सिनेटरका रुपमा कार्यरत छिन् । सिनेटको वैठक तथा योजना र नीति तर्जुमा तहमा उनको भूमिका रहेको हुन्छ ।

डाक्टर दिव्या सिंहको भूमिका सरकारी संयन्त्रमा मात्रै छैन । दिव्या ग्रान्डी अस्पतालको पनि मानव अङ्ग प्रत्यारोपण विभागकी प्रमुख हुन् । ग्रान्डी अस्पतालको नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागको प्रमुख रहेकी छिन् उनी । ग्रान्डी अस्पतालमा हुने मिर्गौला लगायतका मानव अङ्ग प्रत्यारोपणका लागि दिव्याको नै प्रमुख भूमिका रहने गरेको छ । दिव्यासँगै ग्रान्डी अस्पतालको मिर्गौला प्रत्यारोपण विभागका हालका डिन छनोट समितिका संयोजक डाक्टर प्रेम ज्ञवाली र सुवास आचार्य पनि संलग्न छन् । डाक्टर प्रेम ज्ञवाली ग्रान्डी अस्पतालका शेयरहोल्डर नै हुन् ।


यसअघि, प्रधानमन्त्रीको निजी चिकित्सक भएकै आधारमा प्रवल जनसेवाश्री पदकबाट सम्मान गरिएकोमा पनि सिंहको आलोचना भएको थियो ।


वरिष्ठलाई छाडेर कनिष्ठलाई डीन बनाउने तयारी

त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा अध्ययन संस्थानमा डाक्टर दिव्या सिंहभन्दा अगाडि करिब एक दर्जन प्राध्यपक डाक्टरहरु कार्यरत छन् । तर ती सबै सिनियर प्राध्यपकहरुलाई बाइपास गरेर दिव्यालाई डीन बनाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दबावमा दिव्यालाई डिन बनाउन खोजिएको संस्थानमा कार्यरत एक प्राध्यपकले रातोपाटीलाई बताए ।

चिकित्सा अध्ययन संस्थानको डिन वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने माग राख्दै प्रा.डा. गोविन्द केसीले पटक–पटक अनशन बस्दै त्यो थिति बसालेका थिए । यसअघिका डिन जगदीश अग्रवाल पनि वरिष्ठताकै आधारमा डिनमा नियुक्त भएका थिए । तर डाक्टर केसीको अनशन र प्रयासलाई यसपटक फेरि लत्याउने कोशिश भएको एक प्राध्यपकले बताए । उनले भने, ‘यो देश थितिमा चलेको देश होइन । जतिपटक यहाँ डिन नियुक्ति गरिएको छ, त्यतिपटक नै फरकफरक बाटो अपनाइएको छ । अब त सिनियरले पाउलान् भनेको फेरि पनि शक्तिको आडमा रहेकाहरुले नै पाउने अवस्था देखिएको छ । ‘राम्रा’ भन्दा पनि ‘हाम्रा’हरुले पाउने स्थिति बन्यो फेरि ।


‘डाक्टर दिव्याको सेवा अवधि हेर्ने हो भने उहाँभन्दा धेरै अगाडि रहनुभएका साथीहरुको सङ्ख्या धेरै छ । अब हुँदाहुँदा भगवान कोइराला भन्दा पनि सिनिएर बनाइन्छ भने जनताले कसरी बुझ्ने हामीले कसरी बुझ्ने ? उनलाई डिन बनाइयो भने उनको अन्डरमा रहेर प्रदीप वैद्य, आइपी सिंह, भगवान कोइरालाहरुले कसरी काम गर्ने ?’


चिकित्सा अध्ययन संस्थानमा वरिष्ठताका आधारमा ग्याष्ट्रो सर्जन प्राध्यपक डाक्टर प्रदीप वैद्य एक नम्बरको सूचीमा छन् । त्यसपछि डाक्टर वाइपी सिंह र डाक्टर सुशीलकुमार शिल्पकार रहेका छन् । वैद्य, सिंह र शिल्पकार तीन जना नै असोज २९, २०६५ मा प्राध्यपकमा बढुवा भएका हुन् । त्यसपछि प्राध्यपक हुनेहरुमा २०६५ कात्तिक १ गतेको बढुवाबाट प्रा.डा. दीपक महरा लगायतका टोली छन् भने २०६५ कै चैत १९ गतेको मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला र प्लाष्टिक सर्जन प्रा.डा. ईश्वरचन्द्र लोहनी प्राध्यपकमा बढुवा भएका थिए । वैद्य, सिंह र शिल्पकार प्राध्यपकमा बढुवा भएको दिन एउटै रहेको भएपनि वैद्य सिंह र शिल्पकारभन्दा पहिले नै सहायक प्राध्यपकमा नियुक्त भएका थिए । त्यसकारण पनि सिंह र शिल्पकारभन्दा अगाडि प्रा.डा प्रदीप वैद्य रहेका छन् ।

अहिले डिनको प्रतिष्पर्धामा खरो उत्रिएकी प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह भने २०७१ साल असोज २ गते मात्रै प्राध्यपकमा बढुवा भएकी थिइन् । त्यसै समयमा अर्थोपेडिक सर्जन प्रा.डा. रोहित पोखरेलपनि सिंहसँगै बढुवा भएका थिए । तर पनि सिंहले प्रधानमन्त्रीको आडमा त्रिभुवन विश्वविद्यालयमासमेत पहुँच राखी डिन बन्न लागेको एक प्राध्यापकले बताए । उनले भने, ‘डाक्टर दिव्याको सेवा अवधि हेर्ने हो भने उहाँभन्दा धेरै अगाडि रहनुभएका साथीहरुको सङ्ख्या धेरै छ । अब हुँदाहुँदा भगवान कोइराला भन्दा पनि सिनिएर बनाइन्छ भने जनताले कसरी बुझ्ने हामीले कसरी बुझ्ने ? उनलाई डिन बनाइयो भने उनको अन्डरमा रहेर प्रदीप वैद्य, आइपी सिंह, भगवान कोइरालाहरुले कसरी काम गर्ने ?’

यसअघि, प्रधानमन्त्रीको निजी चिकित्सक भएकै आधारमा प्रवल जनसेवाश्री पदकबाट सम्मान गरिएकोमा पनि सिंहको आलोचना भएको थियो ।

मैदानमै छु, तर हारगुहार गर्दिन : प्रा.डा प्रदीप वैद्य

चिकित्सा अध्ययन संस्थानमा पहिलो नम्बरमा रहेका प्रा.डा. प्रदीप वैद्यलाई रातोपाटीले सम्पर्क गर्दा यस विषयमा कुराकानी गर्नै नपर्ने बताए । तपाईंले दौड छाड्नुभएको हो भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘वरिष्ठताको आधारमा म पहिलो नम्बरमा रहेको छु, त्यो सत्य कसैले लुकाएर पनि लुक्दैन । तर पनि पहिलो नम्बरमा भएको आधारमै डिन बन्ने भन्ने कुरा छैन । प्रशासनिक क्षमता पनि हुनुपर्छ र सबैलाई समेटेर लैजानसक्ने क्षमता पनि चाहिन्छ । अहिले त्रिविले सर्च कमिटि बनाएर तीन जनाको नाम सिफारिश गर्न भनेको छ । अब सर्च कमिटीले कसलाई सिफारिश गर्छन् भन्ने कुरा मलाई थाहा हुँदैन । म वरिष्ठ प्राध्यापक र योग्य व्यक्ति हुँ, मैले मैदान छाडेको छैन । तर पनि मलाई डिन बनाइदेउ भन्दै म कसैलाई हारगुहार गर्न जादिनँ । जिम्मेवारी आउँदा पूरा गर्छु, नपाए पनि हारगुहार गर्दिनँ ।’

आवरण तस्विर : https://www.nayapage.com/archives/160972

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप