शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अछाम आत्मदाह घटनाको छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग

बुधबार, २८ जेठ २०७७, १६ : २५
बुधबार, २८ जेठ २०७७

काठमाडौं । राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  सांसद मृगेन्द्रकुमार सिंह यादवले अछामका सिद्धार्थ औजीले जागिरबाट हटाएपछि आत्मदाह गरेको घटनाको छाननिब गरी पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । रुपन्देहीमा ५ जनाको हत्या गरिएको घटनाको पनि छानबिन गरी दोषीमाथि कारवाही गर्न उनले आग्रह गरे । सांसद शेरबहादुर कुँवरले जागिरबाट निकालिएकै कारण शिद्धार्थले आत्मदह गरेको उल्लेख गर्दै अस्पताल सञ्चालकहरुलाई कारवाही गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न माग गरे ।

सांसद विमला राई पौडेलले रुपन्देहीमा भएको सामूहिक हत्या मानसिक रोगको उपज भएको बताइन् । देशमा मानसिक रोगीहरुको संख्या बढिरहेको उल्लेख गर्दै उनले मानसिक स्वास्थ्यका लागि ठाउँठाउँमा मनोसामाजिक चिकित्सकलाई खटाउन आग्रह गरिन् । सांसद राधेश्याम अधिकारीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपनि प्रभावकारी नभएको भन्दै शान्तिपूर्ण आन्दोलन गर्नेमाथि बल प्रयोग गरेको बताए । लकडाउनका कारण नागरिक र प्रहरीबीचको दुरी बढ्दै गएको उल्लेख गर्दै उनले कुनै पनि बेला नागरिकहरु लक डाउन तोड्न सक्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

सांसद रामनारायण विडारीले टिप्पर चालकका कारण सडक दुर्घटनाबाट मानवीय क्षति धेरै हुने गरेको उल्लेख गर्दै चेकजाँचमा कडाई गर्न आग्रह गरे । उनले भने, ‘टिप्परको ड्राइभर बस्ने अगाडी सिसा हुन्छ सिसामा झल्लरी टाँस्छ । अनि स्टिकर टाँस्छ । झिलि र मिली बनाएर दुलही सिंगारिएको जसरी जगननन् गरी हाँक्छ । दाँयाँ बायाँ ड्राइभरले देख्दैन् । गड्यम गड्याम मान्छे मार्दै जान्छ । सवारी जाँचपास गर्ने अड्डा कहाँ गयो ? त्यसले के हेर्यो ? प्रहरीले हेर्यो ? किन त्यस्ता प्रकारका कामलाई रोक्न सकेन ? यसमा सरकारको ध्यान जावस् ।’

उनले त्रिभुवन विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थाका प्राध्यापकहरुले तलब नपाएकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए । सांसद शारदादेवी भट्टले सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतबाट आउनेको संख्या बढिरहेको उल्लेख गर्दै त्यहाँ कोरोनाको जोखिम बढेको बताइन् । क्वारेन्टाइनमा नाममा सबै विद्यालयहरु भरिएपनि व्यवस्थित नभएको उनले बताइन् । आवश्यक स्वास्थ्य सामग्री र राहतको उचित व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरिन् ।  सांसद हरिराम चौधरीले सुदूरपश्चिम प्रदेशमा ६० हजार बढी क्वारेन्टाइनमा रहेको उल्लेख गर्दै पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरे । क्वारेन्टाइनमा ठूलो संख्यामा मान्छेहरु हुँदा राज्यलाई भार परेको भन्दै उनले प्रदेशका अन्य जिल्लामा परीक्षण ल्याव स्थापना गरी नीजि क्षेत्रबाट पनि परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप