शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारत र तेस्रो मुलुकबाट आएकाहरुबाट कोरोना संक्रमण बढ्यो’

बुधबार, २८ जेठ २०७७, १६ : ३५
बुधबार, २८ जेठ २०७७

काठमाडौं । राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएका कारण संक्रमण फैलिएको बताए । उनले भने, ‘भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थ्यो कि ?’ युरोप अमेरिकाजस्तो देशहरुले यसको व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै उनले नेपाल सरकारले जेनतेन भएर पनि व्यवस्थापन गरिरहेको बताए । विश्वका अधिकांश मुलुकहरुमा परीक्षण किटको अभाव रहेको, विकसित मुलुकहरुमा समेत भेन्टिलेटर, आइसियु र आइसोलेसनको अभाव रहेको उल्लेख गर्दै उनले सरकारको खुलेर बचाउ गरे । कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको समेत उनले बताए ।

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज नगर्न आग्रह गरेका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले कोरोनाविरुद्ध पूर्ण रुपमा असफल भएको सरकारले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज गर्न नसुहाउने बताए । नेपाली काँग्रेस नेतृत्वको सरकारले २०४८ सालमा १२ अर्ब राजस्व उठाएको स्मरण गर्दै उनले त्यतिबेला सरकारले बैंक र शैक्षिक संस्था खोल्ने वातावरण बनाएका कारण अहिलेको अवस्थामा पुगिएको बताए । आरडिटी परीक्षण आवश्यक नभएकोले पीसीआर परीक्षण गर्न सरकारलाई सचेत गराउँदा विरोध गरेको नसम्झिन उनले आग्रह गरे ।

जनताले महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब मागेको उल्लेख गर्दै उनले सरकारको ‘पर्फोमेन्स’ सन्तोषजनक नभएको बताए । प्रधानमन्त्री आफु लकडाउनमा बसेका कारण सम्पूर्ण देशलाई लकडाउनमा राखेको उनले आरोप लगाए । उनले भने, ‘सरकारको पर्फोमेन्स छैन् । प्रधानमन्त्री बिरामी हुनुभयो । लकडाउनमा पर्नुभयो । सबै जनतालाई लकडाउनमा राख्नुभयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप