शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठक बोलाउन आलटाल : के चाहन्छन् ओली ?

तत्काल बैठक नबोलाइए विकल्प खोज्न बाध्य हुने खनालको चेतावनी
बिहीबार, २९ जेठ २०७७, १४ : १४
बिहीबार, २९ जेठ २०७७

काठमाडौं । एमसीसीबारे छलफल गर्न बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन आलटाल गरेको भन्दै असन्तुष्टि जनाएका छन् । 

मुलुकका जल्दाबल्दा धेरै विषयमा छलफल गर्नुपर्ने भएपनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैठक बोलाउन आलटाल गरेपछि शीर्ष नेताहरु नै ओलीको व्यवहारबाट चिढिन पुगेका छन् ।

सचिवालय मात्र होइन ओलीकै अनिच्छाका कारण लामो समयदेखि स्थायी समिति बैठक समेत बस्न सकेको छैन । स्थायी समितिका सदस्यहरुले विधानअनुसार बैठक बोलाउन माग गरेको डेढ महिना वितिसकेपनि ओलीले त्यसतर्फ कुनै चासो नदेखाएको नेताहरुको गुनासो छ । 

‘उहाँले (अध्यक्ष केपी शर्मा ओलीले)  बैठक बोलाउन नचाहेर बैठक बस्न नसकेको हो । तर किन बैठक बोलाउन नचाहेको हो त्यो कुरा बुझ्न सकेको छैन’, वरिष्ठ नेता झलनाथ खनालले रातोपाटीसँग भने, ‘अघिल्लो बैठकमा अविलम्ब बैठक बसेर छलफल गर्ने भनिएको हो । तर अहिलेसम्म कुनै टुंगो छैन ।’

२० जना स्थायी समिति सदस्यहरुले गत बैशाख १० गते विधान अनुसार बैठक बोलाउन माग गर्दै अध्यक्षलाई पत्र नै लेखेका थिए । तर अहिलेसम्म पनि बैठक बस्न सकेको छैन  ।

यता, गत जेठ १७ गते शनिबार बसेको सो पार्टीको सचिवालय बैठकमा दुई अध्यक्षबीचको छललफलपछि तत्काल अर्को बैठक बोलाएर एमसीसीका विषयमा विस्तृत छलफल गर्ने सहमति भएको थियो । यसबीचमा बैठक बस्ने भनेर सचिवालय सदस्यहरुलाई खवर गरिएपनि उक्त बैठक बीचमै स्थगित गरिएको थियो । 

बैठक स्थगित गर्दा सामान्यतया अर्को दिनको मिति तय गरेर स्थगित गर्नुपर्ने भएपनि त्यसो नगरी पूर्वनिर्धारित बैठकहरु समेत स्थगित गर्दै आएको नेताहरुको भनाइ छ । 

जेठ १७ गतेको सहमतिपछि एक सातासम्म पनि ओलीले बैठक नबोलाएपछि जेठ २४ गते प्रचण्ड बालुवाटार पुुगेर पुनः बैठक बोलाउन आग्रह गरेका थिए । 

प्रचण्डको आग्रहपछि जेठ २७ गते ओली बैठक बोलाउन सहमत भएका थिए । तर, आफ्नो कार्यव्यस्तताले समय नभएको भन्दै उक्त दिनको बैठक पनि ओलीले अन्तिम अवस्थामा स्थगित गरेका थिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलेजेठ २७ गते मंगलबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएपछि पुनः अर्को बैठकबारे कुनै जानकारी नभएको बताए । 

उनले उठेका विषयहरुमा छलफल गर्न छिटो बैठक बोलाउनुपर्ने भन्दै अलमल, आलटाल गर्न नहुने बताए । ‘पार्टीले सचिवालय र स्थायी कमिटिको बैठक पनि छिटो भन्दा छिटो बोलाएर सवै विषयहरुमा निर्णय गर्नुपर्यो’, प्रवक्ता श्रेष्ठको भनाइ छ । 

वरिष्ठ नेता झलनाथ खनालले अव पनि बैठक नबोलाइए आफूहरु विकल्प खोज्न बाध्य हुने बताए । ‘यसरी हुँदैन, पार्टी पनि चल्दैन । बैठक नै नबस्ने, छलफल नै नगर्ने पनि कम्युनिस्ट पार्टी हुन्छ ?’, वरिष्ठ नेता खनालको प्रश्न छ । बैठक नै नबसी र छलफल नै नगरी नेकपा अहिलेसम्म चलेकै छ नि भन्ने रातोपाटीको जिज्ञासामा खनालले भने, ‘हामी के गर्ने भनेर छलफल गरिरहेका छौ ।’

बहुमत पुर्‍याउने ओली चाहाना 

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली एमसीसी अनुमोदन गर्नुपर्ने अमेरिकाको दवावमा छन् । एमसीसी संसदबाट अनुमोदन गर्नुअघि पार्टीमा एकमत बनाउन पाए सजिलो हुने उनको बुझाइ छ । तर केन्द्रीय समिति र स्थायी समितिमा समेत चर्को विरोध भएको एमसीसीबारे सचिवालयका बहुमत सदस्य समेत संशोधनविना स्वीकार गर्न नहुने पक्षमा छन् ।

 सोही कारण ओलीले बैठक राख्न आलटाल गर्दै नेताहरु आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । अहिले नेकपाको नौ सदस्यीय सचिवालयमा केपी ओली अल्पमतमा छन् । उनको पक्षमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलमात्रै छन् भने प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र  नारायणकाजी श्रेष्ठ एकातर्फ छन् । 

अर्का सदस्य रामबहादुर थापा बादल भने कतैपनि नखुलेकाले ओलीले अन्तिममा उनी आफ्नै पक्षमा आउँछन् भन्ने सोचेका छन् । त्यही भएर ओलीले एमसीसीका बारेमा छलफल गर्नुअघि बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास गरिरहेका छन् । गत सातामात्रै ओलीले गौतमलाई बालुवाटार बोलाए मलाई सहयोग गर्नुस् भनेर साथ मागेका थिए । तर गौतमले एमसीसीको सवालमा यही अवस्थामा साथ दिन नसक्ने भन्दै बालुवाटारबाट हिँडेका थिए । 
दाहाल, नेपाल र गौतमको २ घण्टा छलफल


गत जेठ २७ गतेका लागि तय भएको सचिवालय बैठक ओलीले अचानक स्थगित गरेपछि प्रचण्ड निवास खुमलटारमा दाहालसहित माधवकुमार नेपाल र बामदेव गौतमबीच झण्डै २ घण्टा छलफल भयो । उक्त छलफलमा ओलीले यसैगरी बैठक छल्दै गए कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । सो छलफलमा तीन नेताबीच ओलीको पुरानो बानी व्यहोराका बारेमा समेत चर्चा भएको थियो । 

आफूअनुकुल नभएसम्म बैठक नबोलाउने ओलीको पुरानै बानी भएको भन्दै त्यसका लागि दवाव दिनुको विकल्प नभएकोमा नेताहरु सहमत भएका थिए । उनीहरुबीच एमसीसीबारे पार्टीमा यति धेरै विवाद भइरहेका बेला संशोधन नगरी स्वीकार गर्न नहुनेमा एकमत समेत बनेको स्रोतको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप