बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पैसा तिर्न सक्नेलाई मात्र उद्धारले बनायो खुसी, खाडी र मलेसियाबाट नेपाल आउन चर्को भाडादर (सूचीसहित)

समस्यामा श्रमिक, ओमान दूतावासले घटायो भाडा
शुक्रबार, ३० जेठ २०७७, १४ : २१
शुक्रबार, ३० जेठ २०७७

 वैदेशिक रोजगारी तथा अन्य विविध कारणले विदेशमा पुगेका ठूलो संख्याका नेपाली अहिले स्वदेश फर्किने उपायको खोजीमा रहेका छन् । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस र त्यसपछिको लकडानका कारण रोजगारी गुमाएर तथा उडान नहुँदा विदेशमै अड्किन पुगेका उनीहरु समस्यामा परेका हुन् । समस्यामा परेका त्यस्ता नागरिकको गुनासोलाई सम्बोधन गर्नेगरी सरकारले पहिलो चरणमा २४ हजार हाराहारीका नेपाली स्वदेश फर्काउने योजना बनाएको छ ।

जसअनुसार धमाधम नेपालीको उद्दारको नाममा बुकिङ सुरु गरिएपनि चर्को भाडादर कायम भएको भन्दै विरोध सुरु हुन थालेको छ । 

विशेषगरी फर्किन चाहने खाडी मुलुक र मलेसियामा कार्यरत श्रमिकमध्ये धेरैले रोजगारी गुमाएको अवस्थामा त्यतिधेरै रकम खर्च गर्न सक्ने अवस्था नै नभएको र उद्धारको नाममा चर्को भाडादर कायम गरेर व्यापारलाई प्रसय दिइएको भन्दै आलोचना भएको हो । 

सरकारी निर्णययता ५ सय बढी नेपाली नेपाल पनि आइसकेका छन् तर भाडादरको विषयमा आलोचनाको स्वर भने बढ्दो क्रममा रहेको छ । 

हालसम्म सार्वजनिक विवरणअनुसार विदेशमा रहेका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्ने भनिएको छ। 

नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालयन एयरलाइन्सको न्यारो बडी जहाज अलपत्र नेपालीहरुको उद्धारमा परिचालित हुने संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

मलेसिया र खाडी मुलुकसहित अन्य ३० देशबाट नेपालीलाई  फर्काउन ६७ वटा उडान हुने भएको छ ।त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालयन एयरलाइन्स १९ र विदेशी जहाजले २४ वटा उडान भर्नेछन् । सोहीअनुसार भाडादर सार्वजनिक गरेर बुकिङ थालिएको छ । 

कुन देशबाट कहिले उडान
कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई  फर्काउन  सरकारले असार २,५, ७ र १० गते उडान हुने तालिका तय गरेको छ। मलेसियाबाट असार १, ४, ६ र ७ गते लागि उडान तालिका तय गरिएको छ । 

यस्तै, असार २, ३, ६ र ८ गते कतारमा समस्यामा परेका नेपालीहरुलाई पहिलो चरणमा स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ। साउदीबाट असार १, ४, ५ र १० गते फर्काउने सरकारको तयारी छ। यस्तै  युएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २,४, ६ र ९ गते उडान हुनेछ।

यसैगरी ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १, ४ र ७ गते हुने भएको छ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश फर्काइने भएको छ ।

भाडा महँगो, समस्यामा श्रमिक
सरकारले मलेसिया र खाडी मुलुकबाट प्राथमिकताको आधारमा नेपाल ल्याउने नेपालीहरुले स्वदेश फर्कदा आफैले टिकट काट्नु पर्नेछ । सरकारले उद्धार गर्नका लागि सूची तय गरेको  मलेसिया र खाडी मुलुकबाट स्वदेश फर्कनको लागि हुने चार्टर्ड उडानको भाडादर पनि तोकेको छ ।

साउदीको दमामबाट फर्कदा नेपालीले ५ सय ९०, रियादबाट ६ सय ३०,जेद्धाबाट ७ सय ७० अमेरिकी डलर भाडा तिर्न पर्नेछ ।

यस्तै युएईको दुबई र आबुधावीबाट फर्कने नेपालीहरुले ५ सय अमेरिकी डलर तिर्नुपर्ने छ। यस्तै ओमानबाट ५ सय १० अमेरिकी डलर, मलेसियाबाट ५ सय २० अमेरिकी डलर, कतारको दोहाबाट ५ सय ४५ अमेरिकी डलर, बहराइनबाट ५ सय ४५ अमेरिकी डलर र कुवेतबाट स्वदेश फर्कने नेपालीका लागि ५ सय ७० अमेरिकी डलर भाडा तोकिएको छ । 

यसैगरी मलेसिया स्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरिसकेको छ। दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरणमा  टिकट काट्न सक्ने कामदारहरुको नामावली सार्वजनिक गरेको हो । दूतावासले सूचीमा परेकाहरुले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट लिन नसक्ने स्वदेश फर्कन नसक्ने बताएको छ ।

यस्तै युएईस्थित नेपाली दूतावासले कोभिड–१९ को महामारीले सिर्जित परिस्थितिका कारण युएईबाट नेपाल जान नपाएका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल पठाउने बताएको छ । 
निकट भविष्य मै चार्टर उडान मार्फत नेपाल फर्काउने अभियान अन्तर्गत ४ महिना भन्दा बढी समय भएका गर्भवती महिला, कोरोनाबाहेक गम्भीर प्रकारका बिरामी (क्यान्सर, मिर्गौला रोगी डाइलोसिस गरिरहेका,अल्सर, मुटु रोगी) आमा बुवा, छोराछोरी, श्रीमान श्रीमती गुमाएका नागरिक दूतावासको प्राथमिकतामा पर्नेछन् । त्यसका लागि आवश्यक प्रमाण वा कागजात दूतावासमा पेस गर्नुपर्नेछ । 

दूतावासले हवाई चार्टर तालिका सार्वजनिक गर्दै असारको २ र ४ गते नेपाल एयरलाइन्समार्फत दुवई र असार ६ र ९ हिमालयन एयरलाइन्स मार्फत  आबुधावीबाट उडान हुने जनाएको छ।

युएईबाट प्राथमिकतामा परेका नेपालीहरुलाई टिकटको लागि समन्धित एयरलाइन्सको कार्यालय वा तोकिएको ट्राभल्स एजेन्सीसँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ।

दूतावासले स्वदेश फर्कनु अघि कोभिड जाँच गरिनु पर्ने र पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीले तोकिएको शुल्कमा टिकट खरिद गर्न नसके दोश्रो प्राथमिकतामा परेको ब्याव्यक्ति फर्कन सक्ने बताएको छ।
तर श्रमिकहरुले भाडा महँगो भएको भन्दै उद्धारको नाममा व्यापार भएको आरोप लगाएका छन् । श्रमिकहरुले सामाजिक सञ्जालमार्फत उद्धारको नाममा बढी शुल्क असुलेर थप पीडा दिएको बताएका छन् । 
श्रमिकहरुको समस्यालाई नजिकबाट नियालिरहेका एनआरएनए मलेसियाका अध्यक्ष  हरि भट्टराईले समस्यामा परेका नेपालीलाई यो व्यवस्थाले थप समस्या भएको बताए ।

 सरकारले अलपत्र श्रमिकहरुलाई उद्धार गरेको हो या व्यापार गरेको हो भन्नेखालका चौतर्फी गुनासो आएको भन्दै यो व्यवस्थाले  रोजगार  गुमाएका श्रमिकहरु, बिमारीहरु  कसरी नेपाल फर्किनु सक्छन् भन्ने सवाल खडा हुने बताए ।

उनले भने, उनले भने, ‘सरकारको योजना अनुसार मलेसियाबाट उद्धार हुने एक श्रमिक बराबर सबै शीर्षकमा गरी कम्तीमा पनि १ लाख १७ हजार खर्च गर्नसक्ने मात्रै नेपाल फर्कन सक्ने देखियो ।  यसमा एनआरएनए मलेसियाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारी निर्णयले नेपाल सरकारले मलेसियामा रहेका नेपालीलाई उद्दार गरेको हो वा व्यापार गरेको भन्ने प्रश्न खडा भएको छ ।’
उनले भनेजस्तै हवाइ टिकटबाहेक कोरोना  टेस्ट,  नेपाल सरकारले क्वारेन्टाइनको लागि तोकेको साधारण होटलका लागि खर्च, यातायात लगायतमा पनि उल्लेख्य खर्च हुने हुँदा साँच्चै समस्यामा परेकालाई उत्साहित बनाउन सक्ने अवस्था छैन । 

ओमान दूतावासले घटायो भाडा
ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेको हवाई भाडादर मँहगो भएको भन्दै सस्तो नेपाली उडाउने भएको छ । 
ओमनस्थित नेपाली दूतावासको उच्च स्रोतका अनुसार सरकारले तोकेको ५ सय १० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ धेरै महंगो भएको पीडितहरुले गुनासो गरेकाले २९९ अमेरिकी डलर अर्थात करिब ३४ हजार नेपाली  रुपैयाँमा नै नेपाली फर्काउन लागिएको छ । त्यसका लागि दसलाम एयरसँग सहमति गरिसकेको र असार १ गते १८० नेपालीहरु स्वदेश फर्किने दूतावासले जनाएको छ । 

हालसम्म कहाँ-कहाँबाट फर्किए नेपाली ?
चर्को भाडाका बीचपनि हालसम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपाली नेपाल फर्किन सफल भएका छन् । जसमध्ये कुवेतबाट फर्किएका २९९ नेपाली भने केवेत सरकारले नै व्यवस्था गरेको जहाजमा नेपाल आएका हुन् । 


गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार  कुवेत सरकारको सहयोगमा बिहीबार २९९ जना नेपाली स्वदेश फर्किएका हुन् ।  पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप  २ हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।  
यस्तै म्यान्मारबाट आएकाहरुलाई त्यहाँको सैनिक जहाजले नेपाल ल्याइदिएको थियो । म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किएका थिए । 
यसैगरी खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७  जना गरि ५ सय ११ जना नेपाल आएका छन् । 
विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ ।

सरकारले मलेसिया र खाडी मुलुकबाट मात्रै पहिलो चरणमा १७ हजार ७ सय ७४  नेपालीलाई ल्याउने सूची तय गरेको छ। परराष्ट्र मन्त्रालयले कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पहिलो चरणमा साउदीबाट ३ हजार ३सय १२, युएईबाट ४ सय १० बहराइनबाट ३ सय ७२ कतारबाट ३ हजार ६ हजार ६ सय ८ मलेसियाबाट ६ हजार ४ सय २५ , ओमानबाट ६ सय ५६, कुवेतबाट २ हजार ९ सय ९१ जना नेपालीको स्वदेश फिर्तीको सूची पठाएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप