बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

आइतबार, ३२ जेठ २०७७, १९ : ०३
आइतबार, ३२ जेठ २०७७

जनकपुर । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको छ ।  प्रदेश प्रमुख तिलक परियारले जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई पारित गरियोस् भन्दै मुख्यमन्त्री लालबाबु राउतले प्रस्ताव गरेकोमा उक्त प्रस्तावलाई बहुमतले पारित गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा र नेपाली काँग्रेसका केही प्रदेशसभा सदस्यहरुले निति तथा कार्यक्रममा संशोधन गर्नका लागि प्रस्ताव पेश गरेका थिए । प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलिप कुमार साह, शिवचन्द्र चौधरी, गोविन्द बहादुर न्यौपाने, रुबी कुमारी कर्ण, नरेश कुमार यादव, सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्ग लगायतकाले संशोधन प्रस्ताव पेश गरेपनि बहुमतले अस्विकृत भएको थियो । 

उनीहरुको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा सभामुख सरोज कुमार यादवले गरेका थिए । निति तथा कार्यक्रम प्रदेश दुईको प्रदेशसभाबाट पारित भएसँगै बजेट ल्याउने बाटो प्रदेश सरकारको खुलेको हो ।

प्रदेश नम्बर २ कोे सरकारले सोमबार बेलुका ५ बजे बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि २९ अर्बको बजेट ल्याउन लागेको हो । यस अघि आइतबार नीति तथा कार्यक्रममाथी भएको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाब दिँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्री राउतको भनाइ थियो । यस प्रदेशलाई नमूना प्रदेश बनाउनका लागि उनले यसका लागि सबैसँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे ।

नीति तथा कार्यक्रम पारित गराउन मुख्यमन्त्रीलाई तनाव

गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी नभएपछि सत्तारुढ दलकै अधिकांश प्रदेशसभा सदस्यहरुका साथै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु नीति तथा कार्यक्रम पारित हुन नदिने पक्षमा थिए । सोही कारण गत बुधवार नै पारित हुने कार्यसुचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारुढ दलका सांसदहरु नै  अनुपस्थित रहँदै आएका थिए ।

तर आइतबार अन्तिम दिन निति तथा कार्यक्रम पारीत नभएको भए सरकार नैतिक संकटमा पर्ने थियो । प्रदेश नम्बर २ सरकारको नीति तथा कार्यक्रम पास हुन नदिन सकृय रहेका प्रदेशसभा सदस्यहरुलाई फकाउन मुख्यमन्त्री लालबाबु राउतलाई निकै तनाव भएको थियो ।

उनले प्रदेशसभा सदस्यहरुलाई फकाउनका लागि भुक्तानी नभए आफू मुख्यमन्त्री पदबाट राजिनामा दिने सम्मको आश्वासन दिएको श्रोतले जनाएको छ । असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई फकाउन मुख्यमन्त्री राउतले फोनमै राजिनामा दिने प्रतिबद्धता जनाएपछि आइतवार नीति तथा कार्यक्रम पारित गराउन उनकै दलका प्रदेशसभा सदस्यहरु सहमत देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप