बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के आफ्नो सन्तानलाई आफ्नै कारणले त बिगारिरहनु भएको छैन ?

सोमबार, ०१ असार २०७७, १० : ३५
सोमबार, ०१ असार २०७७

बच्चा हुर्काउनु सजिलो काम होइन । हरेक आमा बुवाले चाहन्छन् कि उनीहरुले आफ्नो सन्तानको हरेक चाहना पूरा गर्न सकून्, उनीहरुलाई खुसी राख्न सकून् र जीवनमा एक सफल व्यक्तिको रुपमा विकसित गर्न सकून् । तसर्थ अन्य व्यक्तिको तुलनामा बालबालिकालाई उनका आमा–बुवाले बढी नै माया गरेका हुन्छन् । धेरैजसो आमा बुवाको जीवनको उद्देश्य आफ्नो सन्तानलाई ‘परफेक्ट लाइफ’ दिनु हो । तर के तपाईंलाई थाहा छ ? तपाईंको त्यहि मायाले बच्चा पुल्पुलिन र बिग्रन सक्छन् । हो, सन्तानलाई राम्रो जीवन, सुख, सुविधा र खुसी दिने चक्करमा थुप्रै पटक आमाबुवाले आफ्नो बच्चालाई बिगारिरहेका हुन्छन् । बाल्यकालमा त बच्चाले गरेका गल्ती हामीलाई राम्रो लाग्छ त लामो समयसम्म त्यहि बानी बच्चाको विकासमा बाधक बन्ने गर्छ र उनीहरुलाई सामान्य जीवन बाँच्न समस्या हुनेगर्छ । आउनुहोस्, आज हामी आमाबुवाले गर्ने पाँच यस्ता गल्तीबारे जानकारी लिऔं जसका कारण बालबालिका बिग्रने गर्छन् ।

हरेक पटक बच्चाको तारिफ गर्नुः

बालबालिकाको तारिफ गर्नु राम्रो कुरा हो । यसमार्फत् बालबालिकाले प्रेरणा पाउँछन् र अर्कोपटक अझ राम्रो गर्ने प्रयास गर्छन् । तर जतिबेला पनि सन्तानको तरिफ गर्नु उनीहरुको मानसिक विकासका लागि राम्रो होइन, विशेषगरी झुटो तारिफ गर्नु । यसो गर्दा बच्चाहरु चुनौती सामना गर्न हिच्किचाउनेछन् । बच्चाहरुले गल्ती गर्दा उनीहरुलाई गाली गर्नु र सम्झाउन त्यति नै जरुरी छ जतिबेला उनीहरुलाई राम्रो काम गर्दा तारिफ गरिन्छ । तसर्थ, तपाईंले कहिले पनि आफ्नो सन्तानलाई भ्रममा राख्नु हुँदैन ।

उनीहरुले नभनिकनै मद्दतका लागि अग्रसर हुनुः

समस्या हुँदा, मुश्किल अवस्थामा र आवश्यक परेका बेला आफ्नो सन्तानलाई मद्दत गर्नु हरेक आमा–बुवाको कर्तव्य हो । तर हरेक स–सानो कुरामा उनीहरुलाई मद्दत गर्न अग्रसर हुनु वा मद्दत नमागिकनै सहयोग गर्न उत्साहित हुनु बच्चाको लागि राम्रो होइन । यसो गर्दा बच्चा तपाईंमा सधैं निर्भर हुने गर्छन् । जबकी एक राम्रो अभिभावकको रुपमा तपाईंको कर्तव्य यो हो कि तपाईं आफ्ना सन्तानलाई चुनौतीको सामना गर्न आफैं सिकाउनुहोस् । आमा–बुवाले आफ्नो बच्चाले कुनै पनि दुःख–कष्ट भोग्न नपरोस् भनेर सोच्छन् तर स–साना समस्यासँग जुधेर नै बच्चा बलियो इच्छाशक्तियुक्त र स्वतन्त्र रुपमा बाँच्न योग्य बन्न सक्छन् । तसर्थ, सम्भव भएसम्म बच्चालाई आफैं समस्या हल गर्नका लागि मौका दिनुपर्छ ।

बच्चाले जिद्दी गरेको हरेक कुरा पूरा गर्नः

हरेक आमा–बुवा आफ्नो बच्चाको हरेक इच्छा पूरा गर्न चाहन्छन् । तर इच्छा र जिद्दीपनको अन्तर बुझ्न अत्यावश्यक छ । बच्चालाई अत्यधिक उपहार दिनु, उनीहरुले जे मागेका छन्, त्यो पूरा गर्नु र उनीहरुको जिद्दीपनलाई शिरोपर गर्नु बच्चाको व्यवहारिक विकासका लागि राम्रो होइन । वास्तवमा, बच्चाको हरेक जिद्दीलाई पूरा गर्दा उनीहरुले सामानहरुको महत्व बुझ्न सक्दैनन् । जबकि जीवनमा हरेक स–साना कुरा र व्यक्तिको महत्व हुन्छ । आमा–बुवाले बच्चालाई उनीहरुका लागि के कुरा महत्वपूर्ण छ भनेर सिकाउन आवश्यक छ । यसैगरी सम्बन्ध, पैसा, वस्तु र खानाको महत्व उनीहरुलाई सिकाउनुहोस् ।

सन्तानबाट केही कुराको आशा नराख्नुः

आमा–बुवाले जे जति गर्छन् त्यो बच्चाका लागि गर्छन् र बच्चाले जे गरेपनि आमा–बुवा खुसी नै हुन्छन् । तर थुप्रै पटक आमा–बुवाको अत्यधिक प्रेमका कारण हरेक कुरामा स्वतन्त्रता दिँदा,  बच्चामाथि निगरानी नगर्दा, उनीहरुलाई उनीहरुको अवस्थामा नै छोडिदिँदा बालबालिकाको विकासमा नकारात्मक असर पुर्याउँछ । वास्तवमा बालबालिकामाथि निगरानी नराख्दा उनीहरुको व्यावहारिक र मानसिक विकासमा बाधा निम्तिने गर्छ ।

सन्तानका लागि हदभन्दा बढि चिन्तित हुनुः

हरेक आमा–बुवाले आफ्नो सन्तानलाई असाध्यै माया गर्छन् । तर बच्चालाई अत्यधिक माया गर्नु, हरेक समय उनीहरुका लागि चिन्तित हुनु पनि सही होइन । तपाईंको बच्चाका लागि तपाईंको कडा व्यवहार, प्रेम, रिस, गाली सबैकुरा आवश्यक छ । वास्तवमा, विभिन्न प्रकारको हाउभाउमार्फत् तपाईंले आफ्नो सन्तानलाई उनीहरुको जीवनमा समावेश हुने व्यक्तिको मनोभावप्रति कस्तो प्रतिक्रिया दिने भन्ने कुरा सिकाउँदै यसका लागि तयार बनाउनुपर्छ । तसर्थ, सन्तानलाई असाध्यै पुल्पुलाउनु वा उनीहरुका लागि सधैं चिन्तित भइरहनु पनि सही होइन ।

स्रोतः ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप