शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कार्यालय खुले, संक्रमणको जोखिमका बीच सेवाग्राहीलाई काम लिन सास्ती (भिडियो)

मङ्गलबार, ०२ असार २०७७, १७ : ४७
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं । कार्यालय प्रवेश गर्ने गेटमा थर्मल गन, त्यसपछि साबुन पानीले हात धुने र स्यानिटाइजरको व्यवस्था । कर्मचारीको शरीरमा पिपिई, मास्क तथा अनुहार ढाक्ने कभर । लकडाउन खकुलो भएपछि सञ्चालनमा आएका सरकारी कार्यालयको फेरिएको दृश्य हो यो ।  

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको जारी लकडाउन खुकुलो बनाएसँगै यतिबेला देशभरका सरकारी कार्यालय आंशिक रुपमा सञ्चालन हुन थालेका छन् । सरकारी कार्यालय खुल्ने निर्णय थाहा पाएपछि मंगलबार धादिङका केशव गजुरेल यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी लाइसेन्स लिनका लागि पुगेका थिए । उनले अघिल्लो वर्ष लाइसेन्स नविकरणका लागि निवेदन दिएका थिए । 

सवारी लाइसेन्सका लागि पुल्चोकबाट रितेश मर्हजन पनि विभागको कार्यालयमा लाइनमा बसेका थिए । उनले पनि १ वर्षअघि लाइसेन्स परीक्षा पास गरेका थिए ।  सरकारी कर्मचारी समेत रहेका गोपाल खकुरेल उदयपुरबाट काठमाडौं आएका थिए । मोबाइलमा लाइसेन्स प्रिन्ट भएको भनेर १ महिना अघि नै एसएमएस आएपनि कार्यालयमा आउँदा लाइसेन्स नपाएको गुनासो गरे । १ वर्ष अगाडि नवीकरण गर्न दिएपनि कर्मचारीको ढिलासुस्तीका कारण हैरानी पाएको उनको गुनासो थियो । यता १५ महिना अगाडि लाइसेन्सन नविकरणका लागि निदेदन दिएपनि अझै  नआएको केशव बजगाईले सुनाए । 

लकडाउनपछि खुलेको यातायात ब्यवस्थापन कार्यालयमा यतिबेला प्रिन्ट भएर बसेको लाइसेन्स वितरणको काम मात्र भएको छ । कर्मचारीले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिइरहेको कार्यालय प्रमुख शम्बरबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए । 

खुकुलो पारिएको लकडाउनमा मोटरसाइकल र निजी सवारी जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बर मात्र सञ्चालन हुने व्यवस्थाका कारण कर्मचारी आउन समस्या परेको बताए । यस्तै केही कर्मचारी काठमाडौं बाहिर फसेका छन् ।

अहिले यातायात व्यवस्थापन कार्यालयमा ६० प्रतिशत हाराहारी कर्मचारी मात्र आउन थालेका छन् । एक वर्ष अगाडि देखिएको थुप्रिएको डेढ लाख लाइसेन्स वितरण भइरहेको छ । सोमबार २ सय ८० वितरण भएको उनले जानकारी दिए ।  कार्यालयले राजस्व उठाउने काम भने सुरु भएको छैन । केही दिनपछि छलफल गरेर राजस्व लिने काम हुने उनले बताए ।

 लकडाउनको बेलामा जरिवाना मिनाहा गर्ने कि के गर्ने भन्ने बारेमा छलफल भइरहेको र त्यसका लागि सफ्टवेयरमा पनि त्यसको व्यवस्था गर्नुपर्ने कार्यालय प्रमुख कार्कीको भनाई छ ।   यता सबै सेवाग्राहीको उच्च भीडभाड हुने मालपोत कार्यालय पनि सुनसान जस्तै छ । कार्यालयको गेट तथा कार्यलयको डेस्कमा बस्ने कर्मचारीले पिपिई र मास्क लगाएका छन् । 

कार्यालयले बारअनुसार दिनमा एउटा नगरपालिकाको मात्र काम गर्ने नीति बनाएको छ । आइतबार महानगरपालिकाका ३ वडा, सोमबार नागार्जुन नगरपालिका, मंगलबार दक्षिणकाली नगरपालिका, बुधवार कीर्तिपुर नगरपालिका र बिहिबार चन्द्रागिरी नगरपालिकाको काम गर्ने तालिका बनाएर काम सुरु गरेको मालपोत कार्यालय प्रमुख टेकराज अर्यालले रातोपाटीलाई जानकारी दिए । 

कार्यालयमा सेवा ग्राहीको दुरी कायम गर्नमा लागि भुईमा गोलो घेरा बनाइएको छ । गेटमा सुरक्षा गार्डले ज्वरो नापेपछि स्यानिटाइजर लगाएर मात्र सेवाग्राहीलाई भित्र प्रवेशको व्यवस्था मिलाइएको छ । दैनिक करोडभन्दा माथि राजस्व उठ्ने गरेको मालपोत कार्यालय कलंकीमा सोमबार ६४ लाख रुपैयाँ राजस्व उठेको अर्यालले जानकारी दिए । सोमबार ३२ सेवाग्राहीको काम भएको उनले बताए । 

सेवा ग्राही र कर्मचारीलाई यातायताको सास्ती 

सेवाप्रदायक सरकारी कार्यालयमा काम लिनका लागि सवारी साधन नभएका सर्वसधारणलाई कार्यालयसम्म पैदल यात्रा गर्नुपर्दा सास्ती हुने गरेको छ । यस्तै मोटरसाइकल र निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेका कारण कार्यालयमा पर्याप्त कर्मचारी पुग्न पनि समस्या रहेको छ । धेरै भीड हुने सरकारी निकायमा कोरोना भाइरस संक्रमणको जोखिम पनि उत्तिकै छ ।

कार्यालयहरुमा मान्छे मान्छे बीचको दुरी कायम गर्नका लागि भूईमा गोलो चिन्ह राखेपनि सर्वसाधारणले त्यसलाई पालना गरिहेका छैनन् । आफ्नो काम लिन सेवाग्राहीको भीड र धकेलाधकेलले भने संक्रमणको जोखिम बढाउने निश्चित देखिन्छ । 
हेर्नुहोस् भिडियोः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप