शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यायको याचनाले निम्त्याएको अन्याय

बुधबार, ०३ असार २०७७, ०९ : ५२
बुधबार, ०३ असार २०७७

सानै हुँदा सुनेको एउटा कथा सम्झना छ । त्यसबेला कम्युनिस्ट सङ्गठन विस्तारका लागि झोला बोकेर थुप्रै मानिस गाउँतिर छिरेका थिए । कथावाचक पनि कम्युनिस्ट झोले हुन् भन्ने लाग्थ्यो । तर उनलाई पछि धेरै पटक भेटिनँ । उनले भने, ‘एउटा किशोर जो बारमा काम गथ्र्यो ऊ थकित थियो । उसले धेरै समयदेखि गरिबीबाट मुक्तिका लागि सोचिरहेको थियो । एक ग्राहक जो कम्युनिस्ट विरोधी व्यक्ति थियो र एउटा पूर्व ग्याम्ब्लर पनि । ऊ सधैँ एउटा पुस्तक लिएर बारमा आउँथ्यो र रक्सी पिउँदै सबैलाई भन्ने गथ्र्यो कि कम्युनिज्म कति घातक छ । कसरी शासकहरु विभिन्न मीठा सपना बेचेर अनेक खेल खेल्दै सत्ता लिन्छन् र जनतालाई धोका दिई अन्यायको शासन चलाउँछन् । उसले सुन्यो कि कम्युनिस्टहरु जनतालाई काम लगाएर उत्पादन गर्छन् र त्यसमाथि राज गर्छन् । ‘जनतालाई काममा लगाएर उत्पादन गर्नुसम्म त राम्रो हो । त्यसमाथि आफू राज गर्नु त राम्रो भएन ।’ किशोर त्यस व्यक्तिको हातमा भएको पुस्तक लिन चाहन्थ्यो । त्यसपछि ऊ त्यस व्यक्तिसँग अलि नजिक हुन थाल्यो र भन्यो, ‘त्यो किताब पढ्न चाहन्छु ।’ कम्युनिस्टविरोधी राजी भयो । किशोरले ‘कसरी कम्युनिस्टहरु जनतालाई काममा लगाएर उत्पादन बढाउँछन्’ भन्ने मात्र जान्न चाहन्थ्यो । उसले सोच्यो, ‘राम्रो कुरा पहिले सिकौँ ।’ उसले पुस्तकको करिब आधा भाग आफ्नो पुस्तिकामा सार्यो र पुस्तक फिर्ता गरिदियो । अब उसले जान्यो कि जनतालाई काम लगाएर कसरी उत्पादन बढाउन सकिन्छ ? अब आफ्नो गरिबीले रुमल्लिइरहेको गाउँ गयो र काम गर्याे । उसले जनताको मन जित्यो र नेता बन्यो ।

उनले थपे, ‘कम्युनिस्टले दिने राम्रो कुरा आर्थिक परिवर्तन र समानता हो । शासन र सत्ता समाजको अर्काे पाटो हो ।’

हजुरबुबा राजा मान्नुहुन्थ्यो । राजा संस्कारका प्रतीक हुन् भन्नुहुन्थ्यो । नेपाली समाजले पनि राजारानीप्रति घृणा धेरै देखाएका त होइन जस्तो लग्छ । हरेक कार्यक्रम राजारानीको फोटोमा माल्यार्पण गरेर मात्र सुरुवात हुन्थ्यो । आखिर एउटा व्यक्तिले सबैका लागि के नै गर्न सक्छ र ? हरेक जनताको खानपानको व्यवस्था राजाबाट सम्भव हुन्छ र ? तर यो त एउटा संस्था हो । राजा संस्थाको केन्द्र भएपछि जनता निसास्एिर निकास खोजिरहेका बेला निकास निकाल्न सक्नु पर्ने चाहिँ हुनुपर्छ ।

न्याय नपाए गोर्खा जानू भन्ने उक्ति यथोचित हो भन्ने लाग्दालाग्दै पनि नेपाली भूमिमा स्वयम्भुको आँखामा आँखा जुधाएर न्यायको याचना गर्दै धेरै युद्ध भए । संस्थागत स्तम्भ मानिएको राजदरबारभित्र अनेकौँ स्वार्थी खेल चलिरहेका बेला गरिबी र असमानताको विकल्प नभेटेर हराएका नेपाली समाधान खोजेर धेरै पटक सडक तताउन तयार भए, रगत बगाउन पनि तयार भए । राजदरबारबाट धेरै टाढा रहेको एउटा सानो गाउँमा हुर्किंदै गर्दा जातीय असमानता सानैदेखि महसुस गरेकी थिएँ । हुन त ब्राह्मणको छोरी । ममाथि जातीय विभेद तत्कालीन परिप्रेक्षमा भएन भन्नु पर्छ । तर सँगै हुर्किंदै गरेका जातीयताको छाप लागेका साथीहरु वा गाउँले छिमेकीहरु माथि जुन विभेद हुन्थ्यो, त्यो अति बेस्वादिलो थियो ।

जातीयताले समाजमा ल्याएको बेस्वादलाई बढ्दै गएको गरिबीको खाडलले अझ तीतो बनाइदिएको थियो । जातीय विभेदका कारण गरिबी बढेको हो या गरिबीका कारण जातीय विभेद, भन्न गाह्रो थियो । त्यसबेला समाजमा बढ्दै गइरहेको बेथिति उजागर गर्ने माध्यम गरिबी र जातीयता बने र राजनीतिक विषयवस्तु पनि । दमाई गाउँमा जान अति रमाइलो लाग्थ्यो । एक त उनीहरु सुचिकार, त्यहाँ जानु भनेको नयाँ लुगा लगाउन पाइने उत्साह हुन्थ्यो । अर्काे उनीहरुको कर्मकला अति नै मन पर्ने । बाँच्न उनीहरुले जे गरेका छन् यो शताब्दियौँ अघि कुनै राजाले उनीहरुलाई सुम्पिएको जिम्मेवारी मानिन्थ्यो । तर उनीहरु यो पेसाबाट दिक्क देखिन्थे । उनीहरु समयमा आफ्नो काम नगर्ने, एक जोडी लुगा सिउन धेरै हप्ता वा महिना कुर्नुपर्ने । लुगा समयमा दिनुपर्छ भन्ने जिद्दी गर्नेलाई तीतो शब्दले गाली गर्ने गर्थे । उनीहरु आफू सानो जाति भएको कारण ठूलो जातिले हेपेको महसुस गर्थे । हुन त यो व्यवसायले उनीहरुको जीविका चलिरहेको पनि थिएन । उनीहरु जीविका चलाउन निमेक गर्नु पथ्र्याे ।

उनीहरुलाई आन्याय भयो भन्ने मुद्दा प्रजातन्त्र मागमा पर्ने एक मुख्य मुद्दा नै थियो । जब प्रजातन्त्र आयो, त्यसले समाजमा दुईवटा मुख्य परिवर्तन ल्याएको थियो । जनताले बोल्ने अधिकार पाए, आधुनिक शिक्षामा थोरै व्यवसायीकरण छिर्याे । आधुनिक शिक्षाले विभिन्न व्यवसाय शैक्षिकीकरण गरेर सबै व्यवसाय जातीयताबाट विस्थापित गर्दै थियो । बिस्तारै सुचिकारको व्यवसाय अरू जातिले पनि गर्न थाले । अब उनीहरुको हातबाट यो व्यवसाय विस्थापित भयो । गाउँमा सबै जातिका महिला सिलाइबुनाई व्यवसाय गर्न थाले । यसबाट उनीहरुको गरिबीलाई अझ गहिरो बनाइदियो अथवा यस परिवर्तन जसको नाममा मुद्दा उठाएर गरिएको थियो, उनीहरुका लागि भएन । उनीहरु फेरि हामी अन्यायमा पर्याैं भन्ने गुनासो लिएर गाउँ घुमिरहन्थे । तर अब गाउँमा उनीहरु भन्दा छिटो र राम्रो काम गर्ने सुचिकार निस्किसकेका थिए ।

 समाजमा बोल्न पाउने अधिकार नेतृत्व खोजको आधार बन्यो । मीठो बोलेर जनताको मन जित्न सक्ने व्यक्ति नेता बन्ने परिप्रेक्ष्यको सिर्जना भयो । यसले समाजमा छोटो समय राहतको अनुभूति प्रदान गरेको देखिन्छ । जो नेताले कर्मलाई प्रधान मानेर जनतालाई प्रोत्साहन गरे उनीहरुले समाजमा केही परिवर्तन पनि ल्याए । जब निष्ठा गुमाएर पुरानो राजकीय संस्थादेखि आफ्नो प्रभुत्व जमाइरहेका व्यक्तिहरुको प्रभाव नयाँ प्रजातान्त्रिक नेतामा पनि पर्याे त्यसपछि जनतामा अझ असन्तुष्टि बढेर गयो । सायद यही समयमा समाजले रुस र युरोपतिर बेठिक मानिएको कम्युनिस्ट व्यवस्था नेपाली समाजमा परिवर्तनको बाटो बन्न सक्छ भन्ने विस्वास गर्याे ।

बोल्ने स्वतन्त्रता प्राप्त गरेको तर विकासको बाटो नसमातेको अनि पुरानो राजकीय व्यवस्थामा रमाएको वर्गको प्रभुत्व रहिरहेको समाजमा कम्युनिस्ट विचारको प्रवेश वाक स्वतन्त्रतासँगै राजनीतिक खिचातानी अझ बढेको महसुस हुन्थ्यो ।

नेपाली समाजको प्राकृतिक विभिन्नताले नेपालीको पहिचान के हो भन्ने बुझ्न र त्यसलाई सामान्यीकरण गर्न पनि गाह्रो थियो । विभिन्न क्षेत्रमा रहेका जातीय र वर्गीय संस्कार तथा विश्वास राजकीय संस्कार तथा आधुनिक शिक्षालाई समाजले दिने मान्यताले जन्माइदिएको श्रेणीयता वा तहगतता यहाँको एक स्वरूप जस्तो लाग्थ्यो ।

‘वैज्ञानिक परिवर्तन जीवनका लागि हुनुपर्छ विनासका लागि होइन’ भन्ने विश्वास गर्ने, सहज, भावनात्मक र सांस्कृतिक जीवनशैलीमा रमाउने नेपाली समाज कम्युनिस्ट विचारधारालाई पूर्णरूपमा स्वीकार्न तयार नभइरहेको अवस्थामा संस्कारलाई परिमार्जन गर्दै आर्थिक परिवर्तन गर्ने उद्देश्ले कम्युनिज्मलाई केही परिवर्तन गरी प्रयोग गर्ने प्रयाससहित केही कम्युनिस्ट पार्टीहरुको जन्म भयो । सुरुका दिनमा यसले नेपाली समयमा ठूलो प्रभाव पार्याे अथवा एउटा ठूलो नेपाली समूह यो विचारको पछिलागे । यसपछि युरोपिएन समाजमा असफलता कमाएको इतिहास बोकेको कम्युनिस्ट विचारधारा माथि धेरै वैचारिक आक्रमण भए । एकपछि अर्काे गरी राजनीतिक निष्ठाका प्रश्नहरु उठिरहे । बिस्तारै यो प्रजातान्त्रिक व्यवस्था पनि आर्थिक परिवर्तनको वास्तविक निकास होइन रहेछ भन्ने छाप समाजमा पर्दै गइरहेको अवस्थामा माओवादी कम्युनिज्म सक्रिय भयो ।

हतियार उठाएर नेपाली समाजलाई १० वर्ष गृहयुद्धमा धकेलेको माओवादले अर्काे वैचारिक ठूलो शक्तिका रुपमा प्रभाव बढायो । ‘गरिबी र अन्याय सहेर बस्ने वा हतियार उठाएर समाधान खोज्ने ?’ भन्ने जटिल र त्रसित प्रश्नसहित नेपाली समाजमा द्वन्द्व मच्चिरहेको समयमा संसारभर विकास र नेपालमा विनास बढिरह्यो । शान्तिको नारा लिएर संसारभर शान्ति फैलाउने नेपाली अशान्त मन लिएर छट्पटाउँदै शान्ति याचना गरिरहे । एकपछि अर्काे उद्योगधन्दा बन्द हुँदा बेरोजगारी बढेको थियो । अस्पताल युद्धका घाइतेले भरिएका थिए । सामान्य औषधि उपचारका लागि जग्गा बेच्नु, वा अझ इमान वा इज्जत बेच्नुसम्मका बेथिति समाजमा सामान्य बन्दै गएका थिए ।

आर्थिक परिवर्तनको आशामा बेलाबेलामा राजनीतिक द्वन्द्वको सिकार बनिरहेका नेपालीहरु अब यसको उपाय खोज्न विदेशतिर आँखा डुलाउन थाले । न्यायोचित जीविकोपार्जनको खोजीमा बहुसङ्ख्यक नेपाली बिस्तारै बिस्थापित हुन थाले ।

Title Photo: https://dailytimes.com.pk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गायत्री जमरकट्टेल
गायत्री जमरकट्टेल
लेखकबाट थप