बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

८० दिनपछि राहत, पार्टीका कार्यकर्तालाई ठिक्क

४ सय परिवार अझै पनि राहतबाट बञ्चित
बुधबार, ०३ असार २०७७, १३ : ०६
बुधबार, ०३ असार २०७७

वीरगञ्ज । पर्साको जीराभवानी गाँउपालिका वडा नम्बर–५ मा लकडाउनको ८० दिनपछि राहत वितरण गरिएको भएपनि त्यहाँका करिब ४ सय परिवार अझै पनि राहतबाट बञ्चित भएका छन् । गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्ष बीचको राजनीतिक खिचातानीका कारण त्यहाका विपन्न, गरिब र दलित परिवारहरु राहतबाट बन्चित हुन पुगेका हुन् ।

लकडाउनको ८० दिन बितिसक्दा पनि राहत वितरण नगरिएको पर्साको जीराभवानी गाँउपालिकाको वडा नम्बर ५ मा गत बिहीबारदेखि शनिबारसम्म ९ सय परिवारलाई राहत बाँडिएको थियो  । तर राहत वितरणमा जनप्रतिनिधीबाटै काखापाखा हुदा झण्डै ४ सय गरिब विपन्नहरु राहत पाउनबाट बन्चित हुन पुगेका हुन् ।

वडा नम्बर ५ मा वडा अध्यक्षको समन्वय र सहभागिताबिना गाउँपालिका उपाध्यक्ष उषा देवी थरुनी आफैले राहत बाँडेकी थिइन् । उपाध्यक्ष थरुनीले राजनीतिक पूर्वाग्रह र काखापाखा गरेकाले पहुच नभएका गरिब, दलितहरु राहतबाट बञ्चित भएका हुन् ।

सखुवनीयाको दलितवस्तीकी बृद्ध एकल महिला अयोध्या देवी बिनले छिमेकी भगन माझीले आफनो र ६ जना छोराको अलग अलग नाम लेखाएर ७ पोका राहत ल्याएको तर आफूले एक पोका पनि राहत नपाएको गुनासो गरिन् ।

गाँउपालिकाकी उपाध्यक्ष थरुनीले आफ्नो पार्टी निकटलाई एउटै परिवारका सदस्यहरुको अलग–अलग नाम लेखेर राहतको पोका दिएको तर आफूलाई भने सूचीमा नाम छैन भनेर रित्तो फर्काइ दिएको अर्की एकल महिला सुहावती देवी यादवले पनि गुनासो गरिन् ।

गाँपा उपाध्यक्ष थरुनीले भोट बटुल्ने नियतले राहत वितरणमा काखापाखा गरेकाले उनी र उनको पार्टी निकट नभएका गरिब विपन्न र दलितले राहत पाउन नसकेको शंकरसरैयाको दलीतवस्तीका सुनरदेव मुसहरले गुनासो गरे ।

सखुवनीयाकै कान्ति देवी दासले श्रीमान्को नागरिकता नभएकै कारण आफुले राहत पाउन नसकेको बताइन् । श्रीमान् मलेशीयामा रहेको र उनको नागरिकता उनीसँगै रहेको भन्दै आफनो नागरिकता देखाउँदा यसले नहुने भन्दै श्रीमान्कै नागरिकता चाहिन्छ भनेर आफूलाई रित्तो हात फर्काइ दिएको गुनासो गरिन् ।

वडा अध्यक्ष दारासिंह राउतले पनि लकडाउनको ८० दिन पछि मात्रै वडामा राहत आएपनि आफूलाई कसैले केहि खबर नगरेको बताए । गाँउपालिका उपाध्यक्षले आफना पार्टीका मान्छेको एउटै परिवारमा ७ पोकासम्म राहत दिएको तर जसको श्रीमान् छोराछोरा कोही पनि छैन, उनीहरुले एक पोका पनि राहत नपाएको उनले आरोप लगाए । भोट बटुल्ने नियतले राहतको आडमा राजनीतिक रोटी सेक्ने काम भइरहेको वडा अध्यक्ष राउतले बताए ।

गाउपालिका उपाध्यक्ष थरुनीले ९ सय परिवारलाई राहत बाडेको भएपनि काखापाखा गरिएका कारण अझै करिब ४ सय गरिब परिवार राहतबाट बञ्चित रहेको वडा अध्यक्ष राउतले पनि बताए  ।

तर गाउँपालिका उपाध्यक्ष थरुनीले भने राहत वितरणमा कुनै काखापाखा नगरिएको जिकिर गरिन् । राहत वितरणका लागि वडा अध्यक्ष सहमतिमा नआएपछि कार्यपालिका बोर्ड बैठकले नै निर्णय गरि राहत वितरणको जिम्मा आफूलाइ दिएको र आफूले वडामा गएर राहत बाँडेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप