शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनस्वास्थ्य विज्ञको चेतावनी : सावधानी नअपनाए फेरि लकडाउन हुन सक्छ

बुधबार, ०३ असार २०७७, १९ : ३६
बुधबार, ०३ असार २०७७

सरकारले गत सातादेखि लकडाउनलाई खुकुलो बनाएपछि मानिसको चहलपहल बढेको छ । योसँगै कोरोना संक्रमितको संख्या बढ्ने जोखिम पनि बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सरकारले लकडाउनको ढाँचा परिर्वतन गरेर जनजीवनलाई सामान्य बनाउन खोजेपनि कोरोना संक्रमणको पहिचान र नियन्त्रणमा राज्य र स्वयम् नागरिक पनि गम्भीर हुनुपर्ने जनस्वास्थ्य विज्ञ समीरमणि दिक्षित बताउँछन् ।

लकडाउन खुकुलो भएसँगै बजार, चोक, सडक र तरकारी बजारमा सामाजिक दुरी कायम नगरी र कतिपयले मास्कसमेत नलगाइ भीडभाडमा सामेल भएको पाइन्छ । ‘लामो समयसम्म घरभित्र बसेका युवाहरु घर बाहिर निस्कन लालायित छन् । सुरक्षाको उपाय नअपनाइ बाहिर निस्कदा उनीहरु संक्रमित हुने खतरा बढ्छ । युवाहरु लक्षण बिना नै कोरोना संक्रमित भएर पचाउन पनि सक्छन्,’ उनी भन्छन्, ‘तर, घरमा रहेका दीर्घरोगी तथा वृद्धवृद्धामा उनीहरुले कोरोना सारे स्थिति गम्भीर हुनसक्छ । त्यसैले घरबाहिर निस्कदा सबैले सतर्कता अपनाउनुपर्छ ।’

खुकुलो लकडाउन भीडभाड गर्न होइन

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । यस्तो बेलामा खुकुलो परिएको लकडाउनमा लापर्वाही गरेमा संक्रमणको उच्च जोखिम हुन्छ । यस्तो स्थितिमा लकडाउनलाई फेरि कडा बनाउनुपर्ने अवस्था आउन सक्ने विज्ञ डाक्टर दिक्षित बताउँछन् । जस्तै काठमाडौैँ उपत्यकामा असावधानी कारण दिनमा दिनमा ५० देखि ५५ जनामा कोरोना संक्रमण र ४–५ को मृत्यु हुने स्थिति आएमा लकडाउनलाई फेरि कडा बनाउने सम्भावना रहन्छ ।

लकडाउन खुकुलो भयो भन्दैमा घरबाहिर निस्कदा चैत्र ११ गते अघिझैँ ढुक भएर हिँड्ने स्थिति अझै नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको पनि भनाइ छ ।

‘लकडाउनमा धेरै मानिस घरमै सीमित हुँदा कोरोना फैलन पाएको थिएन,’ उनले भने, ‘सावधानी नअपनाएमा संक्रमण दर उच्च हुनसक्छ ।’ 

यता, राज्यले लकडाउन लामो समयसम्म गरेका कारण जनता उकुसमुकुस भएर यसरी एकैपटक सडक निस्किएको डाक्टर दिक्षित आरोप लगाउँछन् । राज्यले सुरुको समयदेखि लकडाउनलाई खुकुलो बनाउन थप गृहकार्य गरेर विस्तारै खोल्दै गएको भए अहिलेको जस्तो जोखिम नहुने उनको तर्क छ ।

तर, विषम परिस्थितिमा लकडाउन खुकुलो भयो भन्दैमा जनताले पनि जिम्मेवार बनेर अनावश्यक रुपमा भीडभाड गर्न नहुने जनस्वास्थ्य विज्ञ दिक्षितको कुरामा डाक्टर पुन पनि सहमति जनाउँछन् ।

जनस्वास्थ्यको विषयमा युवाले देशका विभिन्न भागमा प्रर्दशन गरेका छन् । ‘युवाले जनस्वास्थ्यको विषयमा उठाएको कुरा गलत छैन,’ डा. दिक्षित भन्छन्, ‘महामारीको बेलामा सडकमा सामाजिक दुरी कायम नगरिकन सयौँ जनाले प्रर्दशन गर्दा जनस्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बारेमा पनि ख्याल गर्नुप¥यो ।’

थप गृहकार्य गरेर लकडाउन खुकुलो बनाउनुप-यो

नेपालमा गत माघ ९ गते चीनबाट स्वदेश फर्किएका एक जना नागरिकमा कोरोना पुष्टि भएको थियो । सरकारले कोरोना संक्रमित फेला परेसँगै नीतिगत्त योजना बनाएर व्यवाहारिक रुपमा कार्यान्वयन गर्न नसकेका कारण वर्तमान स्थिती सिर्जना भएको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

सरकारले लकडाउन खुकुलो बताउँदा र लकडाउन लागु गर्दा प्रयाप्त गृहकार्य नगरेको विज्ञ डाक्टर दिक्षित बताउँछन् । ‘यही विषम परिस्थितीमा सुरक्षा संयन्त्रलाई प्रयोग गर्ने हो,’ उनी भन्छन्, ‘लकडाउनको बेलामा औषधि लिन सडकमा हिड्नेलाई लाठ्ठी चार्ज गर्ने राज्यले, खुकुलो हुँदा तरकारी बजार जाँदा, सडकमा निस्कदा सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाइकन हिँड्ने, भीडभाड गर्नेलाई सम्झाइबुझाइ गर्न सक्दैन् ?’

सर्तक हुन आवश्यक छ

लकडान खुकुलो भयो भन्दैमा कोरोना संक्रमणलाई सामान्य ढङ्गले लिन नहुने सरुवा रोग विशेषज्ञ डाक्टर पुन बताउँछन् । घरबाट कार्यक्षेत्र जाँदा, बजार जाँदा सामाजिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोगलाई सबैले निरन्तरता दिनुपर्ने उनी बताउँछन् । ‘स्वयम् हामी सर्तक भएनौँ भने कोरोना संक्रमण फैलने सम्भावना हुन्छ’, उनले भने, ‘अनिवार्य रुपमा साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्नुपर्छ ।’ 

विश्व स्वास्थ्य संगठनका अनुसार जहाँ धेरै मानिसको भीडभाड हुन्छ, त्यहाँ अनिर्वाय रुपमा मास्कको प्रयोग गर्नुपर्छ । मास्क लगाउँदा संक्रमण फैलने दर न्युन हुने डाक्टर पुन बताउँछन् ।

साबुन पानीले हात धुने, मास्कको प्रयोग र सामाजिक दुरीकायमलाई मन्त्रको रुपमा अनिर्वाय बनाउनुपर्ने उनको भनाइ छ । घरभित्र हुँदा भन्दा बाहिर निस्कदा कडा रुपमा यो नियमलाई पालना गर्न अति आवश्यक भएको उनी बताउँछन् ।

यसको साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य शिक्षाको बारेमा जनचेनता फैलाउन आवश्यक भएको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

‘मास्क लगाउने तर नाक मुख नढाक्ने र घाँटीमा झुड्याउने गरेको पनि देखिन्छ,’ उनले भने, ‘जहाँसम्म लाग्छ उहाँहरु कोरोना अब सर्दैन भनेर ढुक्क भएर होला । उहाँले कुरा सुन्नु त भयो तर व्यवाहारमा लागु गर्नुभएन ।’

राज्यले सुनाउने नागरिकले सुन्ने मात्रै नगरेर व्यवहारिक रुपमा लागु गर्नुपर्ने डाक्टर पुनले बताए । संक्रमित भारतबाट नेपाल आइराख्ने र स्वदेशमा भएका हामी नागरिक व्यवहारिक नहुने, संक्रमित भए नभएको पत्ता नलगाइकन घरमा पठाउने परिपाटीले संक्रमितको संख्या तीव्र गति बढ्न सक्ने सम्भावना भएको डाक्टर पुनको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप