मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा सहयोग गर्न चीनसँग ट्रम्पले गरेका थिए बिन्ती– बोल्टन

बिहीबार, ०४ असार २०७७, १५ : ३३
बिहीबार, ०४ असार २०७७

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता चीनसँगको सम्बन्ध बिग्रिएको छ । तर, ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तकले यस सम्बन्धबारे नयाँ खुलासा गरेको छ ।  नयाँ पुस्तकका डोनाल्ड ट्रम्पले यसै वर्ष नोभेम्बरमा हुने चुनावमा विजयी हुनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग खोजेको उल्लेख छ । बोल्टनका अनुसार अमेरिकी किसानहरुले उत्पादन गरेका कृषीजन्य वस्तु किनेर चीनले आफुलाई चुनावमा सहयोग गरिदियोस् भन्ने ट्रम्पको चाहना थियो । 

बोल्टनले गत वर्ष जुनमा ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच जापानको ओशाकामा जी २० सम्मेलनका दौरान भएको भेटबारे संकेत गर्दै लेखेका छन् । ‘हैरान पार्नेगरी ट्रम्पले संवादलाई आगामी अमेरिकी राष्ट्रपति चुनावतर्फ मोडे, उनले चीनको आर्थिक क्षमता उल्लेख गर्दै सी समक्ष आफ्नो जीत सुनिश्चित गरिदिन बिन्ती गरे,’ बोल्टनले लेखेका छन्, ‘उनले किसानहरुको महत्वमा जोड दिए र सोयाबिन तथा गहुँको खरिद बढाउन आग्रह गरे ।’

बोल्टनले कसरी ह्वाइट हाउस सञ्चालन गर्ने भन्ने विषयमा ट्रम्प जानकार थिएनन् भन्ने दाबी समेत गरेका छन् । ट्रम्प भने यस पुस्तकप्रति खनिएका छन् । आफ्ना पूर्व सल्लाहकारबारे उनले भनेका छन्– ‘उनले कानून तोडे । यो निकै गोप्य सूचना हो र यसलाई बाहिर ल्याउने स्वीकृति उनीसँग छैन । 

जोन बोल्टन अप्रिल २०१८ मा ह्वाइट हाउसमा सुरक्षा सल्लाहकार थिए र त्यही वर्ष सेप्टेम्बरमा उनले पद छाडे । बोल्टनले आफुले जागिर छाडेको घोषणा गरेपनि ट्रम्पले विवाद भएपछि उनलाई निकालिएको दाबी गरेका थिए ।  विदेश नीतिमा अब्बल मानिएका बोल्टनले जर्ज डल्ब्यु बुस राष्ट्रपति छँदा पनि सल्लाहकारको जिम्मेवारी पाएका थिए ।

बोल्टनको ५ सय ७७ पृष्ठ लामो ‘द रुम ह्वेर इट ह्यापन्ड’ नामक पुस्तक २३ जुनबाट बजारमा उपलब्ध हुँदैछ । तर, बुधबार राती डिपार्टमेन्ट अफ जस्टिसले यो पुस्तक रोक्नका लागि न्यायाधीशसँग आपतकालीन आदेश मागेको छ । प्रकाशक सिमोन एन्ड सेहस्टरले विज्ञप्ति निकाल्दै सरकारले यो यस्तो कार्य राजनीतिक रुपमा प्रेरित रहेको र अर्थविहीन रहेको जनाएको छ । प्रकाशकका अनुसार हजारौं प्रति पुस्तक विश्वभर अहिल्यै वितरण गरिसकिएको छ र प्रतिबन्धले केही फरक पार्नेवाला छैन ।

आसन्न चुनावका लागि ट्रम्पका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले यस पुस्तकबारे विज्ञप्ति जारी गर्दै भनेका छन्,‘यदि यी तथ्य सही हुन् भने यो नैतिक पतनमात्रै होइन, अमेरिकी जनताप्रतिको जिम्मेवारीको उल्लङ्घन पनि हो ।’
अमेरिकी चुनावमा किसान मतदाताहरुको भूमिका ठूलो छ र उनीहरुले २०१६ को चुनावमा ट्रम्पलाई सहयोग गरेका थिए । 

कमजोर विदेश नीति 
बोल्टनकाअनुसार ट्रम्पको विदेश नीति निकै कमजोर छ । ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई ‘बाजा बजाए’ जसरी खेलाउन सकिन्छ भन्ने सोच्छन्,’ एबीसी न्युजसँगको कुराकानीमा बोल्टनले भनेका छन्, ‘मेरो बुझाईमा पुटिन स्मार्ट र कडा छन् । मलाई लाग्छ उनले अमेरिकामा आफुले गम्भिर प्रतिस्पर्धीको सामना गर्नुपरेको छैन भन्ने सोच्छन् । मलाई लाग्दैन उनी डोनाल्ड ट्रम्पसँग चिन्तित छन् । बोल्टनले पुस्तकमा लेखेअनुसार उत्तर कोरियाली नेता किम जोङ उन पनि ट्रम्पलाई नियन्त्रणमा राख्न सफल भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप