केन्द्रीय संस्करण

स्नातकोत्तरसम्मकै नतिजा आन्तरिक मूल्याङ्कनबाट गरौँ

शिक्षा क्षेत्रको लकडाउन खोलिदेऊ सरकार !

person explore access_timeअसार ४, २०७७ chat_bubble_outline0

 

 

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को अन्योलमा रहेका करिब पाँच लाख विद्यार्थी अहिले मानसिक तनावबाट मुक्त भएका छन् । सरकारले एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गर्यो ।

सरकारले एसईई नै खारेज गर्ने निर्णय चाहिँ  गरेको हैन् । यस वर्षको मात्रै आन्तरिक मूल्याङ्कनबाट नतिजा निकाल्ने भनेको छ । वर्षौंदेखि फलामे ढोका भनिदै आएको एसईई अब सधैँका लागि खारेज गर्नुपर्छ । यसतर्फ राज्यको ध्यान जानैपर्छ ।

परीक्षा एसईईको मात्र छैन, कोभिड–१९ को फैलिदो सङ्क्रमण र करिब तीन महिना लामो बन्दाबन्दीले अरू शैक्षिक क्षेत्र अन्योलमा छ ।

नियमित अध्ययन–अध्यापन रोकिएको धेरै समय भइसक्यो । तर यस क्षेत्रलाई नियमित अवस्थामा फर्काउने विश्वबिद्यालय र सरकारसँग कुनै भरपर्दो योजना छैन । एसईई बाहेकका करिब ६४ लाख विद्यार्थी लकडाउनमा घरमै बसिरहेका छन् ।

सरकारी तथ्याङ्क अनुसार कक्षा ११ र १२ का परीक्षाको अन्तिम तयारीमा ९ लाख ६२ हजार विद्यार्थी रहेका छन् । उनीहरुको २०७६ को चैतमा हुने भनिएको परीक्षा बन्दाबन्दीका कारण स्थगित छ । एसईईबारे सरकारले निर्णय लिँदा ११ र १२ लाई किन सम्झिएन ?

माथिल्लो तहको पढाइ पनि बन्द छ । विश्वविद्यालयका पठनपाठनसँगै परीक्षा पनि स्थगन भएका छन् । केहीले अनलाइन पठनपाठन सुरु गरे पनि प्रभावकारी हुन सकिरहेका छैनन् । एकारित अनलाइन प्रविधिको पहुँच कम छ भने अर्कोतिर केहीले अनलाइनबाट अध्यापन गराउँदा पनि के पढाउने ? कहाँबाट पढाउने ? जस्ता अन्योल छ ।

लामो समय खालि बस्नुपर्दा विद्यार्थीमा एकखालको छट्पटी सुरु भएको छ । युवा मस्तिष्कमा अनावश्यक मनोवैज्ञानिक दबाब परेको छ । यहाँसम्म आइपुग्दा यो उकुसमुकुसबाट शैक्षिक संस्था, अभिभावक र विद्यार्थी सबैलाई तत्काल एउटा निकास चाहिएको छ ।

कसरी दिने निकास ?

हाम्रा शिक्षण पद्धति र मूल्याङ्कन पद्धति वर्षौंदेखि प्रायः सबै तहमा एउटै तरिका र अभ्यासमा चल्दै आएका छन् । आन्तरिक मूल्याङ्कनलाई कम महत्त्व दिने र अन्तिम परीक्षालाई नै मुख्य मूल्याङ्कन मान्ने । जसले गर्दा हाम्रा कक्षाकोठाका सिकाइ र अभ्यास फितला छन् । वर्षभरि शिक्षक विद्यार्थी दुवैले आन्तरिक मूल्याङ्कन वा आन्तरिक परीक्षाका विषयमा मतलब नगर्ने, जे गर्ने हो अन्तिम परीक्षाका लागि गर्ने यस्तो संस्कारबाट आएका हामीलाई आन्तरिक मूल्याङ्कनलाई नै आधार मानेर नतिजा प्रकाशन गर्ने कुरा असहज लाग्नु स्वाभाविक नै छ ।

अहिले यही मानसिकता बीचको द्वन्द्व मन्त्रालयदेखि विश्वविद्यालयसम्म प्रष्ट देखिन्छ ।

सिकाइका मूल्याङ्कन प्रणालीबारे विभिन्न विषयअनुसार शिक्षाविदहरुका धेरै अवधारणा पाइन्छ । केही घण्टाको अन्तिम परीक्षामा देखाएको प्रस्तुतिअनुसार विश्वविद्यालयदेखि शैक्षिक क्षेत्रको नेतृत्वसम्म पुगेकाहरुमा आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्ने विषयमा सकारात्मक नहुनुको परिणामबाट एसईई दिने अलमलमा रहेका विद्यार्थी मुक्त भए पनि आज लाखौँ विद्यार्थी अन्योलमा छन् ।

लकडाउन खुलेको भोलिपल्टै परीक्षा हुन्छ भनेर समय समयमा आउने समाचारले आतङ्कित बनाइरहेको छ । विद्यार्थीहरु मनोरोगले ग्रसित हुने खतरा भइसक्यो ।

शिक्षा मन्त्री आफैले पनि लकडाउन खोलेको १५ दिनपछि परीक्षा गर्न सकिने बताएका छन् । जिम्मेवार निकायबाटै कोभिड १९ सँगको लडाइँले बन्द भएका शैक्षिक संस्थाहरु सबैभन्दा अन्तिममा खुल्छन् पनि भनिएको छ ।

के यस्तो अवस्थामा पहिले जस्तै परीक्षाको निम्ति लकडाउन खुल्ने प्रतीक्षा गर्नु जायज छ ?

युवा मस्तिष्कलाई महिनौँसम्म मानसिक दबाबमा राखिराख्नु आफैमा प्रत्युत्पादक हुन्छ । त्यसैले लकडाउन खुल्ने प्रतीक्षा गर्नु जायज मान्न सकिँदैन ।

हो, विश्वविद्यालयहरुलाई कानुनी र प्रक्रियागत जटिलता छन् । त्यसलाई नजरअन्दाज गर्न खोजिएको हैन । यी हामी आफैले निमार्ण गरेका मान्यता हुन् । यी मान्यतालाई समयअनुसार र आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानु नै वैज्ञानिक हुन्छ ।

यसमा आगामी दिनका लागि पनि आन्तरिक मुल्यांकन पद्धतिलाई प्राथमिकतामा राखेर विश्वविद्यालयहरुले विषय र तहअनुसार आन्तरिक मूल्याङ्कनको विधि तथा मापदण्ड तय गर्न सक्छन् ।

जसबाट घोकन्ते शैक्षिक परिपाटी पनि विस्थापन हुन्छ र ज्ञान मात्र नभएर विद्यार्थीमा सीप सिकाइको प्रेरणा समेत मिल्दछ ।

आज प्रायः सबै विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा सञ्चालक भइरहेको छन् । यी तहमा आन्तरिक मूल्याङ्कनलाई प्राविधिक विषयहरुमा प्राथमिकता राखिएकै छ ।

अध्यापन सकिएर अन्तिम परीक्षा मात्र बाँकी रहेका विद्यार्थीहरुका लागि आन्तरिक मूल्याङ्कनका लागि कतिपय सनदर्भमा पुनः शिक्षकले मिहिनेत गर्नुपर्ने अवस्था छैन । शिक्षकले आन्तरिक मूल्याङ्कनको अङ्क दिइसकेका छन् । विधा र स्तर हेरेर सरकार र सम्बन्धित विश्वविद्यालयले एसईई जस्तै सहज निर्णय गर्न अब पछि हट्न हुँदैन ।

विश्वविद्यालयहरुसँग अब दुई विकल्प छन् ।

एउटा– शैक्षिक पात्रो परिवर्तन गरेर सेमेस्टर कोल्याप्स गर्ने । अर्को– आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरेर नयाँ सेमेस्टरको तयारीमा जुट्ने ।

कोभिड–१९ को प्रभावले देशको अर्थतन्त्रमा परेको असर विद्यार्थी र तिनका अभिभावकमा पनि उत्तिकै छ । परिवारको आर्थिक अवस्था खस्केको छ । आफ्नो अभिभावकको रोजगारी गुमेको छ । कोभिड–१९ को प्रभाव सामान्य अवस्थामा फर्किए पनि आफ्नो र परिवारको आर्थिक सङ्कटले धेरै विद्यार्थीले आफ्नो अध्ययन निरन्तरता दिन नसक्ने अवस्था आउँदैछ ।

यस्ता अवस्तामा लकडाउन खुल्ना साथ जसरी भए पनि परीक्षा दिन आऊ भन्नु सान्दर्भिक हुँदैन ?

हाम्रो शिक्षा प्रणालीमा ब्यापक रूपान्तरण आवश्यक रहेको छ । यसलाई समयअनुसार व्यावहारिक बनाउँदै जानुपर्ने चुनौती पनि छ ।

कोभिड–१९ को सङ्क्रमणको उत्पन्न प्रभावले हाम्रा पुरातन शैक्षिक चिन्तनलाई जरैबाट हल्लाएको छ । वर्षभरी व्यक्तिगत काममा व्यस्त हुने र परीक्षाको अघिल्लो रात कण्ठस्त पारेको भरका पास हुने विशेषगरी स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुमा आदत नै छ । त्यसैले हाम्रा विश्वविद्यालयका शिक्षण पद्धति र मूल्याङ्कन पद्धति दुवैमा व्यापक हेरफेरको आवश्यकता छ । आगामी दिनमा आन्तरिक मूल्याङ्कनको क्रेडिटलाई महत्त्व दिँदा विद्यार्थीको कक्षाकोठामा उपस्थिति पनि बढेर जान्छ ।

स्नातक र स्नाकोत्तर तहका अधिकांश सरकारी क्याम्पसहरुमा कस्तो थिति बसेको छ भने विद्यार्थी एक शैक्षिक सत्रमा तीन पटक क्याम्पस जान्छ–  भर्ना गर्ने समयमा, परीक्षा फाराम भर्न र अन्तिम परिक्षा दिन । किनकि कक्षाकोठामा जानु र नजानुमा तात्विक फरक विद्यार्थीले महसुस गर्दैन । यस्तो मानसिकता बसिसक्यो कि कक्षामा नियमित जानेले पनि र नजानेले पनि अन्ततः नोट र गेसपेपर घोकेर पास गर्ने हो । यो वास्तविकता सबैले भोगेका छौँ ।

यी यावत कुराले भनिरहेको छ, शिक्षक र विद्यार्थी दुवै कक्षाकोठातिर फर्क, त्यो अनलाइन कक्षा नै किन नहोस् । शिक्षकले विद्यार्थीको आन्तरिक मूल्याङ्कन निरन्तर लेऊ जसले शिक्षक आफैले पढाएको विषयवस्तुको स्वः मूल्याङ्कन गर्न सहज बनाउँछ । शिक्षकले कक्षाकोठामा गर्ने आन्तरिक मूल्याङ्कन बिनाको विद्यार्थीको सिकाइको मूल्याङ्कन कसरी पूर्ण मान्न सकिन्छ ?

विभिन्न मुलुकका प्रतिष्ठित विश्वविद्यालयमा कोभिड–१९ को प्रभाव अघिदेखि नै अनलाइन कक्षा पठनपाठन र मूल्याङ्कन चलिरहेकै छन् । यी अभ्यास विश्वासनीय र भरपर्दा मानिएको पनि छ ।

विकल्प अनेक छन्, शिक्षा क्षेत्रको लकडाउन खोलिदेऊ सरकार ! 

(विद्यार्थी, इन्जिनियरिङ अध्ययन संस्थान  ।)

Title Photo:School photo created by rawpixel.com - www.freepik.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.