शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा–सीसीपी बाक्लिँदो सम्बन्ध : ‘जियो पोलिटिक्स’मा नयाँ परिभाषाको खोजी ?

शुक्रबार, ०५ असार २०७७, १७ : १६
शुक्रबार, ०५ असार २०७७

काठमाडौं । केही दिनअघि मात्रै चीन र भारतबीच लद्दाख क्षेत्रस्थित गलवान उपत्यकामा सीमा विवादपछि २० जना भारतीय सैनिकको ज्यान जाने गरी झडप नै भयो । छिमेकी दुई देशबीच सीमा क्षेत्रलाई लिएर चर्किएको द्वन्द्वले ‘हिंसात्मक मोड’ नै लियो । यो घटना त्यसबेला भएको छ, जुनबेला नेपाल भारतबीच पनि उस्तै किसिमको कालापानी समस्या छ । कालापानीको विषयलाई लिएर नेपालमा भारतसँगबीच विवाद भइरहेकै बेला ‘विश्व भूराजनीतिमा समेत प्रभाव पार्ने गरी अमेरिकाद्वारा अघि सारिएको एमसीसीको सवाललाई लिएर सत्तारुढ नेकपा पार्टीभित्रै मतभेद चर्कँदो छ ।

यतिखेर नेपाल–भारत सम्बन्ध अत्यन्तै संवेदशील मोडमा उभिएको छ । विगत लामो समयदेखि नेपाली भूभागमा बलपूर्वक सैनिक कब्जा जमाएर बसेको भारतले सो विवाद समाधानका लागि नेपालले राखेको वार्ता प्रस्तावलाई भारतले पटक पटक वेवास्ता गर्दै र लत्याउँदै आयो । दुई देशले नै विवादित भूमि भनी स्वीकारिसकेको र वार्ताबाट हल खोज्ने भनी सहमति गरिसकेको विषय हो–कालापानी–लिम्पियाधुरा क्षेत्रको सीममा विवाद । तर पछिल्लो पटक भारतले सो क्षेत्रलाई औपचारिक रुपमा आफ्नो नक्सामा सामेल गरेपछि र सो क्षेत्रमा एकतर्फी रुपमा नै सडक बनाएपछि नेपालले राखेको असहमति र वार्ताको प्रस्तावलाई भारतले पटक पटक लत्याउँदै आयो । फलतः सो क्षेत्रमाथिको आफ्नो हकदावीलाई वैधानिकता प्रदान गर्दै नेपालले पनि भरखर भरखरै मात्रै सो क्षेत्रलाई आफ्नो नक्सामा समावेश गर्दै नयाँ नक्सा जारी गरिसकेको छ र त्यसलाई नेपालको दुवै संसदले संविधान संशोधनमार्फत् अनुमोदन समेत गरिसकेको छ ।

वार्ताबाट समाधान खोज्ने नेपालको प्रस्तावलाई सधैं आलटाल गर्ने भारतको लागि नेपालले चालेको यो कदम ‘अप्रत्याशित’ र कल्पना नै नगरेको अत्यन्तै ‘बोल्ड’ साबित भएको छ । त्यसैले उसले नेपालको यो कदमलाई ‘चिनियाँ उक्साहटमा चालेको कदम’को रुपमा चित्रित गर्ने भगीरथ प्रयत्न गरिरहेको छ । ठीक यही बेलामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र चिनियाँ कम्युनिस्ट पाटी (सीसीपी) बीचको सम्बन्ध बाक्लो बन्दै जान थालेपछि यसबारेमा विभिन्न शंका उपशंका गर्नेहरुलाई सजिलो बनाएको छ । यसअघि नै भारतले नेपाल चीनले अघि सारेको बीआरआई परियोजनाका सवाललाई लिएर ‘रोटीबेटीको विशेष सम्बन्ध रहेको भारतसँग टाढिएर नेपाल चीनसँग नजिकिँदै गएको विश्लेषण अघि सार्दै आएको पृष्ठभूमि पनि छ ।

यसै मेसोमा शुक्रबारमात्रै नेकपा र सीपीसीका नेताहरुबीच काठमाडौ र बेइजिगबाट भर्चुअल सम्वाद गरेका छन् ।

त्यसो त नेकपा र सिपीसीबीच यस्तो सम्बाद या विचार आदानप्रदान पहिलो पटक भएको भने होइन । गत नौ महिनाको अवधिमा शुक्रबार समेत गरेर  चिनियाँ र नेपाल कम्युनिस्ट पार्टीबीच तीन पटक यस्तो वैचारिक सम्वाद र प्रशिक्षण भइसकेको छ ।

यस्ता सम्बाद र विचार आदानप्रदान विश्व राजनीतिमा सामान्य नै मानिन्छ । तर नेपाल–भारत र भारत–चीनबीचको समबन्धमा तिक्तता छाइरहेको अहिलेको स्थितिमा एक छिमेकीले अर्को छिमेकीसँगको सम्बन्धलाई ‘विशेष’जोड दिँदा त्यसले पार्ने प्रभाव कस्तो रहला ? भन्ने चासो ह्वात्तै बढेको छ । त्यति मात्रै हैन, कतिपयले त यसलाई आपत्तिजनक नवऔपनिवेशिक अभ्यासको संज्ञा समेत दिएका छन् ।

शुक्रबार नेकपा र सिपीसीबीच ‘भर्चुअल सम्वाद’ हुने समाचार सार्वजनिक भएपछि पूर्व परराष्ट्रमन्त्री समेत रहेका राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?’ भन्दै प्रश्न नै गरे ।

थापाले आफ्नो ट्वीटर ह्याण्डलमा थप लेखेका छन्, आपत्तिजनक नवऔपानिवेशिक अभ्यास अब यसरी अन्य राजनीतिक दलहरुले पनि आफूअनुकूलका विदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतिक आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला ?’

नेकपा र सिपीसीबीचको बाक्लिँदो सम्बन्धबाट थापा झस्किएका मात्रै होइनन्, नेकपा र सिपीसीबीच हिमचिम बढ्दै जाने हो भने नेपाल अन्तराष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने आशंका पनि व्यक्त गरेका छन् ।

काँग्रेस नेता तथा पूर्व परराष्टमन्त्री डा. प्रकाशशरण महत पनि ‘नेपालले यस्तो बेला दुई छिमेकीबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सक्नुपर्ने’ बताउँछन् ।

‘केही दिनयता भारत र चीनबीच सीमा विवादले भीडन्त भएको स्थिति छ । भारतका २० जना सैनिक मरेका छन् । नेपालले यी दुवै देशसँग राम्रो सम्बन्ध राखेर आफ्नो सहअस्तित्व, राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाएर अगाडि बढ्नुपर्ने हुन्छ’, डा. महतको भनाइ छ ।

उनले ‘दुई देशबीचको द्वन्द्वको विषय नेपालका लागि पनि चिन्ताको विषय भएको’ भन्दै ‘भारत र चीनबीचको पछिल्लो भीडन्तको अवस्था नदोहोरियोस् र वार्ताद्वारा समाधान होस् भन्ने नै नेपाली पक्षको दृष्टिकोण हुनुपर्ने’मा जोड दिएका छन् ।

‘यो अवस्थामा हामीले एउटा पक्षलाई साथ दिएको वा त्यो किसिमबाट प्रस्तुत भएको सन्देश दिने बेला हुँदै होइन’, पूर्व परराष्टमन्त्री समेत रहेका महतले रातोपाटीसँग भने, ‘यतिबेला नेपाल र भारतको सीमा विवाद पनि भइरहेको छ । वार्ताको माध्यामबाट समाधान गर्ने भन्ने कुरा छ । यस्तो बेला एउटा पक्ष अर्को पक्षसँग नजिकिएको सन्देश दिने कुनै पनि गतिविधि गर्नुहुँदैन । त्यसमा पनि सत्तामा बसेको पार्टीले त त्यो झन गर्नै हुँदैन’, महतको भनाइ छ । उनले ‘चिनियाँ कम्युनिस्ट पार्टीसँग पार्टी र देशलाई परिचालन गर्ने विषयमा छलफल गर्ने कुरा राम्रो नभएको’ बताए । ‘एउटा पक्षसँग विशेष सम्बन्ध छ भनेको जसरी प्रस्तुत हुने बेला अहिले होइन । उहाँहरुले भन्नुहोला हामीले कसैको पक्ष लिएका छैनौं, तर बाहिर हेर्दा त त्यस्तो देखिन्छ । यस्ता कुरामा सरकार पक्षलाई सचेत हुन मेरो आग्रह छ’, महत भन्छन् ।

नेकपा सिपीसी सम्बन्धका श्रृंखला

. २०७६ असोज : काठमाडौको एक होटलमा चिनियाँ राष्ट्रपति सि जिनपिंगको नेपाल भ्रमणको पुर्व सन्ध्यामा कम्युनिस्ट पार्टीका नेताले प्रशिक्षण नै लिए । उक्त प्रशिक्षणपछि नेकपा र सिपीसीबीच दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भयो ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा पाँच बुँदा समेटिएका छन् ।

. २०७७ बैशाख : नेकपाको विदेश विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागबीच कोभिड १९ मा केन्द्रीत रहेर दुई घण्टा भर्चुअल अन्तरक्रिया भयो । अन्तरक्रियामा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट अन्तराष्टिय विभाग प्रमुख ताओ सहभागी भएका थिए ।

. २०७७ असार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी(सिपीसी) का नेताहरुबीच देश र पार्टी सञ्चालनबारे भर्चुअल सम्वाद ।

नेकपाको स्कूल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको संयुक्त रूपमा आयोजनामा भएको कन्फरेन्समा नेकपाका अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी भए भने चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी)का तर्फबाट अन्तराष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी बने ।

नेकपामै असन्तुष्टि

चिनियाँ र नेकपाबीचको पछिल्लो भिडियो कन्फरेन्सलाई लिएर नेकपामै विवाद देखिएको छ । पार्टीको विदेश विभागलाई कुनै जानकारी नै नदिई कार्यक्रम राखेकोमा सो पार्टीको विदेश विभागले असन्तुष्टि जनाएको हो ।

‘पार्टीको विदेश सम्बन्ध राख्ने वैधानिक फोरम भनेको विदेश विभाग हो । तर, विदेश विभागलाई यसबारेमा केही पनि थाहा छैन’, विदेश विभाग उपप्रमुख रिजालको भनाइ छ । अध्यक्ष प्रचण्डसहित झण्डै सय जना नेताहरु सहभागी भएको यो कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी)का तर्फबाट अन्तराष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओ लगायतका नेता सहभागी भएका छन् ।

विश्लेषकका आफ्नै तर्क

वाम विश्लेषक डा. खगेन्द्र प्रसाई ‘यसरी दुई देशका राजनीतिक पार्टीहरुबीच सम्बन्ध बढ्दै जानुलाई सकारात्मक रुपमा लिनुपर्ने’ बताउँछन् ।

उनले ‘चिनियाँ कम्युनिस्ट पार्टी भनेकै त्यहाँको सरकार र यहाँको कम्युनिस्ट पनि अहिले सरकारमै भएकाले दुई पार्टीबीचको सम्बन्ध र छलफल हुदैमा तरंगित हुनुपर्ने अवस्था नरहेको’ बताए ।

‘चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध राम्रो हुनु नेपालका काँग्रेस या कम्युनिस्ट जुनसुकै पाटीहरुले त्यहाँका सरकारसँग सम्बन्ध बनाउदा कसरी नराम्रो हुन्छ ?’ प्रसाईको प्रश्न छ । उनले ‘यस्तो चलन संसारभर रहेको’ भन्दै ‘एक देशका पार्टीले अर्को देशका पार्टीहरुसँग राम्रो सम्बन्ध बनाउने गरेको र युरोपमा त अफिसियल फोरम नै बनाउने गरेको’ समेत बताए ।

नेपाल चीनसँग नजिक भएको हो कि भन्ने आशंकालाई उनले ‘नेपाल चीनसँग जति जोडिनुपर्ने हो त्यति जोडिन नसकेको चाहिँ यथार्थता रहेको’ दावी गरे ।

‘नेपाल चीनसँग नजिक भएको वा जोडिएको भनेर अनावश्यक शंका गर्नु जरुरी छैन । बरु जुन गतिमा जोडिनुपर्थ्यो, उनीहरु जुन गतिमा हामीहरु जोडिएको देख्न चाहन्छन् त्यो हाम्रो आवश्यक्ता हो । त्यो हिसावले हामी द्रुत गतिमा जोडिएका छैनौं’, प्रसाईको भनाइ छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेकपा र सिपीसीबीचको बाक्लिँदो सम्बन्धले नेपाल भारतबीचको सम्बन्धले नयाँ परिभाषा खोजेको बताउँछन् । ‘पछिल्ला घट्नाक्रमहरुलाई नियाल्दा नेपाल–भारत सम्बन्धमा नयाँ परिभाषा खोजेको कुरा प्रस्टै छ । साथै नेपाल चीन सम्बन्धमा पनि नयाँ उचाइ कायम हुदैछ’, विश्लेषक आचार्यको भनाइ छ ।

‘यसअघि नेपाल भारतबीच आर्थिक, सामाजिक र सांस्कृतिकबाहेक राजनीतिमा समेत अतिनिर्भरताको सम्बन्ध रहेपनि अहिले त्यो क्रमशः कम हुदै गएको’ उनको ठम्याइ छ । 

‘यसले अब नेपालको नयाँ इतिहास रच्दैछ । तर यो ठीक हुँदैछ या वेठीक भन्ने अलग कुरा हो । सुगौली सन्धियताको सबैभन्दा ठूलो घट्ना नेपालको नयाँ नक्सा निकालेपछिको हो । एउटै भूमिको नक्सा नेपाल र भारत दुवैसँग छ । नेपाल र भारतकाबीचमा यस्तो अवस्था आउला भनेर दक्षिण एसियामा कसैले कल्पना गरेको थिएन, त्यसले जियो पोलिटिक्समा नयाँ परिभाषा लेखिँदैछ, ’  आचार्यको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप