बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकताबारे नेकपाको निर्णय साम्प्रदायिक र विभेदकारी : यादव

आइतबार, ०७ असार २०७७, १० : ३८
आइतबार, ०७ असार २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नागरिकतासम्बन्धी गरेको निर्णय विवेकहीन, साम्प्रदायिक र विभेदकारी रहेको टिप्पणी गरेका छन् ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णयको तराई मधेसलगायतका ठाउँमा विरोध भइरहेको छ । संसदमा विचाराधीन नागरिकता ऐन २०६३ संशोधनका लागि बनेको विधेयकमा संसदको राज्यव्यवस्था समितिमा छलफल भइरहेको बेला नेकपाले त्यस्तो निर्णय गरेको गरेको हो ।

अध्यक्ष यादवले बुहारी र ज्वाईं बीच नागरिकताको विषयमा विभेद गर्न नहुने बताएका छन् । बुहारी विदेशी होस् वा स्वदेशी, नागरिकता जस्तो विषयमा विभेद गर्न नहुने यादवले भने, ‘नेकपाको यसखालको निर्णय सम्प्रदायको सद्भावलाई भड्काउने खालको छ ।’

जनता समाजवादी पार्टी नेपाल र काँग्रेसले नागरिकताको विषयमा हाल रहेको प्रावधानलाई यथावत राख्नु पर्ने धारणा राख्दै आएको छ । नेकपाले गरेको निर्णयबारे छलफल गर्न आज पदाधिकारीको बैठक बस्दैछ । काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि नेकपाले गरेको निर्णयलाई काँग्रेसले स्वीकार नगर्ने बताए ।

नेकपाको यो निर्णयले साम्प्रदायिकता र विभेदलाई बल पु-याउने काम गरेको बताउँदै उनले यसलाई सडक र सदनबाट विरोध गरिने बताए ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नागरिकता सम्बन्धी संसदमा विचाराधीन रहेको विधेयकबारे कुनै निर्णय लिनुभन्दा पहिले काँग्रेससँग पनि छलफल गर्ने भनेका थिए । ‘कुनै सल्लाह नगरी निर्णय गरेकोमा खेद छ,’ भन्दै निधिले सो निर्णय सच्याउन उनले माग पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप