बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

के अमेरिकी राष्ट्रपति ट्रम्पको लोकप्रियता घटेको हो ?

सोमबार, ०८ असार २०७७, ०० : ११
सोमबार, ०८ असार २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोश्रो चुनावीसभा रद्द भएसँगै उनको लोकप्रियतामाथि प्रश्न उठ्न थालेको छ । राष्ट्रपति ट्रम्पको लोकप्रियतामाथि किन पनि प्रश्न उठ्न थालेको हो भने उनी सहभागी हुने सभाहरुमा मानिसहरुको उपस्थिति निकै कम देखिन थालेको छ । चुनावी सभा आयोजकहरुले मानिसहरु उपस्थित नहुने भएपछि सभा रद्द गर्न थालेका छन् ।

ट्रम्पको अभियानका प्रमुख टिम मुरटोगकाअनुसार  ओक्लाहोमाको र्यालीमा मानिसहरुको उपस्थिति निकै कम देखिएपछि टुलसामा आयोजना गर्ने भनिएको दोश्रो चुनावीसभा पनि रद्द गरिएको हो । यद्यपि, ट्रम्पका समर्थकहरु के भनिरहेका छन् भने अश्वेतहरुको प्रदर्शनका कारण मानिसहरु (जनता) सभामा उपस्थित नभएका हुन् । उनीहरुले मिडियाहरुले फैलाएका समाचारहरुका कारण पनि प्रभाव परेको दाबी गर्दै आएका छन् ।

मार्चपछि पहिलोपटक शनिबार ओक्लोहोमामा ट्रम्पको उपस्थितिमा जनसभा भएको थियो । कोरोनाभाइरसको महामारीका बेला सभा आयोजना गरिएको भन्दै केही व्यक्तिहरुले ओक्लाहोमाको सर्वोच्च अदालतमा जुलुस रोक्न आवेदन दिएका थिए । यद्यपि, उक्त आवेदनलाई अदालतले खारेज गरिदिएको थियो ।

उक्त सभामा पनि निकै कम मानिसहरुको उपस्थित देखियो । १९ हजार जना अट्ने रंगशालामा आयोजना गरिएको सभाका लागि लाखौं व्यक्तिहरुले टिकटको माग गरेको आयोजकहरुले बताउँदै आएका थिए । तर उनीहरुको दाबी फिका सावित भयो । मानिसहरु रंगशालामा निकै कम संख्यामा उपस्थित भए ।

उक्त सभामा ट्रम्पले दुई दिनअघि केही वामपन्थीहरुले ओरेगनमा जर्ज वासिंगटनको पुत्ला जलाउँदा अमेरिकाको झण्डा समेत जलाएको आरोप लगाएका थिए । झण्डा जलाउनेहरुलाई चाँडै नै कानून निर्माण गरी कार्वाही गर्ने चेतावनी उनले दिए । ट्रम्पले पटक–पटक प्रदर्शनकारीहरु विरुद्ध रोष प्रकट गर्दै आइरहेका छन् । 

टुलसामा हुने भनिएको ट्रम्पको दोश्रो सभामा उपराष्ट्रपति माइक पेन्स लगायतले सम्बोधन गर्ने  कार्यक्रम तय गरिएको थियो । तर जनउपस्थिति निकै थोरै देखिन थालेपछि सभा स्थगित गरिएको छ । पछिल्ला जनमत सर्वेक्षणहरुले पनि ट्रम्पको घट्दो लोकप्रियता देखाइरहेका छन् । त्यतिमात्रै होइन राष्ट्रपति ट्रम्पले पछिल्लो समय धेरै राजनीतिक विरोधको सामना समेत गर्दै आइरहेका छन् ।

उनका सल्लाहकारहरुका अनुसार शुरुमा कोरोना भाइरसबारे उनले लिएको नीतिले मानिसहरु चिढिन पुगे । दोश्रो, अमेरिकामा अहिले चर्किएको जातिय विभेद विरुद्धको आन्दोलनले उनका सभाहरु प्रभावित बने । प्रहरीले अश्वेत व्यक्तिको हत्या गरेपछि चर्किएको आन्दोलनले ट्रम्प सरकारलाई नै हल्लाइदियो । त्यसको प्रभाव पनि ट्रम्पमाथि परेको बताइन्छ । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप