शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशक महतको नयाँ फिल्ममा टीकाको आइटम गीत

सोमबार, ०८ असार २०७७, ११ : ५०
सोमबार, ०८ असार २०७७

 काठमाडौं । कोरोनाको कहर अझै कायमै छ । तर सरकारले लकडाउन भने केही दिनयता खुकुलो गरेको छ । त्यसैले विभिन्न क्षेत्रका मानिसहरु काममा फर्कन थालिसकेका छन् । 

यस्तैमा निर्देशक श्रीराम महत पनि दोस्रो फिल्मको तयारीमा जुटेका छन् । आइतबार उनले फिल्मका लागि गायिका टीका प्रसाइको स्वरमा ‘सुनको बाला हातमा’ बोलको एक गीत रेकर्ड गराए ।

नक्साल स्थित एकेबस्टिक रेकडिङ स्टुडियोमा रेकर्ड भएको गीत फिल्ममा आइटम गीतको रुपमा प्रयोग हुने निर्देशक महतले जानकारी दिए ।

प्रेमकथामा केही पहिले ‘म त तिम्रै हुँ’ फिल्म निर्देशन गरेका महतले अहिले बनाउन लागेको फिल्मको नाम भने सार्वजनिक गर्न चाहेनन् ।

‘फिल्मको लेखन कार्य सकिन लागेको छ’ निर्देशक महतले भने ‘नाम दर्ता भएपछि मात्र सार्वजनिक गर्ने विचार छ ।’

रेकर्ड भएको गीतको शब्द बरिष्ठ गीतकार हिराकाजी थापाले कोरेका हुन् । नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतले राम्रो चर्चा पाउने गायिका टीका बताउँछिन् । ‘मैले धेरै प्रकारको गीत गाएकी छु । तर यो गीत सबैभन्दा भिन्न रहेको छ,’ टीकाले थपिन् ।

प्रेमकथाको विषयमा बन्ने फिल्मको निर्माता गीतकार हिराकाजी थापा नै हुन् । फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने छ । छिट्टै कलाकार छनौट गरेर फिल्म छायाँकनमा निस्किने निर्देशक महतले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप