शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लगनखेलबाट हराएकी १३ वर्षीया किशोरी कसरी पुगिन् भारत ?

मङ्गलबार, ०९ असार २०७७, १२ : ४१
मङ्गलबार, ०९ असार २०७७

गत ०७६ फागुन ०९ गते ललितपुरको लगनखेलमा बुबाआमासँग बस्दै आएकी १३ वर्षीया किशोरी हराउँछिन् । छोरी हराएपछि उनको परिवारले तत्कालै किशोरीको खोजी सुरु गर्छ । आफन्तको घर गयो कि भन्दै फोनमार्फत सोधखोज गर्छन्, तर कहीँ पत्ता लाग्दैन ।

अन्ततः फागुन २० गते परिवारले महानगरीय प्रहरी परिसर, ललितपुरमा छोरी हराएको भन्दै निवेदन दिन्छन् । प्रहरीले पनि किशोरीको खोजी गर्न थाल्छ । नजिकको चिनेजानेको मान्छेहरुसँग सोधपुछ गर्छ ।

फागुन २७ गते ललितपुर प्रहरीलाई एउटा सूचना आउँछ, ‘एक महिलाले ती किशोरीलाई जन्मदिन मनाइदिन्छु भन्दै ललाईफकाई भारत पुर्याएको छ ।’

ललितपुर प्रहरीले जेठ १६ गते मानव बेचबिखन ब्यूरोलाई ‘ललितपुरको लगनखेल बस्ने १३ वर्षीया किशोरी भारतमा बेचिएको’ र उद्धार गर्नु भन्दै किशोरीको फोटोसहित पत्र पठाउँछ । ब्यूरोले पनि किशोरीले बोक्ने मोबाइलबाट अनुसन्धान सुरु गर्छ । मोबाइलको लोकेशन ट्रेस गर्न थाल्छ ।

लकडाउनको समयमा १३ वर्षीया किशोरी भारतमा बेचिएको खबर पाएपनि उद्धार गर्न मुस्किल नै थियो । तर, ब्यूरोको सक्रियताको कारण मोबाइलबाटै लोकेशन ट्रेस गरेर ती किशोरीको उद्दार भएको छ ।

ब्यूरोका एसपी प्रभु ढकाल भन्छन्, ‘जसरी पनि किशोरीको उद्धार गर्नुपर्छ भन्ने मात्र टोलीको सोच थियो । त्यसैले लकडाउनको प्रतिकूल समयले पनि प्रभाव परेन । अन्ततः किशोरीको उद्धार गर्न सफल भयौँ ।’

प्राविधिक अनुसन्धानमार्फत ति किशोरीको भारतबाट उद्धार गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी गोविन्थ थपलियाले बताए । उनले भने, ‘जेठ २ गते किशोरीको मोबाइलमा भारतीय नम्बरबाट फोन आएको देखियो । त्यही फोनको आधारमा किशोरीसम्म पुगेका हौँ ।’

नेपालबाट किशोरीलाई भारतसम्म पुर्याउने २ जना पनि पक्राउ परेको थपलियाले बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे न.पा. १ का कृष्ण मगर र सिन्धुपाल्चोक साविक लिसंखु गा.वि.स. ९ का प्रविन तामाङ रहेका छन् । असार २ गते तामाङलाई पोखराबाट र मगरलाई इटहरीबाट पक्राउ गरिएको प्रवक्ता थपलियाले रातोपाटीलाई जानकारी दिए ।

लगनखेलबाट हराएकी किशोरीलाई दलालहरुले फागुन २६ गते भारत पुर्याएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । किशोरीले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘लगनखेलबाट चिनैको साथीको लहैलहैमा लागेर घरबाट निस्केकी हुँ ।’

कसरी भारत पुर्याइयो किशोरीलाई ?

ब्यूरोका एसपी थपलियाको भनाइ जस्ताको तस्तै:

घरबाट निस्केपछि सिधै उनीहरु ठमेल पुगेका छन् । ठमेलमा उनीहरुको सिन्धुपाल्चोकका कृष्णसँग भेट हुन्छ । कृष्णले किशोरीलाई ललाईफकाई विभिन्न आश्वासन देखाउँछन् । किशोरी कृष्णसँग बस्न तयार हुन्छिन् ।

उनको साथी भने किशोरीको मोबाइल लिएर लखनखेल नै फर्किन्छन् साथी । त्यहाँ कृष्णले एक होटलमा दुई कोठा बुक गरेका हुन्छन् । एउटामा केटी र अर्कोमा कृष्ण बस्छन् । करिब २ हप्ता त्यसरी नै ठमेल बस्छन् ।

सौरहा घुम्न जाम भन्दै फागुन २३ गते कृष्णले किशोरीलाई ठमेलबाट ट्याक्सीमा राखेर मुग्लिनतर्फ लाग्छन् । मुग्लिनमा प्रविणलगायत अन्य दुई केटीसँग उनीहरुको भेट हुन्छ । त्यतिबेला अन्दाजी साँझको ६ बजेको थियो ।

त्यसपछि उनीहरु मुग्लिनबाट सार्वजनिक बस चढेर सुनौलीतर्फ लाग्छन् । २४ गते साँझ उनीहरु सुनौली पुगेको खुलेको छ । नाकामा कसैले रोक्यो भारतको पिपरामा काम गर्ने कामदार हौँ भन्ने योजना समेत उनीहरुको बनेको हुन्छ ।

उनीहरु २५ गते बिहानै सुनौली नाका पार गर्छन् । सुनौली पारी गएपछि भारतको पिपरा पुग्छन् । पिपरा पुगेपछि प्रविण नेपाल फर्किएको खुलेको छ ।

पिपरामा कृष्णलगायत चारजनाले किशोरीलाई रसलपुर पुर्याउँछन् । त्यहाँ एकजना भारतीय नागरिकसँग उनीहरुको भेट हुन्छ । त्यसपछि नेपालबाट गएका कृष्णसँगैको टोली भारतीय नागरिकलाई किशोरी जिम्मा लगाएर फर्किन्छन् ।

करिब २ महिनासम्म रसलपुरकै एक होटलमा किशोरीलाई राख्छन् । ती भारतीय नागरिकले किशोरीलाई २ महिनापछि ओडओलिया पुर्याएको पाइएको छ । ओडओलियामा तीनजना भारतीय महिलासँग भेट हुन्छ । तीन भारतीय महिलाले ओडओलियामा ति किशोरीलाई एक डान्सबारमा काम लगाइदिन्छन् ।

मानव बेचविखन ब्यूरोको टोली पनि ती किशोरीलाई खोज्न ओडओलिया पुगेको थियो । जेठ २७ गते साँझ ति किशोरी ओडओलिया सहरको सडकमा हिँडिरहेको अवस्थामा ब्यूरोको टोलीले उनलाई देख्छ । तत्कालै भारतीय प्रहरीको सहयोगमा त्यहाँबाट किशोरीको उद्धार गरियो ।

भारतबाट उद्धार गरेर ल्याइएकी ति किशोरीको आरडटडी र पिसीआर परीक्षण गर्दा नेगेटिभ आएको ब्यूरोका एसपी ढकालले बताए । उनले भने, ‘अहिले किशोरीको अवस्था सामान्य छ ।’

घटनाका मुख्य नाइक प्रविन देखिएका छन् । प्रविनकै मिलेमतोमा ति किशोरीलाई भारत पुर्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । किशोरीलाई भारतमा पुर्याएर श्रमशोषण गर्न बाध्य बनाउने अन्य व्यक्तिहरुको पनि खोजीकार्य जारी रहेको एसपी ढकालले बताए । पक्राउ परेका तामाङ र मगरविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ति किशोरीले प्रहरीसमक्ष भारतमा रहँदा आफुलाई शारीरिक र मानसिक यातना दिइएको बताएकी छन् । उनले नै आफू डान्सबारमा काम गर्ने गरेको बताइन् । पारिवारिक वातावरण राम्रो नभएको कारण अरुको लहलहैमा घरबाट निस्केको ती किशोरीको भनाइ छ ।

किन आवेगमा आउँछन् किशोरी ?

बासु आचार्य, मनोविश्लेषक

१२ वर्षदेखि १८ वर्षसम्मको उमेर चरण, जसलाई हामी टिनएज भन्छौँ, यतिबेला शारीरिक र मानसिक रुपले उनीहरुमा तीव्र परिवर्तन हुन्छ । यसलाई ‘गोल्डेन एज’ पनि भनिन्छ, जो जीवनकै सर्वाधिक स्मरणीय क्षण समेट्ने मौका हो । यहि चरणमा पुगेपछि किशोर–किशोरीले विभिन्न किसिमको परिवर्तनलाई आत्मसात गर्नुपर्ने हुन्छ ।

अभिभावकले आफ्ना छोराछोरीलाई किशोर अवस्थामै पुगेपछि बढी नियन्त्रणमा राख्न खोज्छन् । छोराछोरीले गलत बाटो समात्लान् भन्ने कुराले पनि अभिभावकहरु सर्तक रहन्छन् । त्यसैले टिनएजर्सको धेरैजसो कुरामा अभिभावकले रोकटोक गरिरहेका हुन्छन् । यस्तो हस्तक्षेपले गर्दा उनीहरुलाई दवाव पैदा गर्छ ।

योसँगै टिनएजमा प्रवेश गरिसकेपछि बच्चाले आफुले सामाना गरिरहेको परिस्थितीबारे अभिभावकलाई बताउन अप्ठ्यारो मान्छन् । उनीहले शारीरिक परिवर्तनबारे खुलेर कुरा गर्न सक्दैनन् । वास्तवमा यो समयमा अभिभावकले छोराछोरीको मनोदशा, शारीरिक अवस्था सबैलाई बुझ्नुपर्ने हुन्छ ।

अभिभावकले उनीहरुको कुरा सुन्नुपर्छ । गाली गर्नहुन्न । माया गर्नुपर्छ । टिनएजको उमेरमा उनीहरुको अरुको कुरा सुन्दैनन् । एकोहोरो हुन्छन् । झर्केको, धेरै बोलेको र गाली गरेको उनीहरुलाई मन पर्दैन ।

यदि अभिभावकले गाली गर्ने, माया नगर्ने जस्ता व्यवहार देखाएको खण्डमा उनीहरु आत्महत्या गर्ने, घरबाट बाहिर निस्किने गर्छन् । त्यसैले पहिला अभिभावक नै सजग रहनुपर्छ । टिनएजर्सलाई उचित अभिभावकत्व आवश्यक हुन्छ ।

मनोविश्लेष आचार्यको भनाइजस्तै ति किशोरीको पनि परिवारमा बुबाआमासँग सधैँ झगडा पर्थ्यो । परिवारकै कारण ति किशोरी घरबाट निस्केको प्रहरीको भनाइ छ ।

लकडाउनको अवधिमा पक्राउ परेका अभियुक्त

लकडाउनकै अवधीमा देशभर मानव बेचविखन, श्रमशोषण र यौनदुराचारको ८ वटा घटना भएको छ । जसमा १७ जना पक्राउ परेका छन् ।

१.०७६ चैत २ र ३ गते  नवलपरासीकी वर्ष ३० र बर्ष २५ की दुईजना महिलालाई वैदेशिक रोजगारको प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजान लागेको अवस्थामा परासी बजारबाट उद्धार गरी अनुसन्धान गरिएको । घटनामा संलग्न काठमाडौँको बर्दघाटबाट मधु भन्ने व्यक्ति र नवलपरासी त्रिवेणी सुस्ताका वर्ष ४६ की कलावती मल्लाह पक्राउ ।

२.  चैत ६ गते  कैलालीकी बर्ष ३१ की महिलालाई आफ्नो नामथर ठेगाना ढाँटी आफु इन्डियन आर्मी हुँ भनी प्रलोभनमा पारी ललाईफकाई बिवाह गर्छु भनी भारततर्फ लैजाँदै गरेको अवस्थामा नेपाल भारत सिमाबाट उद्धार गरी अनुसन्धान गरिएको । घटनामा संलग्न अछाम पय्चदेवल बिनायक नगरपालिका–६ तोली बस्ने महेश विक पक्राउ ।

३. ०७७ वैशाख २७ र २८ गते सुनसरीकी जागिर लगाइदिने प्रलोभन देखाई सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतारामा धरानबाट बर्ष १७ र बर्ष १४ की दुईजना केटीलाई मोटरसाइलमा लैजाँदै गरेको अवस्थामा उद्धार गरी अनुसन्धान गरिएको । घटनामा संलग्न जनकपुर उप.म.न.पा. ८ बस्ने ललन मण्डल र सिराहा नवराजपुरका महेश प्रसाद यादव पक्राउ ।

४. वैशाख २६ गते चितवनकी वर्ष २८ र वर्ष १९ की दुई जना महिलालाई आफ्नो घरमा बोलाई यौनकार्यमा लगाएको अवस्थामा उद्धार गरी अनुसन्धान गरिएको । घटनामा संलग्न भरतपुर–३ बस्ने गंगा कुमारी कटुवाल पक्राउ ।

५. कैलालीकी वैशाख २ गते बर्ष १४ कि नाबालक केटीलाई ललाईफकाई विभिन्न प्रलोभनमा पारी घरबाट लगी आलिताल धिमडामा बन्धक बनाइराखेकोमा अवस्थामा उद्धार गरिएको । घटनामा संलग्न डडेल्धुरा आलितालका तिलख बहादुर साँउद, र मुकेश साउँद पक्राउ ।

६. २०७६ मंसिर ६ गते कञ्चनपुरकी भारतमा राम्रो नोकरी लगाइदिन्छु भनि घरबाट ललाईफकाई भारतको दिल्लास्थित लक्ष्मीनगरमा कोठामा पुर्याई यौनशोषण गरेकोमा भागी नेपाल आइ जाहेरी गरेको । घटनामा संलग्न कञ्चनपुरका पवन जोशी      लाई ०७७ जेठ ५ गते पक्राउ गरिएको छ ।

७. ०७६ माघ २९ गते होटलमा जागिर लगाईदिन्छु भनी कास्कीकी बर्ष २० की र बर्ष १९ की दुईजना केटीहरुलाई सिम्पानीस्थित बाग्लुङ संगिता खाजाघरमा ल्याई यौन व्यवसायमा लगाएको स्थानबाट उद्धार गरी अनुसन्धान गरिएको । घटनामा संलग्न ममता तामाङ, कुमार सुनार र संगिता परियार समेत ३ जनालाई ०७७ जेठ ६ गते पक्राउ गरिएको ।

८. ललितपुरकी १३ वर्षीया नाबालिकालाई काममा लगाइदिन्छु भनी ललाईफकाई भारतमा पुर्याई बेचबिखन गरेकोमा भरतीय प्रहरीको सहयोगमा भारत उत्तर प्रदेश रसलपुर पिप्राबाट उद्दार गरिएको । घटना संलग्न कृष्ण मगर र प्रविन तामाङ पक्राउ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप