बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रथुमका सात विद्यालय नमूना बन्दै

शुक्रबार, २३ भदौ २०७४, ०९ : ०८
शुक्रबार, २३ भदौ २०७४

तेह्रथुम - तेह्रथुमको आठराई गाउँपालिकाका सातवटा आधारभूत विद्यालय नमूना विद्यालय बन्ने भएका छन् । नमूना विद्यालय बनाउन देउराली सोसाइटी, तेह्रथुमले अभियान सञ्चालन गरेको छ । विद्यालय स्रोत केन्द्रले छनौट गरेका विद्यालयसँग सोसाइटीले साझेदारी गरी अभियानलाई तीव्रता दिएको हो । 

साझेदारी 
विद्यालयमा बालमैत्री वातावरण तयार गरी नमूना विद्यालय बनाउन समुदायका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी अभियान सञ्चालन गरिएको देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले बताए । यसका लागि सम्बन्धित विद्यालयले २५ प्रतिशत र देउराली सोसाइटीको ७५ प्रतिशत सहयोग हुने गरी साझेदारी भएको छ । 

निर्माणकार्य
बालमैत्री वातावरण तयार गर्न वाइड बोर्ड, कार्पेट, फिल्टर, बालमैत्री कक्षा व्यवस्थापन, बालमैत्री खानेपानी धारा निर्माण लगायतका काम भइरहेको देउराली सोसाइटी तेह्रथुमका आठराईस्थित सामाजिक परिचालक सुभाष कन्दङवाले जानकारी दिए । 

नमूना विद्यालय निर्माणका लागि विद्यालयको अवस्थाअनुसार नौ हजारदेखि १५ हजारसम्म सहयोग देउराली सोसाइटीले गरेको छ । 

विद्यालयहरु
आठराई गाउँपालिकाको पुरानागाउँ आधारभूत विद्यालय, सङ्क्रान्तिबजार, सिंहवाहिनी आधारभूत विद्यालय खाम्लालुङ, सरस्वती आधारभूत विद्यालय ह्वाकू, रन्दल आधारभूत विद्यालय, इवा, सरस्वती आधारभूत विद्यालय, छातेढुङ्गा, जलकन्या आधारभूत विद्यालय, चुहानडाँडा र महेन्द्रोदय आधारभूत विद्यालय, थोक्लुङ नमूना विद्यालय बन्ने भएका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप