शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई प्रचण्डले सम्झाए कम्युनिस्ट आन्दोलनको आदर्श, माधवले भने– आफूले गरेको काम मात्रै राम्रो हुने ?

बुधबार, १० असार २०७७, १९ : ५९
बुधबार, १० असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतिक्षित स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ ।  पहिलो दिनको बैठकमा छलफलका एजेण्डा अनुमोदन भएसँगै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर शुक्रबार बस्नेगरी बैठक स्थगित भएको छ । 

बैठकमा विगतमा जस्तो राजनीतिक प्रतिवेदन पेश भएन । मौखिक रुपमा सम्बोधन गरेका दुवै अध्यक्षले पार्टी र सरकारका बारेमा केन्द्रीत भएर धारणा राखेका थिए । प्रचण्डभन्दा अगाडि सम्बोधन गरेका ओलीले सरकारलाई पार्टीले अपेक्षित सहयोग नगरेको गुनासो गरे भने प्रचण्डले सरकार एक्लै हिँड्न खोज्दा समस्या भएको टिप्पणी गरे । ओलीले पार्टीले सरकारलाई सहयोग र समर्थन गर्नुको साटो प्रतिपक्षको जस्तो व्यवहार गरेर घेरावन्दीमा पार्ने प्रयास भएको गुनासो गरे । 

ओली र प्रचण्ड दुवैले घुमाउरो शैलीमा एकले अर्कोलाई सहयोग नगरेको र पार्टी एकता नै संकटमा पर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । दुवै नेताले कमजोरी केलाउँदै र सच्याउँदै अघि बढ्नुको विकल्प नभएको पनि स्मरण गराएका थिए । 

‘विभिन्न कठिनाई र चुनौतीका बीच पनि सरकारले धेरै राम्रा कामहरु गरेको छ । तर सरकारले गरेका राम्रा कामको पनि पार्टीकै साथीहरुले प्रचार गर्नुको साटो उल्टो घेराबन्दी गर्ने र सरकारको बद्नाम गर्ने काम भइरहेको छ । यो दुःखद पक्ष हो’ बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ओलीले सम्बोधनका क्रममा भनेका थिए– ‘आफ्नै सरकारका विरुद्ध हस्ताक्षर नै गरियो, पार्टी नै फुटने होकि जस्तो पनि भयो तर यसले हामी कसैलाई राम्रो गर्दैन ।’

सम्बोधनको अधिकांश समय ओलीले सरकारको बचाउ गरेका थिए । पछिल्लो समय नयाँ नक्सा जारी गर्नु, नागरिकता विधेयक अघि बढाउनु, कोरोनाविरुद्धको लडाइमा सतर्कता अपनाउनु सरकारका उपलब्धिका रुपमा लिनुपर्नेमा बरु अप्ठेरो पार्नतिर नेताहरु लागि परेको ओलीको भनाई थियो । 

नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामहरुबाट आत्तिएर केही शक्ति केन्द्रहरु कमजोर बनाउन लागिरहेको भन्दै उनले सानातिना मतभेदलाई बिर्सेर मिलेर अघि बढ्नुको विकल्प नभएको सुनाएका थिए । ‘काम गर्ने शिलशिलामा कमी कमजोरी पनि भए होलान्, तिनलाई सुधार्दै जाने हो । बाहिर एउटा समाचार आउने वित्तिकै त्यसैका पछाडि दौडिने गरेको देखिन्छ । त्यो समाचार सत्य नहुन पनि सक्छ’, ओलीको भनाई थियो ।

त्यस्तै, प्रचण्डले पनि आफ्ना केही गुनासाहरु सुनाएका थिए । उनले पार्टी र सरकार सञ्चालनबारे पहिले गरिएको सहमति कार्यान्वयन नभएको, सरकार एकलौटी ढंगले चलाउन खोजिएको, महत्वपूर्ण निर्णयहरु गर्ने बेलामा समेत पार्टीलाई कुनै जानकारी दिने नगरिएको जसले गर्दा पार्टी एकतामाथि नै प्रश्न उठ्न थालेको भन्दै सरकारमा बस्नेहरुले यी विषयहरुमा सोच्नुपर्ने बेला आएको धारणा राखेका थिए । 

‘कम्युनिष्ट नेतृत्वको सरकारको आदर्श र चरित्र पनि कम्युनिस्टकै हुनुपर्ने हो । तर त्यस्तो छैन । सामूहिक निर्णयको सिद्धान्त लागु भएको छैन । पार्टीको बैठक समयमा बस्दैन’ प्रचण्डले सम्बोधनका क्रममा भनेका थिए, ‘पार्टी एकता ऐतिहासिक कदम थियो । त्यसबेला नेता कार्यकर्तामा जुन उत्साह थियो, त्यो अहिले हराउँदै र कमजोर बन्दै गएको छ । यसले गर्दा कम्युनिस्ट आन्दोलन नै संकटमा परेको होकि भन्ने प्रश्न उठ्न थालिसकेको छ । यस्तै अवस्था रहने हो भने पार्टी एकताको उदेश्य पुरा हुँदैन र त्यसपछि हामीसँग पश्चाताप गर्नुको पनि विकल्प रहँदैन ।’

अध्यक्ष प्रचण्डले पार्टीभित्र कुनै पनि विषयको बहस र छलफल नै हुन नसक्नु दूर्भाग्यको विषय भएको भन्दै सच्चिएर अघि बढ्न सके मात्रै पार्टी एकताको मर्म र कम्युनिस्ट आन्दोलनको भावनासँग मेल खाने बताएका थिए । ‘हामी सबैले कमी कमजोरीको गम्भिर आत्समिक्षा गर्न ढिला भैसकेको छ । कसैको एक्लो प्रयासले यो सम्भव भएको पनि होइन । यसमा कसैले घमण्ड नगर्दा नै राम्रो हुन्छ’, प्रचण्डको भनाई थियो । 

प्रधानमन्त्री समेत रहेका ओलीले सरकारले गरेका कामको फेहरिस्त सुनाइरहँदा बरिष्ठ नेता माधवकुमार नेपालले आफैं मात्रै ठिक र आफुले गरेको काम मात्रै राम्रो भन्ने प्रवृत्तिको विरोध गरेका थिए ।  ‘आफुले गरेको काम मात्रै राम्रो हुने ? अरुले गरेको कामचाही नराम्रो देख्ने प्रवृति ठिक होइन’, नेपाल बीचैमा बोल्न थालेपछि ओलीले आफ्नो पालामा बोल्न सुझाव दिएका थिए । ‘माननीयसहित सबैले बोल्न पाउनुहुन्छ । आफ्नो पालामा बोल्दा राम्रो हुन्छ कि मान्य ज्यु ?’ ओलीले वीचमै प्रतिपाद गरेका थिए । ओलीले सम्झाएपछि नेता नेपाल शान्त बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप