शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु

बिहीबार, ११ असार २०७७, २१ : ०२
बिहीबार, ११ असार २०७७

एजेन्सी । भारतको बिहार राज्यमा चट्याङ लागेर आज एकैदिन ८३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापन विभागले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्ला दिन चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । विभागकाअनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ । त्यहाँ १३ जनाको मृत्यु भएको छ । त्यस्तै मधुवनी र नवादामा ८–८ जनाको मृत्यु भएको छ । यसबाहेक सिवानमा ६, भागलपुरमा ६, पूर्वी चम्पारणमा ५, दरभंगा र बाँकामा ५–५ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिमी चम्पारणमा २ जनाको मृत्यु भएको जनाइएको छ ।

बिहारका करिब २३ जिल्लामा परेको चट्याङबाट ठुलो जनधनको क्षति भएको बीबीसीले जनाएको छ । चट्याङका कारण मृत्युवरण गरेका मृतकका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पूर्व उपमुख्यमन्त्री तथा वर्तमान विपक्षी दलका नेता तेजस्वी यादवले घटनाप्रति दुःख प्रकट गरेका छन् । बिहार बाहेक उत्तर प्रदेशमा पनि चट्याङ लागेर केही व्यक्तिको मृत्यु भएको जनाइएको छ । त्यहाँको देवरियामा चट्याङ लागेर ५ जनाको मृत्यु भएको भने थुप्रै घाइते भएका छन् ।

मौसम विज्ञान विभागका वरिष्ठ वैज्ञानिक आरके जेनामानीले भने– ‘असम, मेघालय, अरुणाञ्चल प्रदेश, बिहार, पश्चिम बंगालको उप हिमालय क्षेत्र र सिक्किममा आगामी ३ दिन भारी वर्षा हुनेछ । यसकारण बाढीको सम्भावना छ । हामीले यसबारेमा केन्द्र र राज्य सरकारलाई सूचित गरिसकेका छौं ।’ यसअघि २२ जुनमा राष्ट्रिय आपत व्यवस्थापन प्राधिकरणले बिहार र असमका धेरै जिल्लाहरुका नदीहरुमा बाढी आउने खतरा रहेको चेतावनी दिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप