शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म सूर्यबहादुर

शुक्रबार, १२ असार २०७७, ११ : ४१
शुक्रबार, १२ असार २०७७

सुन्नुस त !
मलाई चिन्नु भयो ?
म सूर्यबहादुर तामाङ !
यो युगकै दुःखी मान्छे
हरेक दिन अभावको सगरमाथा बोकेर
न्यानो घामको खोजीमा भौँतारिरहने
बिल्कुलै सपनाविहीन उपेक्षित मानव !
जसको हिँड्ने बाटोहरु
खाल्डाखुल्डी गेग्रान मात्र भइरह्यो
न त यी बाटोहरुमा कहिले
घामको प्रकाशले नै पछ्यायो  
सधैँ छामछाम छुमछुम गरेर
यो सूर्यबहादुर बडो मुस्किलले हिँडिरह्यो !

यो मेरो मृत शरीरको छेवैमा लडिरहेको  
पसिनाको दुर्गन्धमा लपेटिएको एक मात्र सारथि
जो मेरो जिन्दगीको अन्तिम स्वासको  
निःशब्द र उदास एक मात्र साक्षी हो ।  
तपाईं यसलाई फगत
एउटा नाम्लो मात्र भन्न सक्नुहुन्छ ।
भलै उग्र घामको तापमा
यसको जरो र खस्रो सतहले
मेरो निधारको छाला उक्काए पनि
मेरो तालुको कपालहरु
उखेलेर कुरूप बनाइदिए पनि
मेरो जीवनको भयङ्कर भोक र कष्ट
र आँखैमा हराएका आँशुहरु देख्ने
एक मात्र अन्तिम साक्षी हो ।

मानव भएर
मानवको जुनी बाँच्न नसकेको
म उपेक्षित सूर्यबहादुर
जसलाई भारी बोकेर
पसलको ढोका ढोका चाहार्दै हिँड्दा
कोठा कोठामा सामान पुर्याउन जाँदा  
न कसैले एक दिन
यो सूर्यबहादुर भोकै छ कि ? भनेर सोधे
न त यो सूर्यबहादुर
किन कहिले हाँस्दैन ? भनेर खोजे
न त धम्किले स्वास बढेर हेप्याक हेप्याक हुँदा  
ए ! सूर्यबहादुर एकछिन आराम गर भनेर
मनदेखि नै कसैले संवेदना देखाए
म सूर्यबहादुर
यो कुरूप समयले बनाएको
मानवभित्रको ज्यादै निकृष्ट मानव ।

यो सुनसान सडकमा
बेवारिसे भएर आकाश हेर्दै
कहिले नउठ्ने गरी सुतेको बेला पनि
यो सहरलाई
यी शासकहरुलाई
कुनै लज्जाबोध छैन
मात्र चिन्ता छ
भोली अर्को सूर्यबहादुर को आउला ?

यी सेता हिमालहरु हेरेर
फुलिरहेका फूलहरु देखेर
बगिरहेको नदीहरु छोएर  
अरूले अनुभव गरेजस्तै सुन्दरताको अनुभव
यो सूर्यबहादुरले कहिले गर्न सकेन  
मेरा लागि यो हिमाल
कठङ्ग्रिने सेतो पहाडभन्दा केही लागेन
फूलहरु कहिले प्राथमिकतामा परेनन्
नदीहरु तिर्खा मेट्ने साधनभन्दा अरू केही लागेन  
स्वयं यो सूर्यबहादुर तामाङ
एउटा अचाक्ली कठोर हिमाल भएर बाँच्यो
हरेक दिन मुर्झाएर झर्ने फूल भएर बाँच्यो
नदी जस्तै एकोहोरो बगिरहने
गन्तव्यहीन आत्मा भएर बाँचिरह्यो
कुरूप समयले बनाएको
मानवभित्रको निकृष्ट मानव भएर
यो सूर्यबहादुर बाँचिरह्यो ।

सुनीलबाबु श्रेष्ठ
दिक्तेल, हाल बानेश्वर  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा