शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा सँगसँगै बढ्छ यो लुगा, यस्ता छन् अन्य विशेषता

शुक्रबार, २३ भदौ २०७४, १३ : ४१
शुक्रबार, २३ भदौ २०७४

स–साना बालबालिकामाथि हुने खर्च ठूला हुन्छन् । विशेषगरी साना बालबालिकाको लुगामा हुने खर्च धनको बर्बादीजस्तै लाग्छ । बढ्दो उमेरका बालबालिकालाई धेरै लुगा किन्नुपर्ने हुन्छ । यो समस्याको कुनै समाधान छैन जस्तो लाग्छ किनभने न त बच्चालाई बढ्नबाट रोक्न सकिन्छ (रोक्न पनि हुँदैन) न नै लुगालाई बच्चासँगै बढाउन सकिन्छ । तर अब यो समस्याको समाधान निस्किएको छ । बेलायतका एक युवा आविष्कारकले एउटा यस्तो लुगा बनाएका छन् जुन बच्चासँगै बढ्छ ।

केही समय अघि बेलायतका २४ वर्षीय रियान यासिनले यस्तो कपडा बनाएका छन् जो बालबालिका बढेसँगै आफैं फैलने गर्दछ । यो आविष्कारमा उनले जेम्स डायसन अवार्ड पनि पाएका छन् ।

रोयल कलेज अफ आर्टका ग्रेजुएट रियानले यस्तो कपडा बनाएका छन् जसको संरचना ओरिगेमीजस्तो छ । ओरिगेमी एक जापानी पेपर आर्ट हो जसमा कागजलाई मोडेर विभिन्न आकृति बनाइन्छ । जब पट्याइएको कागजलाई खोलिन्छ तब आकृति बढ्दै जान्छ ।

यी कपडामा हाइड्रोफोबिक कोटिङ पनि लगाइएको छ  जसका कारण यो वाटरप्रुफ बनेको छ । कपडाको बाहिरी पत्रमा माथिबाट तल फर्किएको एउटा ग्रिडजस्तो देखिने फोल्ड हुन्छ जसका कारण पानीले कपडालाई भिजाउन सक्दैन ।

बच्चा जति ठूलो भयो, शरिरको आकार प्रकार अनुसार यो लुगा फिट हुने गर्दछ ।

यद्यपी, यसमा एउटा कमी पनि छ । यो सिन्थेटिक कपडा हो । आमा–बुवाले सायद यो कपडा आफ्नो बच्चालाई लामो समयसम्म लगाइदिन चाहन्नन् । यसलाई सफा गर्न कुनै समस्या नहुने र लामो समयसम्म टिक्ने बताइएको छ ।

यी कपडालाई पेटिट प्ली नाम दिइएको छ । यसको आविष्कारका लागि रियानलाई एक वर्षको समय लाग्यो । यसमा उनले करिब २ लाख ५० हजारभन्दा बढिको जेम्स डायसन अवार्ड पनि पाए ।

रियानले उनी बुवा नभएपनि उनको दाइको छोरा सानै भएकाले बच्चाको लुगाको प्रबन्ध मिलाउनु अभिभावकका लागि कति चुनौतीपूर्ण छ भन्ने थाहा भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप