शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहरमा कलाकार : कार्यक्रम ठप्प हुँदा कोहीलाई कोठाभाडा तिर्न गाह्रो, कोही भन्छन् बेरोजगार भइयो

आइतबार, १४ असार २०७७, ११ : ०५
आइतबार, १४ असार २०७७

काठमाडौँ । कोरोनाको कहर विश्वमा दिनप्रतिदिन बढ्दो छ । नेपालमा पनि यसले चौतर्फी असर पुर्याएको छ । कोरोनाका कारण देशको अन्य क्षेत्र जस्तै सङ्गीत क्षेत्र पनि केही समयदेखि ठप्प छ । कोरोनाकै कारण सधैँ देशविदेशका स्टेज तताउँदै लाखौँ दर्शक नचाउने स्टेज कलाकार अहिले बेरोजगार भएर घरमै सीमित हुन पुगेका छन् ।

हुन त नेपालका मात्र होइन, कोरोनाका कारण विश्वकै कलाकारको हालत एउटै हो । साकिरा, जस्टिन बिबर, रिहानलगायत थुप्रै विश्व चर्चित कलाकारसमेत यतिबेला कोरोना नियन्त्रणको पर्खाइमा छन् । यो अवस्थामा कतिपय देशमा त ‘स्टेज सो’लाई प्रतिबन्धसमेत लागेको छ । नेपाल सरकारले पनि यस्ता कार्यक्रममा रोक लगाएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रको कुरा गर्ने हो भने अधिकांश गायक गायिका स्टेज कार्यक्रमबाट पालिएका छन् । स्वदेश तथा विदेशका स्टेज सो उनीहरुको रोजगारीभन्दा पनि फरक नपर्ला । स्टेज कार्यक्रमको आम्दानीबाट उनी सङ्गीतमा लगानी गर्ने, परिवार पाल्नेदेखि समाज सेवामा समेत देखिने गरेका छन् । उनीहरुले बनाउने एल्बम र गीत त केवल चर्चा र उपस्थितिका लागि मात्र सीमित हुन पुगेको छ । केही वर्षयता गीतसङ्गीतका लगानी बालुवामा पानी भनेझैँ भएको छ ।

तर पनि गीत सङ्गीतमा उनीहरुले लगानी गरिरहेका छन् । जसको कारण उनीहरुको सिर्जनाले मिडियामा स्थान  पाउने गरेका छ । यसैका कारण उनीहरुलाई देशविदेशका कार्यक्रमका आफर आउने गर्दछ । नेपालको साङ्गीतिक क्षेत्रको पछिल्लो अवस्था नियाल्ने हो भने करिब ९० प्रतिशत गायक गायिका स्टेज कार्यक्रमबाट पालिएका छन् । नयाँ वर्ष, नेपाली ठूला चाडपर्व लगायतमा अधिकांश समय गायक गायिका स्वदेशमा कमै भेटिने गर्दछन् । एक पटक विदेश यात्रामा निस्किँदा उनीहरुले लाखौँ आम्दानी गर्ने गरेको समेत बताउँछन् ।

विदेश मात्र कहाँ हो र स्वेदशका स्टेज कार्यक्रम समेत उनीहरुको आम्दानीको राम्रो स्रोत बन्ने गरेको थियो । कोरोनाका कारण अहिले यी सबैमा पूर्णबिराम लागेको छ । कोरोनाको कहर अहिले पनि बढ्दो छ । त्यसैले पनि अझै केही समय देशविदेशका स्टेज कार्यक्रम सुचारु नहुने अनुमान गर्न सकिन्छ । कोरोनाको कारण सिर्जित यो अवस्थाले कतिपय कलाकारलाई भविश्यको चिन्ता लाग्न थालेको छ, भने कतिपय अहिले हातमुख जोर्ने समस्या परेको बताउँछन् ।

केही कलाकार यो अवस्थामा आफूहरुलाई लाखौँ आर्थिक घाटा परेको चिन्ता गर्दछन्, भने केही फुर्सदिलो भएर अझै केही समय परिवारसँग बस्न पाउनेमा दङ्ग छन् । केही कलाकार भने नयाँ गीतसङ्गीत सिर्जना र समाज सेवामा समय बिताइरहेको र बिताउने सोचमा छन् । कोरोनाले पुर्याएको असर, उनीहरुको अहिलेको क्रियाकलाप र आगामी दिनको योजनाको विषयमा केही कलाकारसँग गरिएको कुराकानी उनीहरुकै शब्दमा ।

राजेशपायल राई (गायक) :

कोरोनाले धेरै कलाकार बिजोग भयो भनेर त्यसै बसेका छन् । म भने गीत रेकर्डिङमा व्यस्त छु । केही समय घरमा रहे पनि अहिले भने चिनेजानेको मानिस, चिनेजानेको स्टुडियोमा गीत रेकर्ड गरिरहेको छु । लकडाउनपछि काम थालेर पहिलेको सामान्य अवस्थामा फर्किने कोसिस गर्दैछु ।

कोरोनाको कारण देशविदेशका धेरै रद्द भए । आर्थिक पाटो हिसाब गर्ने हो भने लाखौँको कुरो आउँछ । अहिले हामी मात्र होइन विश्वका कलाकार त्यसै रहेका छन् । त्यसैले पनि मैले यसलाई पीडादायी अनुभवका रूपमा लिएको छु । स्टेज कार्यक्रमको सुरु नभएसम्म गीत रेकर्डिङमा समय दिने मेरो सोच छ ।

देवी घर्ती मगर (गायिका) :

लकडाउनको कोही समय गाउँमा र केही समय काठमाडौँमा बिताएँ । अहिले भने काठमाडौँमै छु । लकडाउन खुकुलो भएयता तीज गीतको रेकर्डिङमा लागेको छु । केही बाहिर आएका छन् भने केही आउने तरखरमा छन् ।

कोरोनाका कारण अस्ट्रेलिया, जापानलगायत केही देशका पूर्वनिर्धारित कार्यक्रम रद्द भए । जसले आर्थिका नोक्सानी पनि बेहोर्नु पर्यो ।

देशविदेशका अन्य कार्यक्रमहरुका अफर थिए । ती रद्द नभएका भए अहिले कोठाभाडा तिर्न समस्या पर्दैन थियो । खल्तीमा समेत केही पैसा हुन्थ्यो । अहिले त्यो समस्या भएको छ । खान बस्नसमेत गाह्रो भएको छ ।

रमेशराज भट्टराई (गायक):

लकडाउनको अवधिभर घरमै बसियो । टिकटक बनाइयो । अहिले नयाँ गीतसङ्गीत सिर्जनामा लागेको छु । कोरोनाको प्रत्यक्ष असर हामीजस्तो कलाकारलाई परेको छ । गत १४ चैतमा म लन्डन उड्नुपर्ने थियो, जान पाइनँ । त्यसपछि केही देशका टुर थियो । करिब ३, ४ महिना विदेशमै व्यस्त  हुन्थेँ । कोरोनाका कारण बिसौँ लाख घाटा भयो ।

देशविदेशका कार्यक्रम हामी कलाकारका लागि जागिर जस्तै हो । एल्बम बिक्दैन । कोरोनको कहर अझै केही समय रहन्छ । म १८, २० वर्षको उमेरदेखि गीतसङ्गीतमा लागेको हो । मैले ऊर्जाशील समय गीत सङ्गीतमा बिताएँ । अब आएर अर्काे पेसामा लाग्ने स्थिति पनि छैन । अन्य क्षेत्रमा केही गरौँ भने जिरोबाट सुरु गर्नुपर्छ । त्यसैले अहिले पूरै बेरोजगार भइयो । केही सयम धैर्य गर्नुको विकल्प रहने मेरो ।

पूर्णकला बिसी (गायिका):

लकडाउनको पूरै अवधि मैले पुख्र्यौली घर पोखरामा खेतीपातीको काममा बिताएँ । धान रोप्ने, मल बोक्नेदेखि सबै काम गरेँ । केही दिन भयो काठमाडौँ आएको ।

कोरोनाको कहर अगाडि विदेशका कार्यक्रमहरुमा व्यस्त थिए । देशमा पनि थुप्रै कार्यक्रम आयोजना हुँदै थियो, जसमा म पनि स्टेज तताउनेमा परेको थिएँ । धेरै त होइन यो हिउँद महिनामा देशविदेशको कार्यक्रमबाट २० लाख कमाउने मैले सोचेको थिएँ । त्यो सबै डामाडोल भयो ।

अहिले केही नयाँ गीत रेकर्ड गरिरेहको छु । स्टेजभन्दा पनि स्टुडियोका गीतहरुमा व्यस्त हुने सोच बनाएकी छु । गीतहरु पाइरहेको छु ।

शिव परियार (गायक) :

कोरोनाले धेरै त भन्दिनँ केही आर्थिक नोक्सान भने गरेको छ । देशविदेशका केही कार्यक्रमको अफर थियो । जसको आम्दानीले आफू र परिवारका लागि सजिलो हुन्थ्यो । अहिले बेरोजगार भइयो । अहिलेसम्म त्यस्तो असहज परिस्थिति छैन । अबको ६ महिना यस्तै भयो भने के गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

नवीन पौडेल (गायक) :

यो कोरोनाले काम चौपट भयो । यो वर्ष मेरो अमेरिका, इजरायल, जापान, यूकेलगायत करिब ७ देशमा कार्यक्रम थियो । केही स्वदेशी कार्यक्रम पनि थिए । सबै ह्याम्पर भयो । आर्थिक रूपमा भन्ने हो भने बिसौँ लाख घाटा ।

त्यसै के बस्नु भनेर केही दिनयता वन तथा वातावरण मन्त्रालयको संयोजनमा देशभरका विभिन्न नगरपालिकामा कोरोनाबाट जोगिन, सामाजिक दूरी कायम गर्ने लगायतको जनचेतना जगाउने कार्यक्रम लिएर देश दौडाहामा निस्किएको छु ।

शनिबार ललितपुरको महालक्ष्मी नगरपालिकाबाट सुरु भएको यो कार्यक्रम करिब देशको आधा जति जिल्लामा हुँदैछ ।

दुर्गेस थापा (गायक):

कोरोनाले देश विदेशको कार्यक्रम रद्द भएपछि म सन्देसमूलक गीत बनाउनतिर लागेँ । अहिले ‘बिच्च बिच्चमा २ एउटा फोटो खिच’ बोलको तीज गीत ल्याउँदैछु । केही दिनभित्र यो गीत आउँछ । केही समय गाउँमा गएर खेतीपाती पनि गरँे ।

गत फगुनयता मेरो देशविदेशका धेरै कार्यक्रम निर्धारित थियो । अस्ट्रेलियामा मात्र १३ वटा सो थिए । अन्य केही देशमा पनि त्यस्तै कार्यक्रम थिए । देशविदेशका कार्यक्रमबाट घुमघामको अलवा २५, ३० लाख आम्दानी हुन्थ्यो । सबै चौपट भयो ।

मन्जु पौडेल (गायिका) :

लकडाउनको समय केही काम गरिनँ । आफूले आफैलाई समय दिने एउटा मौकाको रूपमा लकडाउनलाई लिएँ । कोरोनाले देशविदेशका थुप्रै कार्यक्रम मिस भयो । आर्थिका हानि त भयो नै मानसिक तानाव पनि दियो ।

कोरोनाको कहर सबैतिर भएकाले अत्तालिएको छैन । भोलि फेरि राम्रो दिन आउने आशामा छु । कतिपय बेरोजगार बस्नुपर्ने हो भनेर चिन्ता भने लागेको छ । अहिले नयाँ गीत बनाउने तयारी गर्दैछु । तीजको गीत पनि  ल्याउँदैछु । अहिले नै विकल्प खोजिहाल्ने अवस्था छैन ।

राजनराज सिवाकोटी (गायक तथा सङ्गीतकार) :

अहिले नयाँ गीतसङ्गीतको काम भइरहेको छ । कोरोनाले केही समय विश्राम दियो । मानिसको आनीबानीदेखि वातावरणसम्ममा परिवर्तन आए ।

लकडाउनको सुरुवातको समय म भर्खर विदेशबाट फर्किएको थिएँ । त्यसैले ४० दिन होम क्वारेन्टिनमा बसेँ ।

यो वर्ष मैले क्यानडा, कोरिया लगायत केही विदेशका कार्यक्रम र स्वदेशका पनि थुप्रै कार्यक्रममा सहभागी हुनुपर्ने थियो । ती सबै रद्द भए । लाखौँको घाटा त छँदैछ । देशविदेश भ्रमणको अवसरसमेत गुम्यो । अबको केही समय गीतसङ्गीत सिर्जनामा खर्च गर्ने विचार गरेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप