शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा निर्माणाधीन घरमा युवक मृत भेटिए

सोमबार, १५ असार २०७७, १२ : ३९
सोमबार, १५ असार २०७७

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले जानकारी दिए । घटनाका बारेमा थप अध्ययन भइरहेको छ ।

स्याङ्तानले घर निर्माणको जिम्मेवारी निर्माण व्यवसायी रेशम गुरुङलाई रु ८० लाखमा ठेक्का दिएका थिए । राईलाई निर्माण व्यवसायी गुरुङले घर कुर्न राखेको घरबेटी स्याङ्तानले बताए । बिहान बेलुका निर्माणाधीन घर कुरेर बस्ने राई दिउँसो अन्यत्र काम गर्न जान्थे । 

शनिबार बेलुकीसम्म राई ओहोरदोहोर गरिरहेका थिए । आइतबार एक्कासि भुण्डिएको अवस्थामा भेटिएको निर्माण व्यवसायी गुरुङले बताए । हेड मिस्त्री उदयपुरका लक्ष्मण राईमार्फत चार महिनाअघि धीरज घर निर्माणस्थलमा आइपुगेको पनि उनले बताए । निर्माणाधीन घरमा सहयोगीका रूपमा समेत काम गर्ने राई आफन्त नभएको र कोठासमेत नलिएकाले निर्माण सामग्री कुरेर बस्ने गरेका थिए । 

मृतक राईको घरमा सम्पर्क गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दाबन्दी शुरु भएपछि आत्महत्या गर्नेको सङ्ख्या यस क्षेत्रमा पनि बढेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप