मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जाको माध्यमबाट पम्पिङ गरी खाद्यान्न उत्पादनमा वृद्धि गर्न सकिन्छः पूर्वमन्त्री शर्मा

सोमबार, १५ असार २०७७, १३ : २७
सोमबार, १५ असार २०७७

काठमाडौं ।  पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले खाद्य सङ्कटलाई समाधान गर्न स्वदेशमा नै खाद्यान्न उत्पादन गर्नका लागि उपयुक्त प्रविधिहरु प्रयोग ल्याउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा आज यहाँ आयोजित खाद्य सुरक्षाका लागि नवीकरणीय ऊर्जा प्रविधिको भूमिका विषयक वेबिनार गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा शर्माले सिँचाइ सुविधा पुग्न नसकेका खेतीयोग्य भूमिमा ऊर्जाको माध्यमबाट पम्पिङ गरी खाद्यान्न उत्पादन वृद्धि गर्न सकिने धारणा राखे । उनले कोरोना भाइरसले उत्पन्न विश्वव्यापी आर्थिक सङ्कटका कारण रोजगारी गुमाएर स्वदेश फर्कने जनशक्तिलाई व्यवस्थापन गर्न पनि कृषि व्यवसायमा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

अर्का पूर्वमन्त्री गणेश साहले कृषि पेशालाई राज्यले सम्मानीत दृष्टि दिन सकेमा युवा पुस्ताको आकर्याण बढ्ने बताउँदै कृषिलाई ऊर्जासँग जोडेर अन्नबाली उत्पादनदेखि वितरणसम्म व्यावसायिक सोच राख्न सकिएमा किसानको जीवनस्तर उड्नसक्ने विश्वास व्यक्त गरे । उनले गुणस्तरीय बिऊ, मलजस्ता सामग्रीको उपलब्धता, किसानको क्षमता अभिवृद्धिका लागि तालीम, अध्ययन–अनुसन्धान, सहज र सुलभ कर्जा उपलब्धताको उचित व्यवस्थापन गर्न सकिएमा निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषिमा जान सकिने बताए ।
 
ऊर्जाविद् प्राडा जगन्नाथ श्रेष्ठले तराई, पहाड र उच्च पहाडी क्षेत्रमा समग्रमा १० लाख हेक्टर कृषियोग्य जमिन सिँचाइको सुविधा नभएकोले बाँझो रहेकाले सौर्य विद्युत पम्पिङ प्रणालीहरु जडान गर्नसकेमा उल्लेखनीय रुपमा खाद्यान्न उत्पादन वृद्धि गर्न सकिने धारणा राखे । कृषि उत्पादन सुकाउन, चिस्याउन, प्रशोधन गर्न नवीकरणीय ऊर्जाका विभिन्न उपयुक्त प्रविधि प्रयोग गरी खाद्य सुरक्षाको अवधारणालाई सफल तुल्याउन सकिने उनको भनाइ थियो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सरकारका नीति र कार्यक्रमअनुसार केन्द्रले वायोग्यास, सौर्य पम्पिङजस्ता नवीकरणीय ऊर्जा प्रविधिमार्फत कृषिको आधुनिकीकरण र विपन्न जनताको जीवनस्तर अभिवृद्धिमा काम गर्दै आएको उल्लेख गरे । कृषिमा जैविक इन्धनको निर्भरता अन्त्य गरी नवीकरणीय ऊर्जाबाट उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण र खेर जाने कृषि अवशेषको पुर्नप्रयोग गर्न सकिने हुँदा यसतर्फ केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराए । 

सो अवसरमा परिसङ्घका अध्यक्ष गुणराज ढकालले खाद्यान्न उत्पादन बढाई सबैका लागि खाद्य सामग्री पु¥याउन नवीकरणीय ऊर्जा प्रविधिको उपयोग गर्नुपर्ने र सोको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ऊर्जाविद् डा.इन्दिरा शाक्यले कृषि व्यवसाय सुदृढ गर्नका लागि नवीकरणीय उर्जा प्रविधिहरु परिचालन गर्ने क्रममा लैंगिक दृष्टिकोणले महिला, गरीब, अपाङ्ग र सीमान्कृत समुदायको भूमिकालाई उचित प्राथमिकता दिने गरी नीति निर्माण र कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

गोष्ठीमा नवीकरणीय ऊर्जा र कृषि क्षेत्रमा क्रियाशील रहँदै आएका मदन राई, बाबुराजा श्रेष्ठ, नवीन भुजेल, उत्तम सिटौला, विश्वप्रशन्न अमात्य, प्रदीप महर्जनलगायतका व्यक्तिहरुले पनि नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने धारणा राखे । 
­­­
­­­

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप