शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सावधान ! सलह खाँदा स्वास्थ्यमा असर पर्नसक्छ !

सोमबार, १५ असार २०७७, १३ : ४२
सोमबार, १५ असार २०७७

काठमाडौं । नेपालमा सलह कीरा देखिएपछि त्यसलाई खानका लागि विभिन्न मेन्यूहरुको चर्चा शुरु भएको छ । 

अहिले सलह कीरा समातेर किलोको २० देखि २५ रुपैयाँमा किनबेच भइरहेको छ । र, त्यो कुखुरा तथा गाइवस्तुले खाने दानाका प्रयोग हुनुको साथै मान्छेले पनि तरकारीको रुपमा खान मिल्ने कतिपयले चर्चा गरेका छन् । 

 प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका विषादी विज्ञ महेश आचार्यले सलह कीरा मान्छेले पनि खान सक्ने सार्वजनिक रुपमा बताएका छन् । 

सलह कीरामा राँगा–खसीको मासुमा भन्दा बढी पौष्टिक तत्व पाइने उनको दावी छ । 


यद्यपी यो खाँदा सतर्क रहनुपर्ने उनको भनाइ छ । विश्वव्यापी रुपमा देखिएको सहल कीराको प्रकोप हटाउनका लागि सम्बन्धित देशका सरकारले विभिन्न उपायहरु अपनाइरहेका छन् भने नियन्त्रणका लागि विभिन्न खालको विषादीहरु प्रयोग गरिरहेका छन् । विषादी प्रयोग भएका सलह कीरा खान नहुने उनको सुझाव रहेको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.हरिबहादुर केसीले पनि नेपालमा देखिएको सलह कीरा ठाउँ ठाउँमा खाने गरेको खबर आएको सुनाएका थिए । राँगा र खसीको मासु भन्दा पोसिलो हुने दावी जिम्मेवार सरकारी अधिकारीबाटै आएपछि सलहप्रति मान्छेको झन चासो बढेको छ । ठाउँ ठाउँमा सलह संकलन गरेर बिक्री वितरण भइरहेको छ ।

यही बीच प्लान्ट क्वारिन्टन तथा विषादी व्यवस्थापन केन्द्रका आचार्यले यसबारे थप प्रष्ट्याउँदै सलह कीरामा पोषक तत्व हुने भएपनि विषादी प्रयोग भएको कीरा भने खान नहुने बताए ।  

विषादी प्रयोगबाट यदि कीरा मरेको छ भने त्यो कुनै पनि हालतमा खानु नहुने भन्दै उनले जिउँदो कीरामा कतिबेला कहाँ विषादी प्रयोग भएको छ त्यो पनि एकिन गरेर मात्र खानुपर्ने सुझाव दिए । 

‘विषादी प्रयोग भएपछि उडेर भागेको कीरा टाढा गएको छ, लामो समय पनि भएको छ भने त्यो खादा फरक पर्दैन, यद्यपी कुनै पनि रुपमा विषादी प्रयोग भएको छ भने त्यो खान हुँदैन’, उनले भने, ‘पोषक तत्व हुँदाहुँदै पनि किरामा विषादी भए–नभएको एकीन भने हुनुपर्छ ।’

भारतमा यसको रोकथाम तथा नियन्त्रणका लागि व्यापक मात्रामा विषादी प्रयोग भइरहेको छ भने त्यही कीरा नेपालमा पनि आएको हुँदा खाँदा स्वास्थ्यमा असर पर्न सक्ने विज्ञहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप