शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनःसुचारु, कुनकुन दिन कहाँकहाँ लगाइन्छ ?

सोमबार, १५ असार २०७७, १७ : ५९
सोमबार, १५ असार २०७७

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनःसुचारु गरेको छ। एनसेल प्राइभेटलिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ।

गत वर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतीक्षित खोपअभियान कोरोनाभाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन।काठमाडौं महानगरपालिकाका खोपकेन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट शुरु भएको छ।योअभियानमा काठमाडौं महानगरपालिका भित्ररहेका १ लाख भन्दा बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने सरकारी लक्ष्य छ।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ।कोरोनाभाइरस महामारीकै बेलामा काठमाडौं लगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ।सन् २०२० को पाँचौ महिना मेको मध्यसम्ममा ३२५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ।सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो। 

परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई यस अभियानअन्तर्गत अनिवार्य खोप लगाउनु पर्छ। यो अभियान  काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ। 

पहिलो चरण अन्तर्गत असार ११ गतेदेखि १३ गतेसम्म वडा नं. ६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ।दोस्रो चरणमा वडा नं. १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३०मा असार १४ देखि १६ गतेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ। त्यस्तै, तेस्रो चरणमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५मा असार १७ देखि १९ गतेसम्म खोप लगाइनेछ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य सम्बन्धी जन सचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गत वर्ष समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।यही समझदारी अन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्धिमा सरकारलाई सहयोग पुर्याउँदै आएको छ। 

यो सहकार्यले बालबालिकाको जीवन रक्षा सँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ।एनसेलले सरकारकालाई कोरोनाभाइरस सम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै आएको छ।यसअघि एनसेलले डेङ्गीको बारेमा जनसचेतना अभिवृद्धिका लागि पनि सहयोग गरेको थियो। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप