शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विज्ञ भन्छन्– सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

सोमबार, १५ असार २०७७, १८ : ०३
सोमबार, १५ असार २०७७

चितवन । अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ । उनले भने– ‘त्यस्तो ठाउँ नेपालमा छैन । यस दृष्टिकोणले  सो कीरा फैलिने सम्भावना कम रहेको छ ।’ 

वातावरणीय प्रभावका कारण थप अनौठो नभएमा सलह उपयुक्त प्रजनन् क्षेत्रतर्फ फर्किने अनुमान समेत गरिएको छ । उनले भने– ‘नेपालमा ती कीरा  फट्याङग्रा भारतको राजस्थानबाट आएको हुन सक्छ ।  प्रजनन्का लागि यो पुनः त्यही फर्किने सम्भावना छ ।’ अफ्रिकाबाट सात हजार किलोमिटर पार गरेर कीरा आएको जस्तो नदेखिएको र अहिले आएका  ती कीरा भारतको सो क्षेत्रकै भएको विज्ञले औल्याएका छन् । अहिले नेपालमा आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका भएको उनको भनाइ छ ।  सलहको आयु छैटौँ चरणसम्म हुने र ६ हप्ताको रहने बताइएको छ । सरसरर्ती हेर्दा अहिले आएका सलहमध्ये पाँचौँ थप एक हप्ता, चौथो डेढ हप्ता र तेस्रो दुई हप्ता मात्रै रहने अनुमान छ ।

प्रजनन्का लागि वयस्क कीरा फर्किने अनुमान गरिएको छ ।  धेरै आत्तिनुपर्ने अवस्था नरहेको तर पूर्वतयारी गर्नुपर्नेमा उनको जोड थियो । उनका अनुसार सलह साधारण फट्याङ्ग्रा प्रजातिको नै हो । यसको सिंग छोटो हुन्छ । यसको पछाडिको खुट्टा दह्रो र मोटो हुन्छ । यो कीरा समूहमा बस्न मन पराउँछ । उनले  भने– ‘यसले जमिनको तल बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसको जीवनभरमा तीन पटकसम्म अण्डा पारेको रेकर्ड छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ ।’

सलहका बच्चा १ देखि ३ महिनामा पूर्ण वयस्क हुने, वयस्क चारदेखि पाँच महिनासम्म बाँच्ने, वयस्क कीरा लामो समयसम्म हावामा उड्न सक्ने र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्ने उनको भनाइ छ । सलह कीरा एक ठाउँबाट अर्को ठाउँमा वा एक खेतबाट अर्को खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरियो वनस्पतिहरु छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । एक दिनमा लगभग १३० किलोमिटरसम्म हुल बनाएर सलह हिड्ने बताइन्छ । 
 
संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठनको तथ्याङ्कअनुसार साधारणतय सो कीराले प्रति दिन दुई ग्रामसम्म खान सक्छ र एक किलोमिटरको हुलमा हुने सलहको करिब चारदेखि आठ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर घोषणा गरेको छ ।
 
सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठानिएको छ ।  यिनिहरुको जनसङ्ख्या आठ हजार गुणासम्म बढेको बताइन्छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरुको जनसङ्ख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने र बढोत्तरी छिटो छिटो भएको  जनाइएको छ ।

 कतिपय देशले सहल नियन्त्रण गर्न हेलिकप्टरको सहायताले विषादी प्रयोग गरेको बताइन्छ । हाल प्रयोगमा आएका विषादीमा मालाथिएन र  फेनिट्रोथियन प्रमुख छन् । वातावरणीय एवं स्वास्थ्यको दृष्टिकोणले राम्रा छैनन् तापनि  बालिनाली जोगाउन सलह नियन्त्रणका लागि विषादी नै उपयुक्त ठहरिएको उनी बताउँछन् । तर विषादी प्रयोग गरिसकेपछि ती खाद्यान्न बालीमा विषादीको पर्खनुपर्ने अवधिलाई मध्येनजर गरी वाली भित्राउनुपर्दछ । विषादी प्रयोग गर्दा सकेसम्म सुरक्षित, सागुरा–प्रकृतिका एवं सिफारिस मात्रामा छर्नुपर्दछ । उनले सुझाव दिए– ‘विषादी छर्ने व्यक्तिले आफ्नो शरीरलाई पूर्णरुपमा ढाँकी मुखमा माक्स र चश्मा लगाएर मात्र छर्नुपर्दछ । घरायसी प्रयोगमा लगाइने बालीलाई जालीले एवं अलि ठूलो बारले ढाकेर राख्नुपर्दछ ।’

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकाल थन्काउन लायक वालीहरुलाई टिपेर वा काटेर तत्काल थन्क्याउन आग्रह गर्छन् । सानो जग्गा वा करेसावारीमा लगाइएका वाली एवं धानका व्याड आदीलाई हाल केही समय प्लास्टिक , झुल एवं स्याउलाले ढाकेर राख्नु उपयुक्त हुने उनको सुझाव छ ।
 
कीरा बसेका हाँगा तथा बिरुवालाई हल्लाएर र आवाज निस्कने चिजहरु बजाएर एवं पानीको फोहरा प्रयोग गरेर पनि यसलाई धपाउन एवं व्यवथापन गर्न सकिन्छ । विषादी प्रयोग गर्नुपर्ने अवस्थामा आफूलाई पायक पर्ने ठाउँका प्राविधिकको सल्लाह बमोजिम विषादी सुरक्षित र सिफारिस मात्रामा प्रयोग गर्न  केन्द्रले अनुरोध गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप