शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अहिले कायम खुकुलो ‘लकडाउन’लाई साउन ७ सम्म लम्ब्याउने सरकारको निर्णय

सोमबार, १५ असार २०७७, २१ : १०
सोमबार, १५ असार २०७७

काठमाडौं । सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए । 

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । 

सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने  सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ  । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । 
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । 

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् । 

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ । 

यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ । 

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर जेठ २८ गते भएको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको भएकोमा सोही निर्णयअनुसार जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय भएको हो। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप