मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डबीच भनाभन : भारतले होइन मैले भनेको हो, अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुस्

मङ्गलबार, १६ असार २०७७, १५ : ५७
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा भनाभन भएको छ। नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । 

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए । 

‘मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन सकिँदैन’, बैठकमा प्रचण्डले भनेका थिए । 

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए । 

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । 


‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो’, प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले बताए ।

विवादकै क्रममा अन्य नेताहरुले असुहाउँदाे गरी राखिएकाे ओली र प्रचण्डको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । नेताहरु अष्ठलक्ष्मी शाक्य, रघुजी पन्तलगायतले राजशी शैलीको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । त्यसपछि कुर्सी तल सारिएको थियो । त्यसपछि पनि बैठकमा सहभागीहरुले ओलीको अभिव्यक्तिको कडा आलोचना गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप