शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनसुनको पहिलो १५ दिन : गत वर्षभन्दा बढी मानवीय क्षति

मङ्गलबार, १६ असार २०७७, १९ : ३६
मङ्गलबार, १६ असार २०७७

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । चबन्न घर रहेको बस्तीको बीचमा पहिरो खस्दा तीन घरगोठ बगाएको थियो भने अझै नौ घर उच्च जोखिममा रहेका छन् ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरियो । त्यहाँ पहिरो खस्दा चार जनाले ज्यान गुमाए भने चारवटा गाडीसमेत पुरिएको थियो । मनसुन सक्रिय भएको पहिलो १५ दिनको अवधिमा पहिरोका कारण मात्रै १८ जनाको दुःखद् निधन भएको छ । अन्य घटना जोड्दा ३१ जनाले ज्यान गुमाइसकेका छन् । गत वर्ष यो अवधिमा १४ जनाको ज्यान गएको थियो । 

सो अवधिमा गत वर्षको तुलनामा विपद्का घटना केही कम देखिए तर मानवीय क्षति भने निकै बढी हुन पुगेको छ । मनसुन शुरु भएको पहिलो १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा पछिल्लो १० वर्षमा यो वर्ष विसं २०७० पछिकै सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा गत वर्ष १५९ घटना भएकोमा यस वर्ष १४३ घटना भयो । घटना १६ ले कमी आएपनि मानवीय क्षति भने दोब्बर बढी अर्थात गत वर्ष १४ को मृत्यु भएकामा १७ बढेर यस वर्ष ३१ जनाले ज्यान गुमाए । पहिरोबाहेक यो अवधिमा चट्याङबाट १० र सर्पको टोकाइबाट तीन जनाको ज्यान गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

पछिल्लो १० वर्षको उक्त १५ दिनको तथ्याङ्क विष्लेषण गर्दा विसं २०७० मा सबैभन्दा बढी बाढी, पहिरोका घटना भएको थियो । बाढीका ४९ र पहिरोका २३ घटना भएकोमा त्यस साल बाढीबाट ५२ र पहिरोबाट ३० गरी ८२ जनाले ज्यान गुमाएका थिए । त्यसपछि अहिले नै बढी मानवीय क्षति भएको छ । यस वर्ष मनसुन शुरु भएपछिको १५ दिनमा पहिरोका घटना बढी भयो । 

मौसमविद्का अनुसार मुलुकमा सामान्यत असार पहिलो साताबाट मनसुन सक्रिय हुन्छ । यसपालि एक हप्ता अघि नै जेठ ३० गतेबाट मनसुन सक्रिय भएको थियो । प्रिमनसुनकै समयमा पर्यात पानी पर्दा अहिले नदीनालाको सतहमाथि आइसकेको छ । 

उपत्यकालगायत विभिन्न शहरमा थुप्रिएको फोहर नदीले बगाएर लगिसकेको छ । सानो पानी पर्दा नै ठूलो क्षतिको जोखिम छ । 

मनसुनका बेला बाढी र पहिरोका घटना बढी हुन्छ । प्र्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विपद् जोखिम न्यूनीकरण र उद्धारमा समस्या नहोस् भनेर यसपालि बेलैमा व्यवस्थापनको पाटोलाई चुस्त पारिएको बताए । उनका अनुसार कुन ठाउँमा उद्धार सामग्री कति छन्, कुन क्षेत्रमा कति डोजर, स्काभेटर र लोडर छ, राहत सामग्री र उद्धार सामग्री के के छ । कहाँकहाँ परिचालित गर्नुपर्छ भनेर सबै विवरण सङ्कलन गरी तयारीमा राखिएको छ । प्राधिकरणले विभिन्न निकायसँग मिलेर असरमा आधारित पूर्वसूचना प्रणाली अवलम्बन गरी दैनिक विपद् बुलेटिनसमेत प्रकाशित गरेर समुदायलाई सुसूचित पार्दै आएको छ ।

यस वर्ष ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ । कोभिड–१९ को जोखिमका साथै विपद् पनि शुरु भएकाले तालमेल मिलाएर तयारी गर्नुपर्ने हुँदा आवश्यक व्यवस्थापनमा जुट्न गृहमन्त्री रामबहादुर थापाले मातहतका सबै निकायमा आवश्यक समन्वयका लागि निर्देशन दिइसकेका छन् ।

गृहमन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ का अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । विपद् जोखिम व्यवस्थापनविज्ञ डा कृष्ण देवकोटाले कोभिड–१९ का कारण यसपटक विपद् व्यवस्थापनमा थप जोखिम र जटिलता रहेकाले त्यहीअनुसारको तयारी आवश्यक रहेको सुझाव दिए । 

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औषत पानी पर्ने अनुमान गरिसकेको छ । साउनमा थप बढ्नसक्ने अनुमान छ । विभागका अनुसार आगामी तीन दिन सबै प्रदेशमा सामान्य बदली हुने र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकोे छ । 

ती क्षेत्रका नदीमा पानीको बहाब बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

पछिल्लो २४ घण्टामा मुलुकभर १३ वटा मनसुनजन्य विपद्का घटना भएको छ । उक्त घटनामा परी एक जनाको मृत्यु भएको छ । झण्डै रु १९ लाख बराबरको आर्थिक क्षति भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कञ्चनपुरको पुनर्वास भन्ने स्थानमा ग्याँस चुहिएर आगलागी हुँदा १३ वर्षीय बालकको जलेर मृत्यु भएको हो । यस्तै काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र जगदम्बा पोलिटेक प्लाष्टिक कारखानामा आगलागी हुँदा रु १४ लाखको क्षति भएको जनाइएको छ । 

उदयपुरस्थित एक घरमा जङ्गली हात्तीको आक्रमण भएको, नवलपरासी पश्चिममा वर्षाका कारण एक घर भत्किएको, पहिरोका कारण इलामको लप्सीबोटेस्थित एक घरमा क्षति पुगेको, म्याग्दीको बेनी नगरपालिकास्थित गलेश्वर नजिक घरमा आगलागी भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

बाढी, पहिरो र वर्षाका कारण पछिल्लो चौबिस घण्टामा छिञ्चु–जाजरकोटा सडकखण्ड, कर्र्णली राजमार्गस्थित दैलेख र दाङको केही सडकमा पहिरोले असर गरेको छ । विपद्का कारण झण्डै रु १९ लाख बराबरको क्षति भएको जनाइएको छ । प्राधिकरणले मौसम सक्रिय रहेकाले सतर्कता अपनाउन भनेको छ । तर आज मुलुकका ठूला नदीमा पानीको बहाव सतर्कताको तहभन्दा तलै रहने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप