शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कोरोना नियन्त्रणमा सरकारले कार्यप्रणालीमा सुधार गर्न सकेन’

मङ्गलबार, १६ असार २०७७, १९ : ५३
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । सांसदहरुले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले कार्यप्रणालीमा सुधार गर्न नसकेको बताएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा सांसदहरुले नेपालमा कोरोना संक्रमणको पहिलो केसदेखि पछिको अहिलेसम्म आउँदा काम गर्ने तरिकामा कुनै परिवर्तन ल्याउन नसकेको बताएका हुन् । 

पाँच महिनामा कुनै पनि विषयको समस्या समाधान हुने गरी काम हुन नसकेको बताएका हुन् । क्वारेन्टाइन, आइसोलेसन सेन्टर, अस्पतालको गुणस्तरीय सेवा, ल्याबहरुको क्षमता बढाउने लगायका काममा कुने प्रगति हुन नसकेको सांसदहरुले बताए । सांसदहरुले सरकार अझैपनि खरिद प्रक्रियामा अल्झदै बसेको भन्दै त्यसलाई सुधार गर्न आग्रह गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले स्वास्थ्य सामग्रीको खरिद, संकलन र वितरणका लागि छुट्टै केन्द्र बनाउनुपर्ने बताए । उनले सांसदहरुले आपूर्ति व्यवस्थापन महाशाखाबाट झगडा गरेर स्वास्थ्य सामग्री माग्ने र आफूले चाहेको ठाउँमा लगेर बाँड्ने र फोटो खिच्ने प्रवृतिले स्वास्थ्य सामग्रीको वितरणमा विकृति आएको बताए । उनले सरकारका निकायहरु स्वास्थ्य उपचारको गुणस्तर बढाउने भन्दा पनि क्वारेन्टाइन बनाउने, राहत वितरण गर्ने, खाना खुवाउने काममा लाग्दा अहिले सम्म पनि कुनै सुधार नदेखिएको बताए । 

सांसद जीवनराम श्रेष्ठले नेपालमा पहिलो केस देखिएको पाँच महिना पुग्दा समेत कुनै समस्याको प्रभावकारी समाधान गर्न नसकिएको बताए । सरकार खरिद प्रक्रियामा अल्झने र स्थानीय तहले मापदण्ड विपरित क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर बनाउने कुरामा मात्रै केन्द्रीत हुँदा समस्या जस्ताको तस्तै रहेको उनले बताए । 

सांसद हितबहादुर तामाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि संघीय सरकार र प्रदेश सरकारबीच अझैपनि समन्वय हुन नसकेको बताए । यस्तै स्थानीय तहहरुबीच क्वारेन्टाइन र आइसोलेसन सेन्टर खोल्ने प्रतिस्पर्धाले पनि गुणस्तरीय काम हुन नसकेको उनले बताए । 

सांसद विद्या भट्टराईले कोभिडका कारण हुने स्वास्थ्य समस्या भन्दा नयाँ खालको समस्या उत्पन्न भएको बताइन् । कोभिडलाई स्वास्थ्यको डाइमेन्सनबाट मात्र नभएर सोसिओपोलिटिकल र इकोनोमिक डाइमेन्सनबाट पनि हेर्नुपर्ने बताइन् । उनले कोरोनाका संक्रमित भन्दा पनि अन्य दिर्घरोग लागेका र सुत्केरी तथा गर्भवति महिलाले उपचार नपाउने अवस्था आउँदा अझ बढी समस्या देखिएको बताइन् । 

सांसद अन्जना विशंखेले कोरोना भाइरसका कारण समाजमा नयाँ समस्या देखिदै गएकोले अवको समस्या के हो भन्ने कुरालाई फरक ढंगले सोच्नुपर्ने बताइन् । 

सांसदहरुले सरकारले गरेका कामहरुको समीक्षा गर्दै लामो समय भइसक्दा पनि काम गर्ने तरिकामा सुधार गर्न नसकेको बताए । अहिले कोरोनाको कारणले भन्दा पनि अन्य रोगहरुका कारण समस्या देखापरेको र यो अवस्थामा सरकारको ध्यान कोरोनामा मात्रै केन्द्रीत भएको भन्दै सबै पक्षलाई हेरेर काम गर्न सरकारलाई आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप