शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा बैठक : प्रचण्डले ओलीलाई नैतिकता सम्झाए, ओलीले कुण्ठाको कुरा निकाले

झलनाथ र बामदेवको एकै स्वरः ओलीकै योजनामा एमाले दर्ता
मङ्गलबार, १६ असार २०७७, २० : ३२
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । गत सचिवालय बैठकबाटै मागिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय पार्टीको एक शक्तिशाली निकाय स्थायी समितिमा पनि औपचारिक रुपमा प्रवेश पाएको छ ।

 स्थायी समितिमा ओलीको राजीनामाको विषय प्रवेशसँगै नेकपाको भित्रको आन्तरिक विवाद थप छताछुल्ल भएको छ । नेकपाभित्रको विकसित आन्तरिक विवादले पार्टीको भविष्य नै के होला भन्नेमा नेता कार्यकर्तामा अन्योलता पैदा भएको छ ।

यसअघि आफ्नो राजीनामाबारे विभिन्न उपाय अपनाउँदै विषान्तर गर्ने गरेका ओलीले मंगलबारको स्थायी समिति बैठकमा भने नाजवाफ बन्नु परेको छ । यद्यपी उनले आफ्नो बचाउ भने मंगलबारको बैठकमा समेत गर्ने प्रयास गरिरहे । 

मंगलबार ११ बजे निर्धारित समयमै सुरु भएको बैठकमा करिव साढे ६ घण्टा नेताहरुबीच चर्को स्वरमा सवाल जवाफ भएको थियो । त्यसक्रममा ओली पक्षबाहेकका नेताहरुले उनको राजीनामा नमागेपनि अन्य नेताहरुले सिंगो नेकपा र त्यसमा आवद्ध पार्टी कार्यकर्ता तथा देशकै भविष्य संटकमा परेको भन्दै ओलीको बर्हिगमन मात्रै एकमात्र विकल्प रहेको बताएका थिए ।

 सोही अनुसार पछिल्ला दुई घटनाक्रम (सरकार ढाल्न भारत लागेको र एमाले नामको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको) विषयमा ओलीसँग जवाफ मागिएको थियो ।

बैठकको सुरुमै अध्यक्ष प्रचण्डले केही दिनयताका घटनाक्रमबारेको प्रसंग कोट्याउँदै भने, ‘तपाइँले सरकार र पार्टी सञ्चालनको प्रक्रियाबाटै नैतिकता गुमाउनुभयो । ५ वर्ष सरकार चलाउनुस् भनेर दिएकै हो । तर विचारमा पनि विचलन आयो । त्यसकारण भारतले होइन मैले मागेको हुँ राजीनामा । तपाइँले राजीनामा गर्नुस्’, प्रचण्डले यस्तो भनेपछि जवाफ दिँदै ओलीले पनि कुण्ठा बोकेर आफूमाथि घेरावन्दी गरेको भन्दै प्रतिपाद गर्ने प्रयास गरेका थिए । 
‘राष्ट्रियताको पक्षमा नक्सा जारी गर्नु, संविधान संशोधन गर्नु, के मेरो गल्ती थियो ?’ ओलीले बैठकमा भनेको उदृत गर्दै एक स्थायी समिति सदस्यले रातोपाटीसँग भने, ‘कुण्ठाका आधारमा विरोध गरेर हुँदैन । बरु म सरकारले गरेको कामको फेहरिस्त नै दिन्छु’ यति भनेर ओली बैठकस्थलबाट बाहिरिएका थिए । ओली बैठकस्थलबाट २ बजे निस्किएका थिए । ओली निस्केपछि पनि बोल्ने अधिकांश नेताहरुलेसरकार र पार्टी दुवै सञ्चालनमा ओली असफल भएको भन्दै राजीनामाको विकल्प नभएको धारणा राखेका थिए । 

ओलीकै षड्यन्त्र होः झलनाथ खनाल 
बैठकमा वरिष्ठ नेता नेपालले पार्टी फुटाउने योजना अनुसार ओलीकै योजनामा नेकपा एमाले दर्ता गर्न लगाइएको भन्दै यसबारे प्रस्ट पार्नुपर्ने माग गरे ।  ‘यस्तो आश्चार्य कसरी भयो ? भनेर खनालले ओलीलाई प्रश्न गरेका थिए । एक स्थायी समिति सदस्यले खनालको भनाइ उदृत गर्दै रातोपाटीसँग भने, ‘यो गम्भीर षड्यन्त्र हो । यसमा पार्टी फुटाउने षड्यन्त्र लुकेको हो । यसबारे प्रस्ट जवाफ बैठकमा आउनुपर्छ ।’ 

प्रधानमन्त्रीकै निर्देशन छः गौतम 

त्यस्तै उपाध्यक्ष बामदेव गौतमले पनि मंगलबारको  बैठकमा ओलीको राजीनामा मागेका छन् । पार्टी दर्ताबारे धारणा राख्दै गौतमले पार्टीभित्रै यस्तो षड्यन्त्र हुन्छ भने हामीले प्रधानमन्त्री ओलीको किन राजीनामा नमाग्ने भन्दै प्रश्न गरेका थिए । 

‘एमालेका नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु । अहिले यस्तो काम गर्ने बेला होइन’, बैठकमा गौतमले भनेका थिए । 

मंगलबारको बैठकमा बोल्ने १७ मध्ये १२ जनाले प्रमको राजीनामा मागेकाथिए । अरु ५ ले सरकारको आलोचना गरे पनि राजीनामा भने मागेनन् । 

स्थायी समिति सदस्य पम्फा भुषालले सवै नेताहरुले आफूलाई लागेको विषयमा धारणा राखेको जानकारी दिइन् । उनले भनिन्, ‘विषय उठेपछि सवैले आ–आफ्नो कोणबाट धारणा राख्नुभयो । केही कुरा प्रष्ट पार्न भनिएको छ । विषयहरु सवै छलफलकै क्रममा रहेका छन् ।’

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार ढाल्न भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मंगलबारको स्थायी समिति सोही विषयमा केन्द्रीत भएको जानकारी दिए । 

श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनको विषयमा छलफल भएको भन्दै सीमा समस्या सम्बन्धि छलफल सक्याएर कोभिड—१९ को विषयमा छलफल गर्ने कार्यसूची रहेपनि छलफल हुन नसकेको जनाए । 

‘सीमा समस्या सम्बन्धी बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड—१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो । तर यो बीचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर स्थायी समितिले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले सरकार हटाउन खोजेको, भारतसँग सम्बन्धित विषय र पार्टीका नेताहरुको संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक रहेको थियो ’, प्रवक्ता श्रेष्ठले भने, ‘अर्को विषय २ दिन अगाडि निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताका लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने विषयमा स्पष्ट पार्न छलफल भयो ।’’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप