शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देवानन्दको अधुरो प्रेम, कालो कोटमा प्रतिबन्धः चर्चित छन् यी रोचक किस्सा

बुधबार, १७ असार २०७७, १० : २९
बुधबार, १७ असार २०७७

हिन्दी सिनेमाका दिग्गज अभिनेता रहेका देव आनन्द आफ्नो जमानाका सबैभन्दा चर्चित अभिनेतामध्ये एक हुन् । जसरी दिलिप कुमार ट्रेजडी किङ्गको नामले चर्चित थिए, त्यसरी नै देव आनन्दलाई रोमान्स किङ्गको नामले चिनिन्थे । आफ्नो डायलग डेलिभरी, अभिनय, लुक्स र हेयरकटबाहेक देव आफ्नो फेसन सेन्सका लागि पनि निकै चर्चित थिए । सेतो सर्टमाथि कालो कोट लगाउनु उनको सिग्नेचर स्टाइल बनेको थियो । तर एक समय यस्तो आयो जब उनको यहि स्टाइलमा अदालतले प्रतिबन्धसमेत लगाइदियो ।

सन् १९५८ मा रिलिज भएको फिल्म ‘काला पानी’ मा देव आनन्दको सेतो सर्ट र कालो कोट लगाएको लुकले महिलालाई मात्रै नभई पुरुषलाई पनि आकर्षित बनाएको थियो । त्यसपछि देवको कालो कोटमा प्रतिबन्ध लगाउने सामूहिक अभियान नै सुरु भएको थियो । यो कुरा देव आनन्दको अटोबायोग्राफीमा गरिएको छ ।

वास्तवमा देव आनन्द जतिबेला सेतो सर्टमाथि कालो कोट लगाएर बाहिर निस्कन्थे तब महिला उनलाई हेर्न जम्मा हुने गर्दथे । यतिमात्रै होइन महिला छतबाट हाम फालेरै भएपनि उनलाई हेर्न लालायित हुन्थे । आफ्नो उत्कृष्ट लुकसहित देव यसरी सार्वजनिक रुपमा बाहिरिँदा मानिसको ज्यान नै जोखिममा पर्ने गर्दथ्यो ।

स्मरण रहोस् देव आनन्दले सन् १९४६ मा फिल्म ‘हम एक हे’ मा एक्टिङ डेब्यू गरेका थिए । तर फिल्म चल्न भने सकेन । तर त्यसपछि जब देव आनन्दको ‘जिद्दी’ आयो तब उनी रातारात स्टार बने । फिल्ममा उनको अभिनयले दर्शकको मन जितेको थियो ।

देव आनन्दले आफ्नो पूरा फिल्म करियरमा लगभग ११२ फिल्ममा अभिनय गरेका छन् । बाजी, ट्याक्सी ड्राइभर, हाउस नम्बर ४४, पकेट मार, फन्टुश, सीआइडी, नौ दो ग्यारह, गाइड, काला पानी, असली नकली, ज्ेवल थिफ, प्रेम पुजारी, जोनी मेरा नाम, तेरे मेरे सपने आदि उनका हिट फिल्मका फेहरिस्तमा समावेश छन् ।

अभिनयबाहेक देव आनन्दले निर्देशनमा पनि हात हाले र सफल पनि भए । यीमध्ये एक हो हरे रामा हरे कृष्णा । सन् १९७२ मा रिलिज भएको यो फिल्मबाट देव आनन्दले जिनत अमानलाई ब्रेक दिएका थिए । फिल्म र यसका गीत मानिसहरुलाई निकै मन पर्यो । यो फिल्मपछि देव आनन्दलाई जिनत अमानसँग लगाव पनि भएको थियो । देव आनन्दले आफैं यो कुरा सार्वजनिक रुपमा स्विकारेका थिए ।

तर देवको पहिलो प्रेम चर्चित गायिका सुरेय्या थिइन् । सुरैय्या र उनको प्रेमको किस्सा चर्चित रह्यो । उनले सुरैयालाई अत्यधिक माया गर्ने गरेको बताएका थिए । उनले सुरैय्यालाई आफ्नो प्रेमबारे जानकारी दिएपनि सुरैय्याको परिवारलाई भने देव आनन्द मन परेनन् । त्यसकारण उनको पहिलो प्रेम अधुरो रह्यो ।

सुरैय्यासँग अलग्गिएपछि देव आनन्दको एक फिल्म सेटमा मोना सिंघा (कल्पना कार्तिक) सँग भेट भयो । दुबैले एक अर्कालाई मन पराए  त्यसपछि दुबैले ट्याक्सी ड्राइभर फिल्मको सेटमा गोप्य रुपमा विवाह गरे । देवले सुटिङको समयमा लञ्च ब्रेक हुँदा आफूहरुले विवाह गरेको बताएका थिए । उनका अनुसार अदालती विवाहका लागि उनीहरुले पहिले नै प्रतिक्षा गरिरहेका थिए । ब्रेकका बेला रजिस्ट्रार आएपछि देव र मोना त्यहाँबाट केही नभनी निस्किएको र विवाहको सबै प्रक्रिया पूरा गरेका थिए । यद्यपि, एक क्यामराम्यानलाई यसबारे थाहा भएको थियो तर देव आनन्दले यसलाई केही समयका लागि गोप्य राखिदिन आग्रह गरे  ।

देव आनन्दको मृत्यु भएको धेरै समय बितिसकेको छ तर सदाबहार हिरोको उनको छवि आज पनि यथास्थानमा छ । उनको लण्डनमा हृदयघातका कारण ८८ वर्षको उमेरमा मृत्यु भएको थियो ।

स्रोतः आजतक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप