बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वायुसेवा निगम पर्यटन विकासमा महत्वपूर्ण आधार

बुधबार, १७ असार २०७७, १२ : ५६
बुधबार, १७ असार २०७७

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ । विसं २०१५ असार १७ (सन् १९५८ जुलाई १) अर्थात् आजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो । उक्त दिनको सम्झनामा निगमले हरेक वर्ष जुलाई १ तारिखका दिन निगमको स्थापना दिवस मनाउँदै आएको छ ।

नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि हो । आफ्नो स्थापनादेखि अविछिन्नरूपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यमा व्यावसायिक दायित्व निर्वाहको गर्विलो इतिहास कायम गरेको निगम नेपालको पर्यटन प्रवद्र्धनको आधिकारिक संवाहक हो । 
    
निगमको योगदान विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई रोजजारी सिर्जना गर्दै मुलुकलाई सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गरिरहेको निगमले उल्लेख गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागिपरेको छ ।
 
हाल कोभिड–१९ महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । बन्दाबन्दीमा नेपाली एयरलाइन्सका तर्फबाट सर्वाधिक चार्टर्ड उडान गरेको निगमले यो अवधिमा ५८ भन्दा बढी उडान गरेको छ । चीनका विभिन्न शहरबाट नौ कार्गो उडान गरेको छ ।

कोभिडको महामारी पहिलोपटक देखिएको चीनको वुहानमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काउनेदेखि सरकारसँगको समन्वयमा स्वास्थ्य सामग्री ढुवानी गर्न कार्गो चार्टर्ड उडान गरेको छ । निगमले अष्ट्रेलियामा रहेका नेपालीको उद्धारका निम्ति आफ्नो उडान इतिहासकै अधिकतम लामो दूरीको ऐतिहासिक १२ देखि १३ घण्टा लामो उडान गरेको थियो । यसै अवधिमा निगमले आफ्नो उपस्थिति नभएका थप १४ गन्तव्यमा चार्टर्ड उडान गरेको छ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका ब्राजिल, अष्ट्रेलिया, माल्दिभ्स, हङकङ र जापानलगायतका नागरिकलाई सम्बन्धित दूतावासको समन्वयमा उद्धार गरी २८ भन्दा बढी उडानमार्फत सम्बन्धित मुलुक फर्काइएको निगमले जनाएको छ ।

अहिले निगमले विभिन्न २५ मुलुकमा रहेका नेपालीको उद्धार गर्न सहुलियतपूर्ण रूपमा चार्टर्ड उडान सञ्चालन गरिरहेको छ । निगमले हाल भारतका तीनसहित नौ गन्तव्यमा उडान भर्दै आएको छ । सन् १९६० मा अमेरिकी सहायताअन्तर्गत तीनवटा डिसी–३ डकोटा विमानबाट सेवा प्रारम्भ गरेको निगमले आफ्नो ६२ वर्षे उडान इतिहासमा पछिल्लोपटक सन् २०१८ मा दुई वाइडबडी ए–३३० जहाजमार्फत सेवा दिइरहेको छ । निगमले सन् २०१५ मा दुई न्यारोबडी ए–३२० जहाज भित्र्याएको थियो । चीनका विभिन्न शहरसहित अन्य लामा गन्तव्यमा व्यावसायिक उडान भर्ने प्रयोजनका निम्ति निगमले आवश्यक तयारी गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप