शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी समिति बैठकमा बोल्ने पाँचै नेताले गरे ओलीको आलोचना

बुधबार, १७ असार २०७७, १३ : ३९
बुधबार, १७ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको पाँचौ दिनको बैठकमा ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेका छन् । बैठकमा नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ–आफ्नो धारणा राखेका हुन् । 

प्रधानमन्त्री ओलीको अभिव्यक्ति र नेकपा एमाले पार्टी निर्वाचन आयोगका दर्ता भएको विषयमा केन्द्रीत भएको छलफलमा बोल्ने पाँचै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र अभिव्यक्तिको खुलेर आलोचना गरेको बैठकपछि एक नेताले जानकारी दिए । 

बैठकमा पर्यटनमन्त्री समेत रहेका स्थायी समिति सदस्य योगेश भट्टराई प्रधानमन्त्रीप्रति नरम रुपमा प्रस्तुत भएपनि कार्यशैलीको खुलेर आलोचना गरे । बाँकी ४ सदस्यले भने ओलीको राजीनामाको विकल्प नरहेको धारणा राखेका थिए । 

बैठकमा भट्टराईले पार्टीमा निषेधको भावना नभइ सहकार्यको भावना हुनुपर्नेमा जोड दिँदै नेतृत्व नसच्चिए पार्टी चल्न नसक्ने धारणा राखे । 

‘अहिले देखिएको आन्तरिक समस्या पार्टीभित्र सबैसँग छलफल गरेर निकास खोज्नुपर्छ । निषेध होइन सहकार्यको भावनाका अघि बढिनुपर्छ’, उनको भनाइ थियो । उनले सचिवालयको विकल्प स्थायी समिति नभएको तर नेतृत्व सच्चिन जरुरी रहेको दोहोर्याए । 

यस्तै लीलामणि पोख्रेल र मात्रिका यादवले ओलीको राजीनामा भन्दा अर्को विकल्प नै भएको धारणा राखे । उनीहरुले पहिलो सर्त नै ओलीको राजीनामा भएकोमा जोड दिएका थिए । 

यसैगरी स्थायी समिति सदस्य पेशव खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत रहेको भन्दै पार्टी विधिमा चल्नुपर्नेमा जोड दिए । 

यसैगरी अर्का स्थायी समिति सदस्य नन्द कुमार प्रसाईँले अहिलेको समस्याको मुल कारक नै ओली भएको भन्दै उनी कि सच्चिनु पर्ने कि त राजीनामा दिनुपर्ने धारणा राखे । 

नेकपाको बुधबारको स्थायी कमिटी बैठक झण्डै एक घण्टा चलेको थियो । 

 काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएको तथा त्यसमा नेताहरु सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । 

नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो । 

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आज ५ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेको जानकारी दिए । उनले आजपनि हिजोकै एजेण्डा प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा केन्द्रीत रहेर छलफल चलेको श्रेष्ठले जानकारी दिए । 

यसअघि मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको छ । 

यो विषयमा मंगलबारको बैठकमा चर्काचर्की बहस भएको थियो भने ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भनाभन भएको थियो । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले समेत ओलीको राजीनामा माग गरेका थिए । 
एकाएक पार्टीभित्र किचलो सुरु भएपछि ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल समेत गरेका थिए । स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजेको लागि तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप