बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा करोडौँको भ्रष्टाचार

बुधबार, १७ असार २०७७, १४ : ४०
बुधबार, १७ असार २०७७

जनकपुर । विश्वव्यापी महामारी ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरसको संक्रमणले जनता त्रसित रहेको अवस्थामा संघीय सरकारमा जस्तै प्रदेश २ सरकारमा पनि अनियमितताका शृङ्खला प्रकाशमा आउन थालेको छ ।

कोरोना कहरलाई प्रदेश २ सरकारका मन्त्रीले कमाउने अवसरका रुपमा लिन थालेको देखिन्छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश स्थास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र यतिबेला स्वास्थ्य सामग्री खरिदमा अनियमिततालाई प्रोत्साहन गरिरहेको जानकारहरुको भनाइ छ ।

प्रदेश सरकारले १५० शैय्याको आइससीयू निर्माण गर्ने तयारी गरेसँगै त्यसका लागि आवश्यक भेन्टिलेटर खरिदमा व्यापक चलखेल भएको स्रोत बताउँछ । गत वैशाखमा प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरु खरिद गर्ने निर्णय गरेको थियो ।

सामाजिक विकास मन्त्रालयले सोही अनुसार आइसीयू कक्षका लागि आवश्यक पर्ने ३० वटा भेन्टिलेटर खरिद गर्न लागेको हो । भेन्टिलेटर खरिदमा करोडौँ रकमको चलखेल भएको स्रोत बताउँछ ।   

मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विभिन्न क्षमताको ३० वटा भेन्टिलेटर खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्रको अन्तिम मिति बुधबार अर्थात असार १७ गते तोकिएको छ ।

प्राप्त जानकारी अनुसार ४ लाख रुपैयाँ पर्ने भेन्टिलेटरको मूल्य १५ लाख र ६ लाख रुपैयाँ पर्ने भेन्टिलेटरको मूल्य २५ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार ३८ करोड, १८ करोड र ११ करोड गरी ३ पटक बोलपत्र आह्वान गरिएको छ । मेडिको, होस्पिटेक, मेडी सोलुसन गरी ८ कम्पनीले तीनवटै बोलपत्रमा प्रस्ताव दर्ता गराएका छन् । तीनवटै बोलपत्रमध्ये काठमाडौँको होस्पिटेड ईन्टरप्राईजेजले ठूलो हिस्सा पाउने लगभग निश्चित भइसकेको स्रोतको दावी छ । होस्पिटेड ईन्टरप्राईजेजका संचालक विशाल पण्डितले सेटिङ मिलाएर सो ठेक्का हात पारेको बताइएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार ठेक्काको विषय टुङ्ग्याउन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहका छोरा सुमित साहले ठूलै दौडधूप गरेका थिए । मन्त्रीपूत्र सुमित र सो कम्पनीका कर्मचारीहरुबीच चारपटक जनकपुरको एक होटेलमा भेटघाट समेत भएको स्रोतको दावी छ । ‘कमिशनमा कुरो मिलेपछि मात्रै सो कम्पनीलाई बोलपत्रको ठूलो हिस्सा जिम्मा लगाउन लागिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

४ लाख रुपैयाँ मूल्यमा पाइने भेन्टिलेटर प्रदेश सरकारले १५ लाख रुपैयाँमा खरिद गर्ने तयारी गरेको छ । प्रति भेन्टिलेटर ४ लाख रुपैयाँमा खरिद गर्दा ३० वटा भेन्टिलेटरको मूल्य १ करोड २० लाख रुपैयाँ पर्छ । जबकि १५ लाख रुपैयाँको दरले ३० वटा भेन्टिलेटर खरिद गरेमा यसको मूल्य ४ करोड ५० लाख रुपैयाँ पर्छ । यसरी भेन्टिलेटर खरिदमा मात्रै ३ करोड ३० लाख रुपैयाँ भ्रष्टाचार गर्ने सेटिङ अनुसार मन्त्रीपुत्र सुमितले ठेक्काको निर्णय गराएको स्रोत बताउँछ ।
आइसीयु निर्माणका लागि अन्य उपकरणहरु समेत खरिद गर्ने तयारी भइरहेको छ । जसका लागि ४० करोेड रुपैयाँ बराबरको बोेलपत्र आह्वान हुने मन्त्रालयले जनाएको छ ।

यसका लागि समाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा सुमित साह, मन्त्रालयका सचिव रामप्रसाद घिमिरे लगायतका अधिकारीहरुको सक्रियता बढेको स्रोतको भनाइ छ ।

समाजिक विकास मन्त्री नवलकिशोर साहले आफूलाई यस विषयमा कुनै किसिमको जानकारी नरहेको बताए । उनले भने, ‘सबै उपकरण खरिद गर्ने कार्य आपूर्ति महाशाखाले गर्ने हो, यदि अनियमितता हुँदैछ भने तपाईहरु भ्रष्टाचार हुँदैछ भन्ने समाचार लेख्नुस्, यस विषयमा छानविन हुन्छ ।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रमोद यादवले प्रक्रिया पु¥याएर टेण्डर आह्वान गरिएको र सोही अनुसार काम कारवाही हुने जनाए ।

उनले भने, ‘अहिलेसम्म कुनै किसिमको अनियमितता भएको छैन । सबै प्रक्रिया पारदर्शीरुपमा भएकोले कुनै किसिमको भ्रष्टाचार र अनियमितता भएको छैन ।’
उनले सम्पूर्ण सामानको खरिद प्रकृया संघीय सरकारको प्रचलित कानून तथा नियमानुसार नै भएको समेत दावी गरे ।

यसअघि पनि प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रले कोरोना संक्रमणको नाममा खरिद गरेको स्वास्थ्य सामग्रीमा करोडौँको भ्रष्टाचार भएको सामाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो ।

सामाजिक विकास मन्त्री नवलकिशोर साह रहे पनि उनका छोरा सुमित साहले नै मन्त्रालय सम्हाल्ने र ठेक्कापट्टाको सेटिङदेखि हरेक योजनाहरुमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरेको मन्त्रालयकै एक अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप